उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठपर्वको समापन

ग्रामिण भेगका श्रद्धालुहरुले स्वास्थ्य मापदण्ड पुरानगरी मनाए छठ

बाँके । उदाउँदो सूर्यलाई अर्घ्य दिएर शनिवार छठपर्व समापन गरिएको छ ।

शनिवार बिहान देशभर विभिन्न पोखरी, नदी, इनारलगायतको पानीको स्रोत भएको ठाउँबाट व्रतालुले सूर्यलाई भक्तजनहरुले अर्घ्य दिएका हुन ।

माटोको घैला, दियो, ढकनी, सर्वी, हात्ती, पानालगायतका सामग्रीसहित बाँसको कोनिया, ढक्की, नाङ्लोमा केरा, ठकुवा, भुसवा, खजुरीलगायतका परिकार राखेर जलाशयमा शरीर डुबाउँदै उदाउँदो सूर्यलाई अर्घ्य दिए पश्चात पर्वको समापन गर्ने गरिन्छ ।

यस बर्ष छठपर्वमा कोरोनाको महामारीका कारण कतिपयले भक्तहरुले भने यसपालि घरको आँगन र छतमा नै कृत्रिम जलाशय बनाएर सूर्यको पूजा आराधना गरेका छन् भने कतिपय ठाउँमा भने जलाशयमा नै पुगेर सामूहिक रुपमा नै छठ पर्व मनाएका
छन् ।

शुक्रवार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि राति जलाशय, नदी, तलाउ–किनारमा अर्घ्य दिइएका सामग्रीहरू कतिपयले घरमै ल्याएर फेरि शनिवार बिहान झिसमिसमै घाटमा पुर्याउने गर्छन् भने कतिपयले त्यहीँ राखेर रातभर नाचगान र रमाइलो गर्ने
गर्छन् ।

शनिवार कात्तिक शुक्ल सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पूजा समापन हुने धार्मिक मान्यता रही आएको छ ।

कात्तिक शुक्ल षष्ठीको बेलुका अस्ताउँदो र सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ्यसहित गरिने छठ पूजाले निरोगी हुने, छालाजन्य रोगव्याधि नलाग्ने धार्मिक मान्यता रहेको छ ।

चार दिनसम्म मनाइने लोकपर्व छठ यसपालि पोहोर परारको भन्दा फरक देखियो । कोरोना महामारीका कारण यसपालि पोहोर परारको जस्तो रौनक नभए पनि व्रतालुले विधि पूर्वक पूजा आराधना गरेका छन् ।

सहरी क्षेत्रमा सामूहिक रुपमा छठ मनाउनेहरुले केही स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरे पनि ग्रामिण क्षेत्रमा भने यस कुराको पालना भएको छैन ।

तराईका केही नदी, पोखरी, तलाउमा भने सामान्य अवस्थामा झैँ भीडभाड भएपछि प्रहरी परिचालन गरिएको थियो । कोरोनाको जोखिमका कारण यसपालि सरकारले भीडभाड नगरि पर्व मनाउन सर्व साधारणसंग आग्रह गर्दे आएको थियो ।