संस्कृतिविद्हरु भन्छन्–पाटनमा रथ तान्ने क्रममा भएको झडप नेपाली संस्कृति र सभ्यतामाथिको आक्रमण हो!

जात्राको नाममा अराजकता फैलाउने प्रयास

ललितपुर । कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण गर्न जारी निषेधाज्ञाबीच बिहीवार पाटनमा रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा स्थानीय र प्रहरीबीच भएको झडप नेपाली संस्कृति र सभ्यतामाथि आक्रमण भएको संस्कृतिविद्हरूले बताएका छन्।

रातो मच्छिन्द्रनाथ रथयात्राको सञ्चालन र व्यवस्थापसँग जोडिएका विभिन्न समूह र व्यक्तिलाई औपचारिक जानकारी नगराएर रथ तान्दा त्यस्तो घटना भएको स्थानीय बासिन्दा बताउँछन्।

जात्राको नाममा अराजकता फैलाउने प्रयास गरिएको भन्दै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले घटनाले आफूलाई दुखी बनाएको एवम् त्यो पहिलो र अन्तिम हुने बताउँछन्।

जात्रा छोट्टाएर सुरक्षित रूपमा सम्पन्न गर्ने सहमति भए अनुसार शुक्रवार क्षमा पूजा गरिएको छ। वर्षा र सहकालका देवताका रूपमा प्रख्यात लिच्छविकालीन रातो मच्छिन्द्रनाथको रथ यात्राबारे उत्पन्न विवाद संस्कृतिका लागि राम्रो नभएको विज्ञहरू बताउँछन्।

निषेधाज्ञाबीच भएको सो घटनाले नेपालको कला, संस्कृति र सम्पदाको अल्पायुको सङ्केत गर्ने संस्कृतिविद् हरेराम जोशीको भनाइ छ।

झडप अकल्पनीय र निन्दनीय भएको उल्लेख गर्दै जोशीले प्रश्न गरे, रथ बनाएर बुङ्गद्य स्थापना गरेपछि रथलाई सहर परिक्रमा गराउने प्रचलन हो। रथ बनाउन दिने, देवता पनि स्थापना गर्न दिने, अनि तान्नेबेला पाइन्न किन भन्ने ?

बिहीवारको घटनाले ललितपुरको रातो मच्छिन्द्रनाथको रथ यात्रा मात्र नभएर समग्र नेपाली परम्परा र संस्कृतिको आयु अब लामो छैन भन्ने सन्देश दिएको उनको ठम्याइ छ।

कोरोनाभाइरसका कारण सरकारले सांस्कृतिक जात्रा, पर्व तथा धार्मिक गतिविधिहरू सामान्य पूजाआजामा सीमित गर्न निर्देशन दिएको थियो।

काठमान्डूमा घोडेजात्रा‚ सेतो मच्छिन्द्रनाथको रथयात्रा‚ गाईजात्रा र इन्द्रजात्रा रोकियो। भक्तपुरमा पनि त्यहाँको सबैभन्दा ठूलो बिस्काः जात्रा गरिएन।

जनस्वास्थ्यका हिसाबले मच्छिन्द्रनाथको रथयात्रा गर्न गरिनुलाई कतिपयले स्थानीय बासिन्दा र निकायको जिद्दीपना भनी टिप्पणी गरेका छन्।

मेयर महर्जन लकडाउन सुरु भएपछि जात्रा रोक्नु पर्ने सरकारी निर्देशनको विरोध गर्दै धर्नामा सहभागी भएका थिए। उनी जात्रा सञ्चालनको लागि जिद्दी गरेकै स्वीकार्छन्।

उनी भन्छन्, त्यतिबेला एक दुईजना संक्रमित मात्रै थिए। त्यसैले धर्ना नै गरेका थियौँ। ललितपुरमा दशैँसम्म रातो मच्छिन्द्रनाथको रथ यात्रा सम्पन्न भएन भने मच्छिन्द्रनाथलाई भक्तपुरेले लैजान्छन् भन्ने जनश्रुतिका कारण त्यहाँ अप्रत्यक्ष दबाव रहेको बताइन्छ।

