माओवादी केन्द्रमा वृहत ध्रुविकरणः शिबसुन्दर शाही विमर्श नेतृत्वका दजनौं नेता, कार्यकर्ताहरुलाई अभिनन्दन (सम्बोधनको पूर्णपाठसहित)

‘विप्लवसँग किरातीको पार्टी एकता घोषणा वैज्ञानिक असत्य’

काठमाडौं । क्रान्तिकारीहरु टुटफुट र विभाजन मात्र हुँदैनन्, विचार सिद्धान्त मिल्नेहरुबिच बलियो एकता र क्रान्तिकारी योजनामा प्रतिबद्ध समेत हुन्छन भन्ने कुरा पछिल्लो समय नेकपा (माओवादी केन्द्र) को राजनीतिक वैचारिक अवस्थाले प्रष्ट पारेको छ ।

माओवादी केन्द्रका पूर्व अध्यक्ष गोपाल किरातीमा देखिएको वैचारिक विचनताका कारण आएको फुट र क्षतिलाई पछिल्लो अवस्थामा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा भैरहेको वृहत ध्रुविकरणको प्रकृयाले एकता र पार्टी सुढृण बन्दै गएको संन्देश दिएको हो ।

बाहिर छरिएर रहेका क्रान्तिकारी शक्तिहरुको पछिल्लो समय माओवादी केन्द्रमा ध्रुविकरणको प्रकृया बढ्दै गएको छ । त्यस्तै विभिन्न २२ दलबिच बलियो कार्यगत एकता र पार्टी एकताको विषयमा आन्तरिक रुपमा वैचारिक सैद्धान्तिक छलफलहरु चलिरहेका छन ।

माओवादी केन्द्रका पुर्व अध्यक्ष किरातीले आध्यात्मवादको कभर लिएर बुद्ध दर्शन (विपश्यना) लाई माक्र्सवादको चौथो संघठक अंग बनाउनेबारे धारणा सार्वजनिक गरेपछि पार्टी भित्रका इमान्दार, लामो समय वर्गसंघर्षको प्रकृयाबाट आएका नेता, कार्यकर्ताहरुले विचार राजनीतिको पक्षमा उभिएर क्रान्तिकारी लाईनलाई एकताबद्ध गरे ।

माओवादी केन्द्रभित्र विचार राजनीतिप्रति प्रतिबद्ध माओवादीहरुले यहि मंसिर ८,९ र १० गते काठमडौंमा केन्द्रीय समिति बैठक तथा विशेष राष्ट्रिय भेला सम्पन्न गर्दै शहीद परिवारका सदस्य समेत रहेका पुर्व संसद कर्णजीत बुढाथोकी शुशिलको अध्यक्षतामा ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरिसकेका छन ।

त्यस्तै कम्युनिष्ट कभरमा आध्यात्मवादी वहस गर्दै ध्यान, योग र साधननको दिशामा पार्टी आन्दोलनलाई पतन गराउने लाईनमा पूर्व अध्यक्ष किरातीको समूह जुटिरहेको अवस्था देखिन्छ । त्यसपछि निर्माण भएको माओवादी केन्द्रमा पछिल्लो चरण वृहत क्रान्तिकारी ध्रुविकरण भैरहेको बताइएको छ ।

हिजो काठमाडौं अनामनगरस्थित संवाद डबलीमा पार्टीले लिएका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनबिच माओवादी केन्द्रले किराती समूहमा देखिएको वैचारिक पतन र विभाजनपछि पार्टीमा वृहत क्रान्तिकारी ध्रुविकरणको प्रकृयाको शुरुवात भएको जनाइएको थियो ।

उक्त सम्मेलनबिच माओवादी केन्द्रमा पुराना इमान्दार, विचार राजनीतिमा प्रतिवद्ध, कम्युनिष्ट नेता, कार्यकर्ताहरु, जनयुद्ध र वर्गसंघर्षको प्रकृयामा लामो समय योगदान गरेका नेता, कार्यकर्ताहरुको केन्द्रीकरण हुँदैछ भन्ने विषय सांकेतिक रुपमा प्रष्ट पारिएको थियो ।

