गएको २४ घण्टामा कोरोनाबाट १२ जनाको मृत्युः ९२७ जना संक्रमित थपिए

संक्रमितको सङ्ख्या ३६,४५६ पुग्यो

काठमाडौं । विगत २४ घण्टामा नेपालमा ९२७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। देशभरि सङ्क्रमण पुष्टि हुने व्यक्तिको सङ्ख्या ३६,४५६ पुगेको छ।

सो अवधिमा कोभिड १९ देखिएका थप १२ जनाको मृत्यु भएको सरकारले पुष्टि गरेको छ। यो एकै दिन मृत्यु पुष्टि भएको सबैभन्दा ठूलो सङ्ख्या हो।

अहिलेसम्म एक चिनियाँ नागरिकसहित देशभरि १९५ जनाले कोरोनाभाइरससँग सम्बन्धित कारणले ज्यान गुमाइसकेका छन्।

अहिले देशभरि १६,०१९ जनामा सक्रिय सङ्क्रमण भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रवार अपराह्ण आयोजित दैनिक प्रेस ब्रीफिङमा बताए।

मन्त्रालयतले भदौ ११ गते बिहीवार १,१११ जनामा सङ्क्रमण देखिएको पुष्टि गरेको थियो। त्यसअघि भदौ २ गते सङ्क्रमितको सङ्ख्यामा पहिलो पटक १,००० नाघेको थियो।

भदौ ९ गते थप ८५५ जनामा सङ्क्रमण र सात जनाको मृत्यु तथा भदौ १० गते ११ जनाको मृत्युसहित ८८५ जनामा सङ्क्रमण पुष्टि भएको थियो।

कोभिड १९ का कारण मृत्यु भएका व्यक्तिहरू विभिन्न जिल्लाका हुन्। तीमध्ये चार महिला र आठ पुरुष छन्। मन्त्रालयका अनुसार मोरङमा ५६ र ६५ वर्षीया दुई महिला तथा भक्तपुरमा ६४ र मकवानपुरमा ७१ वर्षीया महिलाको मृत्यु भएको हो।

त्यसैगरी उदयपुरमा ५२ वर्षीय, पर्सामा ७२ वर्षीय, धनुषामा ४५ वर्षीय, सिराहामा ५५ वर्षीय, झापामा ८३ वर्षीय, चितवनमा ५१ वर्षीय, कास्कीमा ५२ वर्षीय र रूपन्देहीमा ६० वर्षीय पुरुषको मृत्यु पनि कोरोनाभाइरस सङ्क्रमणसँग भएको मानिएको छ।

थपिएका सङ्क्रमितहरू विभिन्न जिल्लाका हुन्। तीमध्ये ३३४ महिला र ५९३ पुरुष छन्। अहिले काठमाण्डू उपत्यकाका ४१५ सङ्क्रमित थपिएका हुन्। काठमाण्डूमा ३५०, भक्तपुरमा ५४ र ललितपुरमा ११ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

उपत्यकाका तीन जिल्लामा एकै दिन वृद्धि भएको यो सर्वाधिक सङ्ख्या हो। त्यसैगरी रूपन्देहीमा ७२, मकवानपुरमा ५१, ,मोरङमा ४७, सुनसरीमा ४१ र बाँकेमा ३५ जनामा पनि कोभिड १९ पुष्टि भएको छ।

चौबीस घण्टाको अवधिमा १०,२२९ वटा नमुनाको परीक्षण गरिएकोमा १६९ जना सङ्क्रमणमुक्त देखिएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए। अहिलेसम्म २०,२४२ सङ्क्रमितहरू निको भइसकेको सरकारको तथ्याङ्कले देखाउँछ।

सक्रिय सङ्क्रमितमध्ये ६,४४६ जना घरमै र ९,५७३ जना संस्थागत आइसोलेशनमा भएको मन्त्रालयले जनाएको छ।देशभरि क्वारन्टीनमा ८,९३९ जना छन्। तीमध्ये सुदूरपश्चिम र गण्डकी प्रदेशमा हुनेको सङ्ख्या बढी छ।

यसअघि भदौ ५ गते सरकारले ८३८ जनामा सङ्क्रमण र ११ जनाको मृत्यु भएको पुष्टि गरेको थियो। भदौ ७ गते थपिएका सङ्क्रमितको सङ्ख्या ८१८ थियो।

यसअघि असार ४ गते ६७१, असार १० गते ६२९, असार १९ गते ७४०, साउन २७ गते ६३८, साउन ३२ गते ६४१ र भदौ ८ गते ७४३ जनामा सङ्क्रमण पुष्टि भएको थियो। बीबीसीबाट