मधेसमा गोली चलाएर आन्दोलन रोक्न खोज्ने प्रहरी एमाले आन्दोलनमा के गर्दैछ ?

काठमाडौं,मंसिर २९ । संविधानसभाबाट संविधान जारी भए लगत्तै मधेसमा आन्दोलन चर्कियो,त्यतिबेला मधेश आन्दोलनलाई रोक्न प्रहरीले गोलि सम्प चलायो । मधेस आन्दोलनकै कारण भारतले समेत पाँच महिना नाकाबन्दी लगायो र जनताहरुले अत्यावस्यक बस्तुको अभावमा अत्यन्त कष्टकर जीवन गुजारा गर्नुपर्यो त्यो। मधेस आन्दोलनका क्रममा झण्डै ५५ जनाले समेत ज्यान गुमाए ।

मधेसमा चर्किएको आन्दोलनलाई प्रहरीले दमन गरी आन्दोलनकारीलाई सीमा पारि पुर्याएको मधेसी नेताहरुले आरोप लगाएका थिए । जतिबेला काठमाडौंमा फरक किसिमको आन्दोलन थियो, हिन्दु राज्यको माग गरिएको थियो । काठमाडौंमा पानी हान्ने प्रहरीले मधेसमा आन्दोलनकारी ताकेरै गोली हान्यो भन्दै मधेसी दलहरुले सरकारसँग आक्रोश ब्यक्त गरेका थिए ।

यतिबेला संविधान संशोधन विधेयक ब्यवस्थापिका संसदमा दर्ता भएको छ, प्रदेश नम्बर ५ मा त्यसको चर्को विरोध भइरहेको छ । आन्दोलनकारीले सेल्फि हानेका फोटाहरु बारे सामाजिक संजालमा त्यसको आलोचना समेत भयो । ठाउँठाउँमा सडकमा टायर बालेर यातायात अबद्ध पार्ने कामहरु भएपनि प्रहरी प्रशासन भने मुकदर्शक जस्तो मात्र देखिएको जनताबाट सामाजिक संजालमा प्रतिकृया आइरहेका छन ।

विरोधका नाममा सडकमा उत्रिएका युवाहरुले केहि दिन अघि बुटवलमा सवारीका साधनहरुमा आगजनी र तोडफोड गरेको भएपनि प्रहरीले ती घटनामा अहिलेसम्म कसैलाई नियन्त्रणमा लिएको छैन । प्रहरीको अगाडि नै सडकमा आगो बाल्ने,सडक अबरुद्ध पार्ने र बजार बन्द गर्ने लगायतका क्रियाकलाप हुँदा पनि प्रहरी किन मौन छ भन्ने प्रश्न यतिबेला जनस्तरबाट उठिरहेको छ । प्रहरीको असक्षमताका कारण प्रहरी पछाडि हटेको हो वा आन्दोलनमा प्रहरीको पनि मौन समर्थन, प्रश्न उठेको छ ।

देशमा शान्ति सुरक्षाको जिम्मा लिएको नेपाल प्रहरीको सुरक्षा घेरा भित्रै पटक पटक काठमाडौंको वानेश्वर चोकमै प्रदर्शनकारीले दिउँसै टायर बालेर बिरोध गरे । त्यहाँको यातायात सेवा समेत प्रभावित हुन पुग्यो तर प्रहरी आन्दोलनकारीका गतिबिधि हेरेर बसेको प्रत्यक्षदर्शीले बताएका छन ।

रूपन्देहीको बुटवलमा प्रदर्शनकारीहरूले सडकमा टायर बालेर प्रदर्शन गर्दै
प्रहरीको यो कस्तो सुुरक्षा हो, आँखै अगाडि सडकमा आगो बाल्दा पनि कुनै सक्रियता नदेखिनुले प्रहरीको कर्तव्यमै आशंका उत्पन्न भएको बुद्धिजीवीहरुको ठम्याइ छ । सरकारले संशोधन प्रस्ताव दर्ता गरेकै साँझबाटै बुटवल, प्यूठान, अर्घाखाँची, पाल्पा लगायतका जिल्लाहरुमा पाँच नम्बर प्रदेश टुक्राउने गरी ल्याएको संशोधन प्रस्तावको विरोध गरिएको थियो ।

विरोधमा मुख्य गरी अनेरास्ववियु, नेविसंघ, अखिल छैठौं लगायतका संगठन तथा उद्योग वाणिज्य संघ लगायत दजनौं संघ संगठनहरुको सक्रियता देखिएको छ । एमालेकै अगुवाइमा ५ नम्बर प्रदेश बचाउ अभियान समेत बनाइएको छ । पहिलो दिनको आन्दोलन भन्दा दोस्रो दिन झनै बढी आन्दोलन उग्र बनेको छ । आन्दोलनकारीहरुले सडकमा टायर बाल्ने मात्र होइन, गाडी जलाउने, पसल तोडफोडसमेत गर्न थालेका छन् । तर प्रहरीले अहिलेसम्म आन्दोलनमा कसैलाई नियन्त्रणमा लिएको छैन ।

यसअघि विप्लव माओवादीले होस वा अन्य कुनै मोर्चा र राजनीतिक संगठनहरुले बन्द, हडताल जस्ता बिरोधका कार्यक्रमहरु गर्न खोज्दा रातारात शान्ति अवस्था खलबलिन सक्ने भन्दै पक्राउ गर्ने प्रहरीले यतिबेला भने आफ्नो मौनता प्रदर्शन गरिरहेको छ । प्रहरीको मौनताले राज्यको सुरक्षा व्यावस्था र प्रहरीको कर्तब्यमाथि नै प्रश्न चिन्न खडा गरेको देखिन्छ ।

प्रहरी नायव उपमहानिक्षक हेमन्त मल्ल ठकुरीले हामीसँगको कुराकानीमा भने–‘हामी मुकदर्शक भएका होइनौं, आन्दोलनको अवस्थाको अध्ययन गरिरहेका छौं । कसैलाई नियन्त्रणमा लिनै पर्ने खालका कुनै घटना भएका छैनन ।’
प्रहरी प्रवक्तासमेत रहेका ठकुरीले भने–‘अहिलेको आन्दोलनकारीको राजनीतिक माग हो । उनीहरुको आन्दोलनले असहजताको अवस्था सिर्जना भएको छैन । हामीले नियन्त्रणमा लिएपछि आन्दोलनको स्थितीमा आउन सक्ने प्रभावको अनुमान गरेर प्रहरीले आफ्नो कर्तव्य पूरा गरिरहेको छ ।’

प्रहरी प्रवक्ता मल्लका अनुसार प्रहरीले आन्दोलनकारीलाई नियन्त्रणमा लिँदा आउने खतरा समेतको आधारमा प्रहरीले संयमित रुपमा आफ्नो कर्तव्य पूरा गरिरहेको छ । उनले प्रहरी जनताको शान्तिसेवामा लागेको छ, हामीलाई कुनै राजनीतिक पार्टीको प्रभावमा परेर काम गरेको सोच्ने कुरा अत्यन्त गलत हो । प्रहरी शान्ति सुरक्षाको अवस्थाको अध्ययन गरेर परिस्थिति अनुसार आफ्नो सक्रियता देखाउँछ ।