कोरोना संकटले प्रभावित पुराना सम्बन्धलाई मर्मत गर्न समय दिनुपर्छः मनोविज्ञानविद् रबिन डुन्बार

कार्यक्षमता र मानसिक स्वास्थ्यमा असर

काठमाडौं । हामीले मित्रतामा ध्यान दिएनौं भने त्यो चाँडै नै बिग्रिन सक्छ । तीन महिनाभित्र त्यसले धेरै फरक ल्याउन सक्छ भन्छन् प्राणीको जीवन विकासक्रमसम्बन्धी मनोविज्ञानविद् प्राध्यापक रबिन डुन्बार।

त्यसैले लकडाउनको सामाजिक दबाव छोटै भए पनि त्यसले केही मित्रतामा दीर्घकालीन असर पार्न सक्ने उनी बताउँछन्।

रोयल सोसाइटी जर्नलमा एक लेख प्रकाशित गर्दै प्राध्यापक डुन्बारले कसरी लकडाउनले हाम्रा सामाजिक सम्पर्क परिवर्तन गर्नेछन् भन्नेबारे अध्ययन गरेका छन्।

अक्स्फोर्ड विश्वविद्यालयका यी विज्ञले औँल्याएका असरको जरा जूम वा ह्वाट्स्याप समूहभन्दा पर छन्। उनी भन्छन्ः मानिसको मित्रताको जरा गैरमानव प्राइमेटहरूको सामाजिक जीवनमा आधारित छ।

ती प्राइमेटका निम्ति सामाजिक बन्धन भनेको कुनै स्थिर समूहको सदस्य हुनु हो जसले तिनलाई प्रतिद्वन्द्वी वा अन्य जनावरबाट जोगाउँछ।

हामी किन निकटस्थ मित्रहरूलाई धेरै भर गर्छौँ भन्ने पनि यसले बुझाउँछ। हाम्रो विकासक्रमको इतिहासमा यस्ता मित्रतामाथि हाम्रो ज्यान नै निर्भर रहन्थ्यो।

अनि त्यस्ता सम्बन्ध बनाइराख्न निकै स्याहार सुसार चाहिन्छ। बाँदर तथा मानिस दुवैमा मित्रताको गुणस्तर कति समय सँगै व्यतीत गरिन्छ भन्नेमा भर पर्ने अध्ययनहरूले देखाएका छन्।

मित्रता कायम राख्न हामीले बारम्बार भेटघाट गरिराख्नुपर्छ, प्राध्यापक डुन्बारले बताए। त्यसो गर्न समय र भावनात्मक लगाव निकै लाग्छ जसले गर्दा हामीले सीमित सङ्ख्यामा मात्र त्यस्ता सामाजिक सम्बन्ध बनाइराख्न सक्छौँ।

लकडाउनका बेला कैयौँ मानिसहरूले घरवरपर तथा समुदायमा थुप्रै नयाँ मित्रता गाँसिरहेका छन्, प्राध्यापक डुन्बारले भने। त्यसैले जब लकडाउन खुल्छ तब हाम्रा केही पुराना मित्रलाई यी नयाँ मित्रले विस्थापित गर्न सक्छन्।

यसको एउटा असर भने सम्बन्धहरूमा हुनसक्ने परिवर्तन हो। कडा लडकाउनका बेला फ्रान्समा सामाजिक वैज्ञानिकहरूले गरेको एउटा बृहत् सर्वेक्षणले यस्तै देखायो।

छोटकरीमा भन्दा केही मित्रताहरू प्राथमिकतामा परे र स्याहार अनि सम्पर्कमार्फत् थप बलियो बने भने कैयौँ हलुका मित्रताहरू त्यसै सेलाएर गए।

यसले बढी उमेरका मानिसहरूलाई धेरै असर पर्‍यो। उमेर बढ्दै गएपछि नयाँ मित्र बनाउन कठिन हुन्छ, प्राध्यापक डुन्बारले भने।