माओवादी केन्द्रका अध्यक्ष कर्णजीत बुढाथोकी शुशिलले उक्त सम्मेलनबीच देशभर क्रान्तिकारी ध्रुविकरणको प्रकृया थालेको उद्घोष गरे । उनले देशव्यापी रुपमा पार्टी संगठन निर्माण तथा सुढृणीकरणको कार्य गर्ने बताएका छन ।

त्यहि क्रान्तिकारी ध्रुविकरणको प्रकृयामा वि.स. २०४६ सालमा तत्कालिन मसालबाट कम्युनिष्ट राजनीतिमा प्रवेश गरेका बामपन्थी अगुवा, क्रान्तिकारी विचारक शिवसुन्दर शाही विमर्श को नेतृत्वमा देशभरबाट विभिन्न पार्टीमा छरिएर रहेका दर्जनौ नेता, कार्यकर्ताहरु माओवादी केन्द्रको विचार राजनीति, कार्यदिशाप्रति सहमत हुँदै एकतावद्ध भएका छन ।

ध्रुविकरण तथा एकताको प्रकृयामा आएका शाही तत्कालिन नेकपा (माओवादी) ले शुरु गरेको महान जनयुद्धको प्रकृयामा शुरुदेखिनै योगदान गर्ने, सुदूरपश्चिम क्षेत्रका अगुवा तथा अछामका संस्थापक माओवादी नेता हुन ।

उनी पछिल्लो चरण एकिकृत माओवादीको चरम संसदवादी लाईनका विरुद्ध क्रान्तिकारी एकताको लाईनमा तयार भएको मोहनबैद्य किरणले नेतृत्व गरेको नेकपा–माओवादी हुँदै नेकपा (क्रान्तिकारी माओवादी) को केन्द्रीय समितिमा रहेर काम गरेका नेता हुन ।

उनी क्रान्तिकारी माओवादीमा रहदा सुदूरपश्चिमका अछाम, बैतडी, दार्चुला, डडेलधुरा लगाएतको विभिन्न जिल्लाहरुको नेतृत्व गरेका थिए । पार्टीको बौद्ध भेला, पोखरा सम्मेलन स्प्रिट र आन्तरिक तयारीको योजनामा पार्टीले आवश्यक कदम नचालेका कारण पछिल्लो समय असन्तुष्ट रहदैं क्रान्तिकारी विचारको पक्षमा उभिदैं आएका थिए ।

जनयुद्धको लामो प्रकृयामा अनुभव र विचारका हिसावले स्तर राख्ने, पश्चिम नेपालका जुझारु कम्युनिष्ट योद्धा शाहीको समूहलाई पार्टीमा स्वागत गर्न पाउँदा आफुहरु अत्यन्त खुशी भएको र वैचारिक विभाजनले भएको संगठनात्मक क्षतिलाई पूर्ति गरेको माओवादी केन्द्रका नेताहरु बताउँछन ।

बामपन्थी अगुवा शाहीको नेतृत्वमा देशभरबाट दर्जनौ कम्युनिष्ट नेता, कार्यकर्ताहरु माओवादी केन्द्रमा जुटको बताइएको छ । उक्त वृहत ध्रुविकरणको प्रकृया देशव्यापी चलाइने र स्थानीय नेताहरुलाई जिल्ला, प्रदेश पार्टीको आयोजनामा खुला कार्यक्रम सहित स्वागत गर्ने तयारी भैरहेको बताइन्छ ।

पछिल्लो समय किरातीको वैचारिक पतनपछि माओवादी केन्द्रले गरेको क्रान्तिकारी प्रतिवद्धता-एकताबाट सहमत हुँदै देशभरबाट नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (विप्लव), सरकारी नेकपा लगाएतका पार्टीबाट दर्जनौ नेता, कार्यकर्ताहरु माओवादी केनद्रमा आउने बारे छलफलहरु चलिरहेको बुझिएको छ ।

