दलित महिला संसारकै सबैभन्दा उत्पीडित समूहमाः भारतमा यौन हिंसाको सिकार !

सुस्त अनुसन्धान, पीडितको आरोपमा प्रहरीकै शङ्का

भारत । हामी हिंसाका पीडित हौँ। किनकि हामी गरिब छौँ, तल्लो जातका हौँ र महिला पनि। त्यसैले सबैले नराम्रो दृष्टिले हेर्छन् एक दलित महिलाले केही वर्षअघि खोजकर्ता जयश्री मङ्गुभाइलाई भनेकी थिइन्, हाम्रो निम्ति बोलिदिने वा सहयोग गर्ने कोही छैन। हामीले धेरै यौन हिंसाको सामना गर्नुपर्छ किन कि हामीसँग कुनै शक्ति छैन।

गत हप्ता उत्तर प्रदेशमा फेरि एउटी दलित किशोरी कथित माथिल्लो जातका मानिसहरूद्वारा सामूहिक बलात्कार र आक्रमणमा परेको खबर आयो। त्यसले भारतमा आठ करोडको सङ्ख्यामा रहेका दलित महिलाले व्यापक यौन हिंसा बेहोर्नुपरेको छ भन्ने कुरा फेरि उजागर गरिदियो।

भारतीय महिलाको १६ प्रतिशत दलित छन्। उनीहरू लैङ्गिक असमानता, जातीय विभेद र आर्थिक अभाव गरेर तीन किसिमको मारमा परेका छन्।

कास्ट म्याटर्स पुस्तकका लेखक डा. सुरज येङ्गडेका भनाइमा दलित महिला संसारमै सबैभन्दा धेरै उत्पीडित समूहमा पर्छन्। उनीहरू घरभित्र र बाहिर संस्कृति, संरचना र संस्थागत उत्पीडनबाट पीडित छन्। दलित महिलाविरुद्ध हुने निरन्तरका घटनाले त्यो स्थापित गर्छन्।

माथिल्लो जातका मानिसहरू आरोपित भएको उत्तर प्रदेशको हाथरसमा एक दलित किशोरीमाथिको बलात्कार र हत्याको घटनामा त्यस्तै गरियो जस्तो सामान्यतया दलित महिलामाथि हुने घटनामा गरिन्छ।

उजुरी दर्ता गर्न ढिलो गरियो, अनुसन्धान सुस्त भयो, त्यसपछि आरोपमा प्रहरीले शङ्का व्यक्त गरे। घटनामा जातसँग कुनै सम्बन्ध नरहेको सङ्केत पाइएको बताइयो। सम्भवतस् अधिकारीहरूले उच्च जातका अभियुक्तको पक्ष लिइरहेको पनि लाग्यो।

यतिसम्म कि केही सञ्चारमाध्यम जसको समाचारकक्षमा माथिल्लो जातिका पत्रकारहरूको बाहुल्य छ, तिनले समेत प्रश्न उठाए कि यौन हिंसामा जातसँग किन जोडिन्छ ? अर्को शब्दमा भन्दा भारतमा सरकार र समाजको एउटा पक्ष यौन हिंसा र जातीय तहबीच रहेको सम्बन्धलाई कम देखाउन वा मेटाउन चाहन्छ।

हाथरस घटनाकी पीडित युवतीको मध्यरातमा सरकारद्वारा अन्त्यष्टि गरिनु अनि सञ्चारमाध्यम र विपक्षी नेतालाई उनको गाउँ जान र परिवारसँग भेट्न अवरोध गरिनुले त्यहाँ केही कुरा लुकाउन खोजिँदैछ भन्ने शङ्का उत्पन्न गराइदियो।

भारतको ग्रामीण क्षेत्रमा अधिकांश जग्गा, स्रोतसाधन र सामाजिक सत्तामा उपल्लो र मध्यम जातिको नियन्त्रण छ। सन् १९८९ मा भारतमा दलित उत्पीडन रोक्न उद्देश्यले कानुन ल्याइयो। तर दलित महिलामाथि हुने यौन हिंसामा त्यसको प्रभाव देखिएन।

उनीहरू अनवरत रूपमा दुर्व्यवहार, उत्पीडन, बलात्कार र हत्याका घटना भोग्न बाध्य छन्। सरकारी तथ्याङ्कअनुसार अघिल्लो वर्ष भारतमा हरेक दिन दलित समुदायका १० महिलाको बलात्कार भएको थियो।

