शुरुभयो नेपालीहरुको महान पर्व बडादशैंः आज घर–घरमा घटस्थापना, दुर्गा भवानीको पूजा–आराधना गरिदैं

सम्बृद्धिको प्रतीकः जमरा बिज राख्ने परम्परा

काठमाडौं । आज नेपालीहरुको महान पर्व बडादसैंको पहिलो दिन, अर्थात घटस्थापना हो । नेपाली हिन्दूनागरिकहरुले यो पर्वलाई बडादसैंको पहिलो दिनका रुपमा महत्वपूर्ण रुपमा मनाउँने गर्दछन ।

हिन्दु परम्परा अनुसार आज नवरात्री आरम्भको पहिलो दिन हो । आश्विन शुक्ल पक्ष प्रतिपदालाई घटस्थापना भनिन्छ । आजको दिन दुर्गा भवानीलाई घरघरमा स्थापना गरी राखिने जमरा विजया दशमीको दिन विधिपूर्वक प्रसादको रुपमा ग्रहण गर्ने गरिन्छ ।

आज काठमाडौंको हनुमान ढोकास्थित दसैं घरमा र हिन्दु धर्मावलम्बीहरुले आ आफ्नो घरमा जमरा राख्ने गर्दछन । आज जमरा राखेपछि दशैंको शुरुवात भएको मानिन्छ ।

आज राखिएको जमरामा हरेक दिन (९ दिनसम्म) नवमीसम्म जलको अर्पणसहित पूजाआजा गर्नेगरिन्छ । विधिपूर्वक दियो, कलश र गणेशको पूजासहित माटाको पूर्ण घडा समेत स्थापना गरिन्छ ।

शक्तिस्वरूपा दुर्गाभवानीको नौरुप (शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र बुद्धिदात्रीको) पूजा गरिने भएकाले यो चाडलाई विशेषत दुर्गापूजाका रुपमा समेत मनाउने गरिन्छ ।

घटस्थापना गरिएको स्थानमा शंख, डमरू, घण्टी बजाउँदै सप्तसति चण्डी पाठ गरी दुर्गा भवानीको स्तुतिगान गरिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पति मध्ये जमरा पनि एक भएकोले अधिष्ठात्री भगवतीलाई खुसी पार्न जमरा उमार्ने चलन परापूर्व कालदेखि रहेको छ ।

आज हरेक हिन्दू परिवारहरुले आ आफ्नो घरमा जलपूर्ण घडा (कलश) स्थापना गरी त्यसको वरिपरि नौ देवीको स्वरूपको प्रतिमूर्ति तयार गरी गाईको गोबरले देवीहरुका वेदीलाई लेपन गरेर घडाको वरिपरि जौ, मकै लगाएतको बिज रोपिन्छ । त्यसलाई जमरा अथार्त देवीको शक्ति र प्रसादको रुपमा लिइन्छ ।

घटस्थापनाका दिन राखिएको जमरालाई नवमीको नवरात्री पुजा सकेपछि सम्बृद्धिको प्रतीक मानेर विजयादशमीका दिन टीकासँगै लगाउने गरिन्छ । जमरालाई समृद्धिको प्रतीक पनि मानिन्छ ।

घर शुद्ध भएपछि मात्रै देवीको आगमन हुन्छ भन्ने विश्वासका साथ घटस्थापना अर्थात जमरा राख्नुपूर्व गाउँघरमा भने रातो र कमेरो माटोले तथा सहरमा रङहरुले घर लिपपोत तथा रङरोगन गरिन्छ ।

घटस्थापनाका दिन काठमाडौँको हनुमानढोकामा रहेको दसैँघरमा वैदिक विधिपूर्वक जमरा राखी महाकाली, महालक्ष्मी, महासरस्वती लगायत नवदुर्गाको पूजा गरिन्छ ।

घटस्थापनाका दिनदेखि आफ्नो मूलघरबाट टाढा रहेका मानिसहरु दसैँ मनाउन आफ्नो घर फर्कन थाल्दछन् । सहरका बसपार्कहरुमा घर फर्किने मानिसको भिड लाग्ने गर्दछ ।

बडादसैंको पहिलो दिन घटस्थापना र त्यसपछि फुलपातीदेखि कोजाग्रत पूर्णिमासम्म सरकारी विदा दिइदै आएकोमा यस बर्ष भने नेपाल सरकारले घटस्थापनादेखि नै बडादसैंको विदा दिने निर्णय गरेको छ, त्यसैले कार्तिक १० गतेसम्म १५ दिन विदा हुने बुझिएकोछ ।

दशैंभर भद्रकाली, महालक्ष्मी, दक्षिणकाली, गुहेश्वरी, मैतिदेवी, खाडादेवी, कालीमाईलगायत देशका अन्य शक्ति पिठमा दुर्गा भवानीको पूजा आराधना गर्ने गरिन्छ ।