क्रान्तिकारी ध्रुविकरणको प्रकृयामा जुटेपछि पत्रकार सम्मेलनमा बोल्दै बामपन्थी अगुवा शाहीले माओवादी केन्द्रमा देखिएको विचारको प्रतिवद्धतालाई सहर्स स्विकार गरेर आफ्नो समूह जनन्यायीक व्यवस्था प्राप्तीको लागि जुटेको बताए ।

उनले भने–‘नेपाली कम्युनिष्ट आन्दोलन बिक्षिप्त अवस्थामा पुगेको वर्तमान अवस्था र नेपालका कम्युनिष्ट नामधारीहरुले कम्युनिष्टको नाम बेचेर ठूला ठूला जघन्य अपराधहरु गरिरहेको अवस्थामा नेकपा (माओवादी केन्द्र) ले क्रान्तिकारी विचार जोगाउन जुन प्रकारको आँट गर्यो र वर्गसमन्वयनवादको विरुद्धमा जो उद्घोष गरेको छ, यसलाई हामी स्वागत गर्दै पार्टीमा जोडिन आएका छौं ।’

किरातीले माक्र्सवादको चौथो संघठक अंग बुद दर्शन (विपश्यना) को कुरा गर्नु अवैज्ञानिक हुने उनको तर्क छ । उनले त्यसको जवाफमा भने–‘उहाँ आफ्नो स्कुल अनुसारको अध्ययनका आधारमा जसरी आउँनुभयो त्यसले उहाँलाई माओवादी होइनन् भन्ने जवाफ दिएको छ । उहाँले त्याग गर, तपस्या गर र समाजवाद आउँछ भन्नुहोला तर हामीले अन्याय, अत्याचार विरुद्ध बल प्रयोग गर, विद्रोह गर भन्छौ ।’

उनले अगाडी भने–‘जहाँसम्म विप्लवसँग किरातीको पार्टी एकताको एकतर्फि प्रस्तावको कुरा छ, त्यो अमिल्दो र नियम विरुद्धको कुरा हो । कालो र रातो मिलेर फेरी रातो कसरी बन्छ ? बन्दैन । तसर्थ उहाँ आध्यात्मवादमा पतन भएको समुह चलाउने, उता विप्लव क्रान्तिकारी धारको नेतृत्व गर्ने ! अब यो कसरी हुन्छ ? तसर्थ किरातीको घोषणा अनावश्यक हो, यो वैज्ञानीक असत्य कुरा हो, यसलाई ठिक रुपमा बुझ्नु आवश्यक छ ।’

उनले अगाडी भनेका छन–‘उहाँको विचार र दर्शनले क्रान्तिकरीहरुसँग मिल्न सक्दैन बरु उहाँहरुको एकता यो देशका प्रतिक्रियावादी, संशोधनवादी र जनविरोधीहरुसँग हुने सम्भावना म देख्छु । हामी निरन्तर वर्गसंघर्षको प्रकृयामा जुट्ने क्रान्तिकारी शक्तिहरुबिचको वैचारिक, सैद्धान्तीक एकताको पक्षमा छौं ।’

उनले माओवादी केन्दमा जोडिनुको उद्देश्यलाई प्रकाश पार्दै भने–‘हाम्रो उद्देश्य भनेको पार्लियामेन्ट्री डेमोक्रेसि होइन, पब्लिक डेमोक्रेसि हो । यसमा हामी प्रतिबद्ध भएर लाग्नु आवश्यक छ । मिनेट मिनेट मृत्युवरण गरेका मानिसहरु हौं हामी, तसर्थ जनन्यायीक व्यवस्थाका लागि फेरी अन्तिम लडाई गर्न सक्नुपर्छ र हाम्रो अध्यक्षले वर्गसंघर्षको लागि कासन गर्नुपर्छ, त्यो विश्वास गरेका छौं ।’