उत्तर प्रदेशमा सबैभन्दा बढी महिला हिंसा हुन्छ। त्यस्तै युवतीविरुद्ध यौन हिंसाको सङ्ख्या पनि त्यहीँ सबैभन्दा धेरै छ। भारतमा दलित महिलाविरुद्धका हुने घटनामध्ये आधा उत्तर प्रदेश, बिहार र राजस्थानमा हुने गरेका छन्।

सन् २००६ मा भारतका चारवटा राज्यमा कस्ता किसिमको हिंसाको सामना गर्नुपरेको छ भनेर ५०० महिलामाथि अध्ययन गरिएको थियो।

त्यसमा ५४ प्रतिशतले शारीरिक हिंसा, ४६ प्रतिशतले यौन दुर्व्यवहार, ४३ प्रतिशतले घरेलु हिंसा, २३ प्रतिशतले बलात्कार र ६२ प्रतिशतले वचनको दुर्व्यवहार खेप्नुपरेको देखिएको छ।

दलित महिलाले अन्य जातिसँगै आफ्नै जातका पुरुषबाट पनि हिंसाको सामना गर्नुपरेको छ। द सेन्टर फर दलित राइट्स ग्रूपले सन् २००४ देखि २०१३ सम्म १६ वटा जिल्लामा दलित महिला र युवतीविरुद्ध भएका यौन हिंसाको अध्ययन गरेको थियो।

त्यसमा ४६ प्रतिशत पीडित १८ वर्षभन्दा कम र ८५ प्रतिशत ३० वर्षभन्दा कम उमेरका भएको देखियो। हिंसामा परेका महिला दलितसहित विभिन्न ३६ जातका थिए। दलित त्यसमा पनि खासगरी महिलाविरुद्ध हिंसा हुनुको एउटा कारण उनीहरूले त्यसविरुद्ध आवाज उठाउन थालेका छन्।

जग्गालाई लिएर चलेको लामो विवादका कारण माथिल्लो जातिका मानिसले दलित परिवारका चार जनाको हत्या गरेपछि दलित महिलाविरुद्धको हिंसाको इतिहासमा सन् २००६ मा नयाँ मोड आयो। मारिनेमा एक महिला, उनका दुई छोरा र एक १७ वर्षकी छोरी थिए।

महाराष्ट्रको एउटा गाउँमा दुई दलित महिला जग्गा विवादलाई लिएर उच्च जातिका मानिसविरुद्ध प्रहरीमा उजुरी दिन गएपछि उक्त घटना भएको थियो।

ूत्यो भयानक घटना दलितको चेतनालाई जागृत गराइदियो। उनीहरूविरुद्ध हुने समाजिक उत्पीडन र भेदभावलाई पनि उजागर गरिदियो,ू इतिहासकार उमा चक्रवर्तीले भनिन्।

दलितहरूमा बढ्दो दृढतालाई लिएर उपल्लो जातिका मानिस आत्तिएको र आक्रमण गर्न थालेको बताइन्छ। हाथरसको घटनाबारे आएका समाचारहरूमा पीडितको परिवारसँग माथिल्लो जातिका मानिसको दुई दशक लामो विवाद रहेको बताइएको छ।

देशव्यापी भइरहेको सामाजिक परिवर्तनले दलित बालिकाहरूलाई विद्यालय पठाइँदैछ र दलित महिला तथा महिलावादी समूहलाई उनीहरूको आवाज सुनिने बनाउन प्रेरित गरेको छ।

बलियो दलित महिला नेतृत्वले कसैको भर नपरेर सङ्घर्षको अगुवाइ गरिरहेको छ र आफ्नो गुनासो सुनाइरहेको छ, यसअघि यस्तो कहिल्यै भएको थिएन, लेखक डा. येङ्गडे भन्छन्। दलित महिला लडाइँमा ओर्लिएका छन्। त्यसैले उनीहरूविरुद्धको प्रहार पहिलेभन्दा क्रूर देखिन्छ।

ूपहिलेको हिंसा अदृश्य रहन्थ्यो र दर्ता हुँदैनथ्यो,ू दलित अधिकारकर्मी मञ्जुला प्रदीप भन्छिन्, अहिले हामी पहिलेभन्दा बलियो र थप दृढ बनेका छौँ। थुप्रै हिंसाले अहिले हामीलाई हाम्रो सीमा सम्झाइरहेका छन्। बीबीसीबाट