अनि हाम्रो स्वास्थ्य, तन्दुरुस्ती, सुख लामो बिमारी वा शल्यक्रियाबाट निको हुने क्षमता समेत  हाम्रा उच्च गुणस्तरका मित्रताहरूको सङ्ख्यामा भर पर्छन्।

यदि छोटो समयका निम्ति हो भने लकडाउनमा पनि हाम्रा पुराना र गहिरा मित्रताहरू ज्यूँ का त्यूँ रहनेछन्। तिनलाई अनलाइन सम्पर्कले पनि केही हदसम्म जोगाइराख्नेछन्।

बेल्फास्टको क्वीन्स विश्वविद्यालयकी डा. जेनी ग्रोआर्कले महामारीका बेला हुने एक्लोपनाको अध्ययन गरेकी छन्।

मानिसहरूले तिनका सामाजिक आवश्यकता पूर्तिका निम्ति डिजिटल सञ्चारमाध्यमको प्रयोग गरेका छन्। तर यसबाट हुने सम्पर्क प्रत्यक्ष सम्पर्कको तुलनामा कम सन्तोषजनक भएको पाइएको छ, उनले भनिन्।

बढ्दो एक्लोपनासँग पनि यो जोडिएको छ। यो निचोड प्राध्यापक डुन्बारको निष्कर्षसँग मिल्दोजुल्दो छ। उनका अनुसार प्रत्यक्ष भेटघाटको विकल्प छैन।

त्यसको एउटा कारण मानिसको स्पर्श आवश्यकता पनि हो। अध्ययनमा सहभागी मानिसहरूले अरूलाई स्पर्श गर्न नपाउँदा तथा भौतिक दूरी राख्दा अनौठो मानेको पाइयो, डा. ग्रोआर्कले भनिन्।

अनलाइन सम्बन्ध मित्रताका निम्ति पर्याप्त नहुने ठानिन्छ । मावनजातिको सबैभन्दा निकटस्थ नातेदार चिम्पान्जीलाई हेर्दा पनि स्पर्श स्वाभाविक मात्र नभई सामाजिक रूपमा अत्यन्त महत्त्पूर्ण देखिन्छ।

चिम्पान्जीहरूले घण्टौँसम्म एकअर्कालाई स्याहार गरिरहन्छन्। एकअर्काबीच स्पर्श वा एकअर्काको शरीरबाट जुम्रा, कीरा झिक्ने जस्ता काम केवल सरसफाइमा मात्र जोडिएका छैनन्।

तिनले सामाजिक सम्बन्ध बलियो बनाउने मात्र होइन कि मस्तिष्कबाट दुखाइ कम गर्ने तथा रमाइलो अनुभव गराउने इन्डर्फिन नामक जैविक रसायन पनि उत्सर्जन गराउँछन्।

त्यसैले मानिसहरू आधुनिक अनलाइन सम्बन्धतर्फ मोडिए पनि ती पुराना सम्बन्धका आधारहरू हाम्रा मनमस्तिष्कमा अद्यापि छँदैछन्।

तै मानिसहरूका लागि मस्तिष्कको रमाइलो अनुभव गराउने केन्द्र क्रियाशील पार्ने अरू उपाय पनि छन्। अनलाइन मार्फत् वा सामाजिक दूरी कायम गरेर पनि रमाइलो अनुभव गर्न सकिन्छ।

हाँस्ने, गाउने, नाच्ने वा खानपान जस्ता क्रियाकलापले इन्डर्फिन निस्किन्छ र हाम्रा सामाजिक सम्बन्ध कायम भइराख्छन्।

प्राध्यापक डुन्बार भन्छन् हामीमध्ये अधिकांशका निम्ति यो सामाजिक दूरीको समय दुःखपूर्ण तर अस्थायी पीडा हुनेछ। तर लकडाउनले प्रभावित पुराना सम्बन्धलाई मर्मत गर्न हामीले समय दिनुपर्नेछ। बीबीसीबाट