बाँकी नेता शिवसुन्दर शाही विमर्शको प्रतिवद्धता सम्बोधनको पूर्णपाठ यस्तो छ…

पार्टीका अध्यक्ष, नेता साथीहरु र सहभागि सम्पूर्ण पत्रकार मित्रहरु…
नेपाली कम्युनिष्ट आन्दोलन बिक्षिप्त अवस्थामा पुगेको वर्तमान अवस्था र नेपालका कम्युनिष्ट नामधारीहरुले कम्युनिष्टको नाम बेचेर ठूला ठूला जघन्य अपराधहरु गरिरहेको अवस्थामा नेकपा (माओवादी केन्द्र) ले क्रान्तिकारी विचार जोगाउन जुन प्रकारको आँट गर्यो र वर्गसमन्वयनवादको विरुद्धमा जो उद्घोष गरेको छ, यसलाई हामी स्वागत गर्दै पार्टीमा जोडिन आएका छौं ।

कम्युनिष्ट पार्टी र जनगणतन्त्रको मुद्धा नयाँ जनवादी राजनीति, नयाँ जनवादी राज्यव्यवस्था, अर्थव्यवस्था र नयाँ जनवादी संस्कृति मिलेर बनेको हुन्छ । हामी प्रचण्ड बाबुरामहरुसँग छुट्टियौं, त्यो छुट्टिनु भनेको सैद्धान्तिक वैचारिक रुपमा चिप्लिनुको कारण थियो, त्यतिबेला हामी छुट्टिदा हाम्रो बौद्ध भेलाको स्प्रिट के थियो ? तत्कालिन नेकपा–माओवादी हुदा पोखरा सम्मेलनको स्प्रिट के थियो ? र क्रान्तिकारी माओवादी सम्म पुग्दा के भयो त भन्दा त्यो स्प्रिटलाई कमरेडहरुले छाड्नुभयो । म कमरेड मोहनबैद्य किरणलाई सम्मान गर्छु, उहाँ एउटा इमान्दार क्रान्तिकारी नेता हुनुहुन्छ तर उहाँको वरिपरी राम्रो सञ्जाल भएन, राम्रो टिम भएन भन्ने हो ।

म अहिले पनि बैद्यलाई इमानदार कमरेड बन्नुस भन्न चाहन्छु । उहाँहरुले क्रान्तिकारी शब्दजाल प्रयोग गरेपनि क्रान्तिकारी गति भने समेतेको देखिन्न । त्यस्तै विप्लव नेकपामा भने आधारभूत वर्गहितको पक्षमा केही गर्ने कोसिस भएको देखिन्छ । उहाँको स्प्रिडलाई म सम्मान गर्छु । वर्गहितमा बल प्रयोगको सिद्धान्त हुन्छ, हामीले वर्गसंघर्षको राम्रो तयारी गर्ने विषयमा तमाम छलफलहरु गरेका छौं, त्यो दिशामा हामी अगाडि बढ्ने तयारी सहित एकताको प्रकृया जुटेका हौं । कमरेड कर्णजीत बुढाथोकीको नेतृत्वमा रहेको यो पार्टीमा क्रान्तिकारी आन्दोलनबाट जन्मिएका नेताहरुको ठूलो टिम छ, यहाँ क्रान्तिकारी विचारले लिड गरिरहेको छ, यसमा समर्थन गर्दै हामी थप तयारी सहित जुटेका छौं ।

पत्रकार मित्रहरु…
गोपाल किरातीमा पछिल्लो समय गम्भिर वैचारिक विचलनताको अवस्था देखियो । उहाँले प्रचण्ड समुहको गद्दारीबाट पार्टीलाई जोगाउन जो भुमिका खेल्नुभयो त्यो ठिक थियो तर उहाँ निरन्तर क्रान्तिकारी विचारबाट चल्नुहुन्छ वा हुन्न भन्ने हामीमा तमाम आशंकाहरु थिए, त्यो आजसम्म आउँदा प्रमाणित पनि भयो । उहाँमा समस्या आउनुको मुल कारण उहाँ वर्गसंर्घको स्कुलबाट आउँनुभएको होइन, उहाँले माक्र्सवादी स्कुलिङ लिनुभएको थिएन, उहाँले अर्कै स्कुल पढेको कारणले जनताका आधारभूत समस्या, क्रान्तिका आधारभूत सिद्धान्त, मालेमावादका सार्वभौम सिद्धान्तहरुलाई उहाँले अङ्गिकार गर्न कसरी सक्नुहुन्छ ? त्यसैले उहाँ विचलनतातिर जानुभयो ।

