प्रमुख तथा लेखाअधिकृतको कार्यकक्षमा तालाबन्दी

बिवाद समाधानकालागि दुवै पक्ष बिच छलफलको तयारी ः स्वकिय सचिव थारु

बाँके । राप्तीसोनारी गाउँपालिकाका प्रशासकीय प्रमुखको कार्यकक्ष र लेखा शाखामा राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले तालाबन्द गरेका छन ।

प्रमुख प्रशासकीय अधिकृतले सेवाग्राहीको काममा लापरबाही गरेको भन्दै गाउँपालिका अध्यक्ष लाहुराम थारुले ताला लगाएका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेत सेवाग्राहीको कामप्रति जिम्मेवार नभएको,पालिका अध्यक्षसँगको समन्वय बिना काम गर्ने गरेको आरोप लगाउँदै पालिका अध्यक्ष थारुले बस्नेतको कार्यकक्षमा ताला लगाई दिएपछि विवाद उत्कर्षमा पुगेको हो ।

गाउँपालिका श्रोतका अनुसार प्रशासकीय अधिकृत बस्नेतले कार्यपालिकाको निर्णय विपरीत झण्डै ५० लाख पर्ने सावारी साधन समेत खरिद गरेपछि विवाद बहिर आएको हो ।

केही दिन अघि अधिकृत बस्नेतले आफु चढ्नकालागि स्कारपियो गाडी खरिद गरेका थिए ।

पालिका अध्यक्ष थारुले प्रशासकिय अधिकृत बस्नेत र लेखा शाखामा लगाएको ताला सोमाबार साँझ खोलिएको भए पनि आज (मंगलवार) पालिकाका कर्मचारीहरु केही समय पेन डाउन गरेर काम काज ठप्प पार्नका लागि प्रशासकीय अधिकृतले सुझाएको कार्यालयका कर्मचारीले समाचारदातासंग फोनबार्ताको कुराकानीको क्रममा बताए ।

पालिका अध्यक्ष थारुका स्वकिय सचिव सन्तोष थारुले प्रमुख प्रशासकीय अधिकृत बस्नेत गैर जिमेवार बनेका कारण पालिकामा बिवाद सृजना भएको बताउदै उनले बिवाद समाधानका लागि दुवै पक्ष बिच छलफलको तयारी भइ रहेको जनाए ।