कोरोना संक्रमित १ महिलाको मृत्यू

४२ जना बिरामीको अवस्था चिन्ताजनक

बाँके । कोरोना संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ की ६८ वर्षीया महिलाको शनिवार दिउँसो ३ बजे मृत्यु भएको हो ।

स्वासप्रस्वासमा समस्या आएपछि उनलाई कार्तिक २८ गते नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

कार्तिक २९ गते कोरोना रिपोर्ट पोजेटिभ आएपछि आफन्तको अनुरोधमा उनलाई मंसीर १ गते भेरी अस्पतालमा भर्ना गरि उपचार शुरु गरिएको उहांको आफन्त जनले बताए ।

रोगको प्रकृतिअनुसार प्लाज्मा थेरापीलगायत सबै उपचार गर्दासमेत स्वास्थ्यमा सुधार नआएपछि उनको शनिवार मृत्यु भएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी जनाए ।

यसैबीच बाँकेका विभिन्न अस्पतालको आइसोलेशनमा उपचाररत रहेका ४२ जनाको अवस्था चिन्तानजक रहेको छ भने ८१ जना कोरोना संक्रमितको फेला परेका छन ।

मृतकमध्ये ४४ जना बाँके भन्दा बाहिरी जिल्लाका र ३७ जना बाँकेका भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन समितिका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जनाए ।

नेपालगञ्ज उपमहानगरपालिकाका ९ महिला र १५ पुरुष गरि २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने त्यसैगरि, कोहलपुरका ७, खजुराका दुई, जानकी, बैजनाथ, राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका एक–एक जनाको मृत्यु भएको फोकल पर्सन श्रेष्ठले जनाए ।

बाहिरी जिल्लाबाट उपचारका लागि आएका मध्ये सवैभन्दा धेरै दाङबाट उपचारकालागि आएकाको मृत्यू भएको श्रेष्ठले बताए ।

फोकल पर्सन श्रेष्ठका अनुसार दाङका तीन महिला र १५ पुरुष गरि १८, बर्दियाका ८, कैलाली र कञ्चनपुरका चार–चार, सुर्खेतका ३, दैलेखका दुई,अर्घाखाँची,पश्चिम रुकुम,अछाम र रोल्पाका एक–एक जना कोरोना संक्रमितको उपचारको क्रममा बाँकेका आइसोलेशनमा मृत्यु हुन गएको बताए ।

बाहिरी जिल्लाबाट उपचार गराउन आएकाको अधिकांश शिक्षण अस्पतालमा मृत्यु भएको बताउदै उनले बाहिरी जिल्लाका भेरी अस्पतालमा १७, शिक्षण अस्पतालमा २६ र वेष्टर्न अस्पतालमा एकको मृत्यु भएको जनाए ।

बाँकेमा एक जनाको क्वारेन्टाइनमा र एक जनाको होम आइसोलेशनमा मृत्यु भएको छ भने, भेरी अस्पताल आइसोलेशनमा उपचाररत १९ र शिक्षण अस्पताल आइसोलेशनमा उपचाररत बाँकेका १६ जनाको मृत्यु भएको छ ।

बाँकेको दुईवटा अस्पतालको कोरोना आइसोलेशनमा रहेका ४२ जना कोरोना संक्रमितको अवस्था चिन्ताजनक रहेको जनाउदै
भेरी अस्पतालको आइसोलेशनमा रहेका ७२ मध्ये ३२ जनाको अवस्था गम्भिर रहेको बताए ।

यस्तै शिक्षण अस्पताल कोहलपुर आइसोलेशनमा २७ पुरुष र १२ महिला ३९ जना भर्ना छन् । ति मध्ये १० जनाको अवस्था गम्भिर र २४ को अवस्था मध्यम रहेको बताए । कोरोना संक्रमण स्वास प्रस्वासमा समस्या देखिएका कोरोना संक्रमितलाई मात्र आइसोलेशनमा राख्ने गरिएको श्रेष्ठले समाचारदातासंगको कुराकानीको क्रममा बताए ।