आज नवरात्रको दोश्रो दिनः भगवती ब्रह्मचारिणीको पूजाआरधना गरिदै

भोलि तेश्रो दिन चन्द्रघण्टाको पूजा

काठमाडौं । आज दशैंको दोश्रो दिनः ब्रह्मचारिणीको पूजाअर्चना गर्ने परम्परा रहेको छ । विभिन्न स्थानका देवीमन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रह्मचारिणीको आज विशेष रुपमा पूजा गरिन्छ ।

हिन्दू ग्रन्थहरुमा देवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक गर्नुपर्ने उल्लेख गरिएको छ । त्यसै अनुसार आज ब्रह्मचारिणीदेवीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा पूजाअर्चना गर्ने प्रचलन रहेको पाइन्छ ।

महासरस्वती विद्या तथा बुद्धिको प्रतीकका रुपमा पूजाआजा एवं आराधना गर्ने परम्परा छ।​ ब्रह्मचारिणीदेवीलाई भक्तिको प्रतीक मानिन्छ।

देवीभागवत लगायतका ग्रन्थहरुमा ब्रह्मचारिणीमाता पार्वतीको विवाहपूर्वको अवस्थाको रुपमा चर्चा गरिएको छ ।

दशैंको पहिलो दिन घटस्थापनाबाट नवरात्र शुरु हुन्छ । नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाताको पूजा गरिन्छ ।

त्यस्तै नवरात्रको छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ । 

घटस्थापनाको दशौं दिन विजया दशमी अथार्थ सत्यको जित भएको दिनका रुपमा मनाउने गरिन्छ ।