यस वर्ष मुस्ताङबाट च्याङ्ग्रा नल्याइने

गतभन्दा मूल्यमा बृद्धि

काठमाडौं । कोरोनाको महामारीका कारण नेपालीहरुको महान पर्व दशैंमा च्याङ्ग्राको मूल्य बृद्धिले बिक्री वितरण नहुने भएको छ ।

सरकारी कम्पनी खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष च्याङ्ग्रा बिक्री नगर्ने भएको हो ।

मुस्ताङबाट एक हजार च्याङ्ग्रा ल्याउने तयारी गरेको कम्पनीले गत वर्षको तुलनामा बढी मूल्य पर्ने भएपछि च्याङ्ग्रा नल्याउने निर्णय गरेको हो ।

बजार मूल्यलाई नियन्त्रण गर्न कम्पनीले दशैँमा खसीबोका तथा च्याङ्ग्राको बिक्रीवितरण गर्दै आएको थियो ।

यस वर्ष खसीबोका मात्र बिक्री गरिने कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिए ।

“बजार मूल्य नियन्त्रण गर्ने निकायले नै बढी मूल्यमा बिक्री वितरण गर्नुभन्दा नल्याउनु उचित ठान्यौँ ”, उनले भने ।

कोरोना सङ्क्रमणका कारण यस वर्ष तिब्बतबाट च्याङग्रा मुस्ताङ ल्याउन नसकिएको न्यौपानेको भनाइ छ ।

कम्पनीले दाङ र मकवानपुरबाट खसीबोका ल्याएको छ । दुवै स्थानबाट ल्याइएका खसीबोका सोमबार बिहान ८ बजेदेखि थापाथलीस्थित प्रादेशिक कार्यालय परिसरबाट बिक्री वितरण गरिने कम्पनीले जनाएको छ ।

मूल्य निर्धारण भने गरिएको छैन । सबै खसीबोका ल्याएपछि मूल्य निर्धारण गरिनेछ । गत वर्षको तुलनामा यस वर्ष खसीबोकाको मूल्य बढ्ने कम्पनीले जनाएको छ । रासस