माक्र्सवादको चौथो संघठक अंग बुद दर्शन (विपश्यना) हुन्छ भनेर उहाँ आफ्नो स्कुल अनुसारको अध्ययनका आधारमा जसरी आउँनुभयो त्यसले उहाँलाई माओवादी होइनन् भन्ने जवाफ दिएको छ । उहाँले त्याग गर, तपस्या गर र समाजवाद आउँछ भन्नुहोला तर हामीले अन्याय, अत्याचार विरुद्ध बल प्रयोग गर, विद्रोह गर भन्छौ, उहाँ क्रान्तिकारी लाइन बोकेका मानिसहरुसँग यसले सँगै बस्न सक्ने अवस्था भएन, त्यो ठिक भयो ।

जहाँसम्म विप्लवसँग किरातीको पार्टी एकताको एकलौटी प्रस्तावको कुरा छ, त्यो अमिल्दो र नियम विरुद्धको कुरा हो । कालो र रातो मिलेर फेरी कालो कसरी बन्छ ? बन्दैन । तसर्थ उहाँ आध्यात्मवादमा पतन भएको समुह चलाउने उता विप्लव क्रान्तिकारी धारको नेतृत्व गर्ने, अब यो कसरी हुन्छ । तसर्थ किरातीको घोषणा अनावश्यक हो, यो वैज्ञानीक र असत्य कुरा हो, यसलाई ठिक रुपमा बुझ्नु आवश्यक छ । उहाँको विचार र दर्शनले क्रान्तिकरीहरुसँग मिल्न सक्दैन बरु उहाँहरुको एकता यो देशका प्रतिक्रियावादी, संशोधनवादी र जनविरोधीहरुसँग हुने सम्भावना म देख्छु । हामी निरन्तर वर्गसंघर्षको प्रकृयामा जुट्ने क्रान्तिकारी शक्तिहरुबिचको वैचारिक, सैद्धान्तीक एकताको पक्षमा छौं ।

म अन्त्यमा हाम्रो पार्टीको अध्यक्ष र पार्टीका नेता साथीहरुसँग के आग्रह गर्न चाहन्छु भने–‘हाम्रो उद्देश्य भनेको पार्लियामेन्ट्री डेमोक्रेसि होइन, पब्लिक डेमोक्रेसि हो । यसमा हामी प्रतिबद्ध भएर लाग्नु आवश्यक छ । मिनेट मिनेट मृत्युवरण गरेका मानिसहरु हौं हामी, तसर्थ जनन्यायीक व्यवस्थाका लागि फेरी अन्तिम लडाई गर्न सक्नुपर्छ र हाम्रो अध्यक्षले वर्गसंघर्षको लागि कासन गर्नुपर्छ ।’

वर्गसंघर्षको प्रकृयाबाट मात्र जनताको जनन्यायीक राज्यसत्ताँ प्राप्त गर्न सकिन्छ, त्यसका लागि छरिएर रहेका सबै क्रान्तिकारी शक्तिहरु गोबबद्ध हुन अनिवार्य छ । म यतिबेला कमरेड प्रचण्डलाई पनि सुध्रिएर माओवादी आन्दोलनमा फर्कन आह्वान गर्न चाहन्छु । बुर्जुवा संसदवादको के हो भन्ने कुरा प्रचण्डलाई अब महसुस भैसकेको हुनुपर्छ, भुईंको टिप्न खोज्दा खल्तिको खसेको थाहा पाउँनुपर्छ ।

कमरेड प्रचण्ड पनि फेरी सच्चिएर आएभने हामीले क्रान्तिको मिसाल बोकेर जनवादी राज्यसत्ताँको तयारीमा जुट्न सकिन्छ भन्ने सोच्दछौं । हामी अहिले पनि जनताको राज्यसत्ताँको लागि नै संघर्ष गरिरहेका छौं र यो अभियानमा सबै क्रान्तिकारी शक्तिहरु जुट्नुको विकल्प छैन ।