विप्लव र एमालेका विद्यार्थीहरुद्धारा मूल्यबृद्धिको विरोधमा आयल निगम अगाडि प्रदर्शन

मूल्य घटाउन माग

काठमाडौं,पुस ४ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धिको विरोधमा बबरमहलस्थित नेपाल आयल निगम अगाडि प्रदर्शन भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल र विप्लव नेतृत्वको नेकपा माओवादीको भातृ संगठन अखिल क्रान्तिकारीले मूल्यबृद्धिको विरोधमा प्रदर्शन गरेका हुन ।

युवासंघले निगमको हाताभित्रै प्रवेश गरेर आयल निगमविरुद्ध नाराबाजी गर्दै ज्ञापनपत्र बुझाएको थियो भने क्रान्तिकारीले गेटबाहिरै प्रदर्शन गरेको थियो ।

क्रान्तिकारीका अध्यक्ष शरद रसाइलीको नेतृत्वमा बबरमहल पुगेको टोली निगम हाताभित्र प्रवेश गर्न खोजेपनि सुरक्षाकर्मीले रोकेको थियो । उनीहरुलाई ज्ञापनपत्र बुझाउने भए जान दिइने भनिएपछि मात्रै विरोध गर्न मात्रै पुगेको बुझिएपछि सुरक्षाकर्मीले भित्र प्रवेश गर्नबाट रोकेको हो ।

युवा संघको अध्यक्ष राजीव पहारी नेतृत्वले भने भित्रै नाराबाजी गर्दै आयल निगमका कार्यकारी निर्देशकलाई मूल्यबृद्धि फिर्ता लिनको मागसहितको ज्ञापन पत्र बुझाएका थिए ।

ज्ञापनपत्र बुझाएपछि पहारीले मूल्यबृद्धि गरेर सरकारले सर्वसाधारणलाई मर्कामा पारेकाले आफूहरु विरोधमा उत्रिएको बताए ।
निगमले आइतबार मध्यरातीदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टितेलमा समान साढे ४ रुपैयाँ मूल्यबृद्धि गर्ने निर्णय गरेको थियो