प्रशासनको आँडमा सार्वजनिक पोखरीमा अतिक्रमणः स्थानीयद्धारा विरोध

गाउँपालिकामा दुई पक्षबीच झडप

कपिलवस्तु । विभिन्न तीन गाउँको सीमानामा जोडिएको स्थानीय पोखरी तथा त्यसमा रहेको माछा र पानी दुवैमा एउटा व्यक्तिले मात्र उपभोग गर्न खोजेपछि आज विरोधमा उत्रिएका गाउँलेहरु बीच आज कपिलवस्तुको शुद्धोधन गाउँपालिकाको कार्यालय नजिक झडप भएको छ ।

कपिलवस्तुको शुद्धोधन गाउँपालिकाको वडा नं ४ स्थित ८ नम्बर पोखरी पुर्निहवामा मधुनगराका एक स्थानीयले आफ्नो दावी गर्दै एक्लौटी रुपमा उपभोग गर्न खोजेपछि उक्त झडपको अवस्था आएको हो ।

३ गाउँको सिमानासम्म सिँचाइ गर्नका लागि यसअघि सबैले प्रयोग गर्दै आएको उक्त पोखरीमा मधुनगराका बदरी यादवले एक्लै जग्गा कब्जा गरेर जबरजस्ती माछा र पानी दुवै उपभोग गर्न खोजेको भन्दै अन्य गाउँका मानिसहरु त्यसको विरोधमा उत्रिएका थिए ।

रमवापुर लगायत तीन गाउँका नागरिक तथा कृषकहरुले गाउँपालिका नजिक जम्मा भएर सामूहीक रुपमा प्रयोग हुँदै आएको उक्त पोखरीमा कसैले एक्लौटी उपयोग गर्न नहुने भन्दै विरोध जनाएका थिए ।

उनीहरुले पोखरीको पानीलाई सिचाई गर्न तथा धान लगाएतका बाली लगाउँन सबैले प्रयोग गर्दै आएको भएपनि मधुनगरा बस्ने बदरी यादवले सार्वजनिक पोखरीमा एकलौटी दावी गरेको भन्दै त्यो आफुहरुलाई मान्य नहुने बताएका छन ।

विरोधमा उत्रिएका स्थानीय नागरिकहरुका अनुसार मधुनगराका बदरी यादवले जिल्ला प्रशासन कार्यालयबाट एक स्थानीयलाई थाहा नदिई, उक्त सार्वजनिक पोखरी र जमिनको कागज पत्र बनाएका छन । र त्यहि कागजका आधारमा उनले पोखरीमा आफ्नो दावी गरेका हुन ।

उक्त पोखरीको उपभोगको विषयलाई लिएर स्थानीय कृषकहरु र यादव पक्षबीच गाउँपालिका नजिक भनाभन र झडप समेत भएको छ ।

उक्त विषयमा दुबै पक्षका आ आफ्ना तर्क भएपनि सार्वजनिक पोखरीमा व्यक्तिगत उपभोग गर्न नहुने अन्य नागरिकहरुले समेत बताउने गरेका छन ।