श्रमिकमारा मिडिया मालिकको हर्कत विरुद्ध एकतावद्ध भएर संघर्षमा उत्रिन प्रेस सेन्टर नेपालको आह्वान

आज कान्तिपुर मिडिया ग्रुप र कारोबार दैनिकमा धर्ना तथा घेराउ

बर्दिया । विश्वव्यापी महामारी र त्यसका कारण मिडिया सञ्चालनमा समस्या उत्पन्न गराएको कारण देखाउँदै देशका ठूला मिडियाहरुले पछिल्लो समय धमाधम श्रमिक पत्रकार तथा कर्मचारीलाई निष्काशन गर्ने, तलब नदिने, दुख दिने जस्ता गतिविधि बढाएको विरोधमा पछिल्लो समय पत्रकार तथा कर्मचारीहरु आन्दोलित बन्दै गएका छन ।

मिडिया मालिकहरुसँग माग राख्ने, छलफल गर्ने, अनसन बस्ने तथा सडक आन्दोलनको पहिलो चरणसम्मका कार्यक्रम गर्दा पनि समस्या हल नभएको अवस्थामा श्रमिकमारा मालिकहरुका विरुद्ध सबै श्रमिकवर्ग एकतावद्ध भएर संघर्षमा उत्रिनुपर्नुे भन्दै प्रेस सेन्टर नेपालले सम्बद्ध सबैमा आह्वान गरेको छ ।

आज प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव भिम बहादुर बिकले एक सूचना जारी गर्दै दलाल संसदवादी व्यवस्थाको आडमा मालिकहरुले श्रमिकमारा गतिविधि बढाएको वर्तमान अवस्थामा जनपक्षीय पत्रकारहरु, श्रमजीवी वर्ग, मजदूर, किसान र आम उत्पीडित पेशाकर्मिहरुले त्यसका विरुद्ध एक भएर संघर्ष गर्नुपर्ने बताएका हुन ।

प्रेस सेन्टरका सचिव बिकले संगठनका नेता, कार्यकर्ताहरुलाई श्रमिक पत्रकार तथा कर्मचारीहरुको न्यायोचित आन्दोलनलाई हरतरहले सहयोग गर्न निर्देशन गर्दै आन्तरिक संगठनमा जारी गरेको उक्त सूचनामा ‘श्रमिकमारा मिडिया मालिकहरुका विरुद्ध संगठित संघर्षमा जोडिन सबैमा आह्वान गर्दछौं ।’ भनिएको छ ।

साथै प्रेस सेन्टर नेपालका सचिव बिकको उक्त सूचनामा विगत लामो समयदेखि विभिन्न सञ्चारमाध्यममा कामगर्दै आएका कर्मचारी तथा पत्रकारहरुको काठमाडौंमा जारी आन्दोलनमा आफ्नो संगठनको निरन्तर साथ रहेको र निर्णायक आन्दोलनमा नपुगेसम्म, समस्या समाधान नभएसम्म संगठनको साथ रहने बताइएको छ ।

उक्त सूचनामा जारी आन्दोलनमा काठमाडौं उपत्यकामा रहेका रहेका संगठनका नेता, कार्यकर्ताहरुलाई भौतिक रुपमा सक्रिय सहभागि भएर सहयोग गर्न तथा अन्य देशभरका नेता, कार्यकर्ता र पत्रकारहरुलाई उक्त विषयको समाचारलाई विशेष प्राथमिकताका साथ प्रकाशन, प्रशारण तथा सम्प्रेषण गर्न भनिएको छ ।

श्रमिकवर्गको आन्दोलनलाई प्रेस सेन्टर नेपालले स्थापना कालदेखि नै आफ्नो क्षेत्रबाट नेतृत्व गर्दै आएको जनाउँदै उनले निरन्तर संघर्षमा जोडिन मातहतका शाखाहरुलाई निर्देशन गरेको छ । साथै उनले जारी गरेको सूचनामा हिजो अन्नपूर्ण र कान्तिपुर टेलिभिजनमा गरिएको कार्यक्रममा सहभागिलार्य विशेष धन्यबाद दिइएको छ ।

साथै उक्त निरन्तरको आन्दोलन अन्तर्गत आज दिउँस २ः३० बजे थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको मुल गेटमा र ३ः४५ बजे बुद्धनगरस्थित कारोबारको मुल गेटमा धर्ना कार्यक्रम हुने भएकाले काठमाण्डौ उपत्यकामा भएका संगठनका सबै नेता, कार्यकर्ताहरुलाई ज्याकेट, कार्ड र क्यामेरासहित तथा अन्य न्यायप्रेमि समुदयालाई समेत सहभागि भएर सहयोग गरिदिन अनुरोध गरिएको छ ।

पीडित पत्रकार र कर्मचारी संयुक्त संघर्ष समिति र नेपाल पत्रकार महासंघको संयुक्त आयोजनामा उक्त आन्दोलन अघि बढिरकेको छ । आन्दोलनको पूर्णघोषित कार्यक्रम अनुसार भालि नागरिक लगाएतका अन्य मिडियाहरुमा धर्ना र पर्सि सञ्चारमन्त्रालय अन्तर्गतका अन्य सरकारी निकायमा प्रदर्शनको कार्यक्रम हुने बुझिएको छ ।