संस्कृतिविद् जोशी त्यसमा कुनै सत्यता नभएको बताउँछन्, ललितपुरको बुङ्गद्य ललितपुरकै हुन्। भक्तपुरमा लगेर के अर्थ ? भक्तपुरका संस्कृतिविद् तेजेश्वरबाबु ग्वंग पनि सहमत छन्।

उनी भन्छन्, यो हल्ला मात्र हो। यस्तो कतै लेखिएको छैन। यो हल्लाको पछाडि कुनै आधार म देख्दिनँ। पाटनका थुप्रै स्थानीय समूहको छुट्टाछुट्टै जिम्मेवारीमा चन्द्रमास तिथिअनुसार रथ निर्माण‚ यात्रा र जात्रा सम्पन्न हुने जानकारहरू बताउँछन्।

लकडाउनका कारण समयमै रथको निर्माणकार्य‚ मूर्ति स्थापना कार्य सम्पन्न नभए पनि गत असारमा लकडाउन खुकुलो बनाउने सरकारी निर्णयपछि जात्रा सञ्चालनबारे पटकपटक आश्वासन मिलेको स्थानीयवासीको भनाइ छ।

ललितपुरको गुठी संस्थान कार्यालयको अधिनमा रहेको जात्राबारे सरोकारवाला सरकारी र स्थानीय निकायसँगको चरणवद्ध छलफलपछि विचाराधीन अवस्था रहेको बेला रथ तान्ने काम भएको ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जन बताउँछन्।

महर्जन भन्छन्, हामी त गुठी संस्थानको निर्णय पर्खिरहेका थियौँ। कसको निर्देशनमा को आएर रथ तान्न थालियो भन्ने हामीलाई थाहा छैन। सम्बन्धित आए भनौँ हामीलाई थाहा छैन, असम्बन्धित आएर तान्न थाले भनौँ कसलाई दोष दिने थाहा छैन। तर जे भयो एकदम गलत भयो। सारै लाज भयो।

ललितपुरका मेयर महर्जन हिजोको घटनामा असामाजिक र अराजकता निम्त्याउने तत्वको सक्रियता रहेको अनुमान गर्छन्। उनी भन्छन्, सम्पदाप्रेमी भन्नेले सम्पदाको मान राखेनन्। हाम्रो सयौँ वर्ष पुरानो साँस्कृतिक धरोहरको प्रतिष्ठा हर्न केही मानिसहरू तल्लीन देखिए।

सबै १९ वटै जातीय खलः पुचः रहेको बुंगद्यः जात्रा व्यवस्थापन कार्यदलका संयोजक चन्द्र महर्जनले कुनै आधिकारिकता बिना असम्बन्धित समूहबाट रथ तान्न प्रयास गरिएकोमा आपत्ति जनाएका छन्।

भदौ ११ गते रथसँग सम्बन्धित सरोकारवालाहरूको विशेष बैठकमा मलमास अगाडि जात्रा सम्पन्न गर्ने र त्यसको लागि गुठी संस्थानको प्रधान कार्यालयबाट विज्ञहरूसँग परामर्श गरि आएको निचोड उपर जातीय खलःपुचःहरू, रकमीहरू र अन्य सम्बन्धित सबैको उपस्थितिमा हुने बैठकबाट पारित गर्ने र सोही अनुसार रातो मच्छिन्द्रनाथको रथ यात्रा सम्पन्न गर्ने भद्र सहमति भएको एक विज्ञप्तिमा उल्लेख छ।

अब रातो मच्छिन्द्रनाथका सबै विधि प्रक्रियाहरू हाल रथ भएकै स्थानमा सम्पन्न गरिनेछ। जस अनुसार शुक्रवार क्षमा पूजा सम्पन्न भएको छ। शनिवार साइत हेरिने र साइत प्राप्त भएको दिन सम्भवतः भदौ २६ गते रातो मच्छिन्द्रनाथलाई बुङ्गमती प्रस्थान गराइने छ। बीबीसीबाट