न्यूयोकको एक बाँदर राख्ने घर जहाँ, एक शताब्दीसम्म अफ्रिकी किशोरलाई राखियो, यस्तो छ, वास्तविकता

चिडियाखानाका कर्मचारीको ढाकछोप

न्यूयोर्क । बाँदर राख्ने घरमा अफ्रिकी किशोरलाई राखिएको भन्ने समाचारले चर्चा पाएको एक शताब्दीपछि न्यूयोर्कको ब्रंक्स चिडियाखानाले खेद प्रकट गरेको छ।

वाइल्डलाइफ कन्जरभेसन सोसाइटीले सन् १९०६ मा कङ्गोका बेङ्घालाई आफ्नो प्रदर्शनीमा राखिएकोमा माफी मागेको हो। सोसाइटीले यसअघि यो विषयलाई बेवास्ता गर्दै आएको थियो।

सन् १९०६ सेप्टेम्बर ९ मा चिडियाखानामा राखिएको दिनदेखि सेप्टेम्बर २८ मा रिहा नहुन्जेलसम्म बेङ्घाको समाचारले युरोप र अमेरिकामा सनसनी मच्चाएको थियो।

उक्त प्रकरणलाई सोसाइटीले सय वर्षसम्म ढाकछोप गर्न खोजेको थियो। उसले वास्तविकभन्दा पनि मिथ्या विवरण दिने वा गलत विवरणलाई पनि वर्षौँसम्म नसच्याएको देखिन्छ।

चिडियाखानाबाट सन् १९०६ मा प्राप्त पत्रले बेङ्घा चिडियाघरको कर्मचारी रहेको मिथ्या विवरण खडा गरिएको देखाउँछ। दशकौँसम्म त्यो प्रपञ्चले काम गरेको थियो।

त्यसबेलाको बेल्जीयन कंगोबाट अमेरिकी व्यापारी स्यामुएल भेर्नरले सन् १९०४ को मार्चमा उनलाई बन्धक बनाएका थिए। उनको वास्तविक उमेर यकिन छैन। उनी १२ वा १३ वर्षका हुनसक्छन्।

पानीजहाजबाट उनलाई न्यू ओर्लिन्स पुर्याइएको थियो र त्यो वर्ष सेन्ट लुइसमा आयोजित मेलामा प्रदर्शनीमा राखिएको थियो। जाडो महिनामा चलेको मेलामा उनी र अन्या आठ जनालाई पर्याप्त कपडा र अवासबिना राखिएको थियो।

सेप्टेम्बर १९०६ मा उनलाई न्यूयोर्कको ब्रंक्स चिडियाखानामा उनलाई २० दिन प्रदर्शनीमा राखिएको थियो। बन्धक बनाएकोमा इसाई धार्मिक नेताबाट विरोध भएपछि उनलाई न्यूयोर्कको एक आश्रयस्थलमा राखिएको थियो।

सन् १९१० ज्यानुअरीमा उनी भर्जिनिया सरेका थिए। सन १९१६ मा उनले आत्महत्या गरेका थिए। सन् १९७४ मा उक्त चिडियाखानाका क्युरेटर विलीयम ब्रिजेजले त्यसबेला के भएको थियो ठ्याक्कै थाहा नभएको दाबी गरेका थिए।

आफ्नो पुस्तकमा उनले लेखेका थिए, “अटो बेङ्घालाई के आश्चर्यजनक वा दुर्लभ जनावर जसरी प्रदर्शनीमा राखिएको थियो ?” चिडियाखानाको पुराना अभिलेख हेर्ने जिम्मा पाएका उनी नै उक्त प्रश्नको सबैभन्दा राम्रो जबाफ दिनसक्ने व्यक्ति थिए।

“उनलाई पिँजडामा निश्चित समय प्रदर्शनीमा राख्नु अमिल्दो देखिन्छ,” उनले अभिलेखलाई बेवास्ता गर्दै लेखेका थिए। भारी हतियारबाट सुसज्जित भएर कङ्गो पुगेर अटो बेङ्घा र अरूलाई बन्धक बनाएर भेर्नरका नातिले सन् १९९२ मा सहलेखन गरेको पुस्तकमा पनि मिथ्या विवरण दिइएको छ।

उक्त पुस्तकमा भेर्नर र बेङ्घाबीच मित्रताको चर्चा गरिएको छ। बेङ्घाले आफूलाई बन्धक बनाउँदा विरोध गरेपनि न्यूयोर्कमा प्रदर्शनमा सहभागी हुँदा खुसी भएको लेखिएको छ।

केहीले सय वर्षपछिको अपूर्ण माफीपछि अब सोसायटीले यस विषयमा पूर्ण सत्य बाहिर ल्याउनु पर्ने बताएका छन्। यो प्रकरणले संरक्षण र यसको इतिहासका बारेमा जनचेतना फैलाउने मौका दिने उनीहरू बताउँछन्।

उनीहरूले दिएको सुझावमध्ये एउटा सुझाव सोसायटीले आफ्नो शिक्षा केन्द्रको नाम अटो बेङ्घाको नाममा राख्ने रहेको छ। बीबीसीबाट