प्रतिपक्ष दलका विधार्थीले संशोधन प्रस्ताव फिर्तालिन भन्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाए

विकल्प खोज्न सुझाव

काडमाडौं, पुस ४ । प्रतिपक्ष दल निकटका विद्यार्थीहरुले संविधान संशोधन प्रस्ताव राष्ट्रको हितमा नरहेको भन्दै त्यसलाई फिर्ता लिन प्रधानमन्त्रीलाई सोमबार ध्यानअकर्षण गराएको छ ।

संशोधनको विपक्षमा रहेका संयुक्त विधार्थी मोर्चाको अगुवाईमा सिंहदरबारस्थित प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार मार्फत प्रधानमन्त्री दाहाललाई आज ध्यानाकर्षणपत्र बुझाइएको हो ।

देशभरबाट विद्यार्थीले प्रधानमन्त्रीलाई सो प्रस्ताव फिर्ता लिन लेखेका पत्रमध्ये केही पत्र समेत हस्तान्तरण गरिएको छ ।

अनेरास्ववियुकी अध्यक्ष नवीना लामाले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावप्रति प्रतिपक्ष दल तथा मधेसी मोर्चा असहमत रहेकाले त्यसलाई अविलम्ब फिर्ता गरी दलहरुको सहमतिबाट विकल्प खोज्नुपर्ने सुझाव दिएकी थिइन ।

नेपाल मजदुर किसान पार्टी निकट विद्यार्थी सङ्गठनका अध्यक्ष नीरज लवजूले मुलुकमा अङ्गीकृत नागरिकलाई देशको नेतृत्व दिने तथा हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउने विषय राष्ट्रियता विरोधी रहेकाले त्यसलाई अविलम्ब फिर्ता लिन माग गरे ।

नेकपा ९एमाले, नेकपा माले, राष्ट्रिय जनमोर्चा नेपाल, नेमकिपा निकट विद्यार्थी सङ्गठनलगायतले संविधान संशोधन प्रस्तावको प्रक्रियामा असहमत भई विभिन्न चरणका आन्दोलन गर्दै आएका छन ।

पत्र बुझेपछि प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार खनालले विद्यार्थीको माग प्रधानमन्त्रीलाई अवगत गराउने प्रतिबद्धता व्यक्त गरे ।

उनले जनताको लामो सङ्घर्षपछि प्राप्त भएको संविधानलाई कार्यान्वयन गर्न महत्वपूर्ण भएको बताउँदै त्यसका लागि संविधान संशोधन गर्नुपरेको यथार्थतालाई बुझ्न आग्रह गरे ।