सिन्धुपाल्चोकमा शनिबार राति आएको पहिरोमा ठूलो धनजनको क्षति

७ को शव भेटियो, धेरै मानिस बेपत्ता

सिन्धुपाल्चोक । शनिवार राति सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाको वडा नम्बर ७ का विभिन्न ठाउँमा पहिरो जाँदा धनजनको ठूलो क्षति भएको अधिकारीहरूले बताएका छन्।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालका अनुसार आइतवार बिहानसम्म प्रभावित स्थानमा सात वटा शव फेला परेका छन् भने दुई दर्जन मानिस हराइरहेका छन्।

नगरपालिकाकी उपप्रमुख सुशीला पाख्रिनका अनुसार पहिरोले सबैभन्दा धेरै नागपुजे, डाँडागाउँ भीरखर्क र ताङ्सारमा असर पारेको छ।

सबैभन्दा धेरै प्रभावित नागपुजेबाट पाख्रिनले बीबीसीलाई भनिन्ः “यहाँ ११ वटा घरको पहिरोले नामनिसान सबै मेटेको छ। केही मानिस हराइरहेका छन्।”

प्रमुख जिल्ला अधिकारी दाहालले सबै स्थानमा गरेर २२२ परिवार उच्च जोखिममा परेका र तिनलाई तत्कालै स्थानान्तरण गर्नुपर्ने देखिएको छ।

सरकारी निकायले त्यसका लागि उपाय खोजिरहेको उनले बताए। मध्यरातपछि १ बजेतिर पहिरो आएको पाख्रिनले बीबीसीलाई बताइन्। त्यहाँ अविरल वर्षा भएको थियो।

तीनवटै बस्तीहरू पहिरोबाट प्रभावित पहाडको तर र माथि भएको बताइएको छ। जिल्लाका प्रहरी प्रमुख राजन अधिकारीका अनुसार पहिरोका कारण त्यहाँ धाँजा फाटेको छ।

प्रहरी उपरीक्षक अधिकारीले भने, “छिट्टै (जोखिममा परेका) परिवारलाई सुरक्षित ठाउँमा सार्नुपर्ने अवस्था छ।’ पाँच वर्षअघि गएको भूकम्पबाट प्रभावित पहाडी भेगमा बारम्बार पहिरोको समस्या देखिएको अधिकारीहरू बताउँछन्। बीबीसीबाट