आज थारु समूदायको पहिचान बोकेको पर्व ‘अट्वारी’-एकता, बिजय र भातृत्वप्रेमको प्रतिकमा रुपमा मनाइदैं

सार्वजनिक बिदा, अट्वारी सम्बन्धी प्रचलन यस्तो छ, विस्तृतमा हेर्नुहोस्

बर्दिया । आज थारु समूदायमा परम्परा र पहिचान बोकेको पर्व ‘अट्वारी’ दाजुभाइ, दिदीबहिनी र छरछिमेकीबीच माया, ममता, सद्भाव र भ्रातृत्वको विकास गर्दै, पराचिन संस्कार अनुसार मनाइदै छ ।

कोरोना संक्रमणका कारण अन्य संस्कारजन्य मान्यता अनुसार यसबर्ष भिडभाड वा धेरै मानिसहरु जम्मा हुने अवस्था नभएपनि थारु समूदायमा ‘अट्वारी’ पर्व लाई सद्धाव बृद्धीको प्रतिकका रुपमा उच्च सतर्कता अपनाउँदै बर्त, पूजापाठ लगाएतका संस्कारजन्य कार्य गरेर मनाउन लागिएको हो ।

मुख्य गरी ‘अट्वारी’ पर्व थारु समूदायको बाक्लो बस्ती भएका जिल्लाहरुमा मनाउने गरिन्छ । पश्चिम नेपालका बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ, कपिलवस्तु, नवलपरासि, चितवन लगाएत थारु समूदायको बसोबास धेरै भएका जिल्लाहरुमा यो पर्व आज मनाइदैछ ।

पछिल्लो समय मुलुकमा आएको राजनीतिक परिवर्तनले विभिन्न जातजाति र समूदायको कला, संस्कार, पहिचानको विकास, संरक्षणको पक्षमा समेत केही कानुनी अधिकारहरुको सुनिश्चितता गरेको अवस्था छ । तर त्यसले पूर्णतया जनन्यायीक व्यवस्थाको अनुभूति दिलाउन सकेको अवस्था भने छैन ।

त्यसै क्रममा थारु समूदायको महत्वपूर्ण पर्व अट्वारीको अवसरमा प्रदेश सरकारले शुभकामना दिदै आज एक दिन समुदायगत सार्वजनिक बिदा समेत दिएको छ । पर्वको अवसरमा थारु समुदायको बसोबास भएका जिल्लाहरुमा बिदा गरिएको बुझिएको छ ।

सरकारले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ बाट जोगिनका लागि नागरिकको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड बनाएको र त्यसको पालना गदैं सतर्कता अपनाउँदै चाडपर्व मनाउन अनुरोध समेत गरेको छ।

अट्वारी विशेषत पश्चिमम नेपालमा मनाईने थारु जातिको महत्वपूर्ण सामाजिक र साँस्कृतिक परम्परा बोकेको पर्व हो आइतबारको दिन मनाउने भएकाले यसको नाम अट्वारी रहन गएको किबदन्ती पाइन्छ ।

मोहरात्री अथावा श्रीकृष्ण जन्माष्टमीको दोस्रो हप्ताको पहिलो आइतबारको दिन यो पर्व मनाउने परम्परा रहेको छ । यो पर्व दुई दिन मनाइन्छ । आज र भोलि यो पर्व विशेष संस्कार अनुसार मनाइन्छ ।

अट्वारी प्राय पुरुषले मात्र मनाउने चलन छ तर पछिल्लो समममा महिला र पुरुष दुबैले मनाउने गरेको देखिन्छ । अट्वारीमा व्रत बस्ने र महाभारतका पात्र भिवाँ (भीम) को पूजा गर्ने चलन छ ।

भिम अर्थात भीवाँले आइतबारको दिन दानबको आहार गरेर दानबलाई मारेर नयाँ जीवन पाएको तथा पञ्चपाण्डपहरु बनबास गएको बेलामा कयौं बिपत्तिहरुबाट उनले आफ्ना सबै भाईहरुको रक्षा गरेको किबदन्ती अनुसार भिमको भूमिकाको स्मरण गर्दै आपसमा सद्धभाव बढाउँदै अट्वारी मनाउने गरिएको छ ।

भिमले भाईहरुको रक्षार्थ हात्तीसँग लडेर हात्तीलाई मारेको, पाण्डवहरुलाई लाखको घरमा आगो लगाएर मार्ने बेलामा मणिकको खम्बा उखेलेर सबैलाई बचाएको, उर्बशी मेनकाको प्राप्तिका लागि छैठौं शताब्दीमा स्वर्गका राजा इन्द्र र थारु राजा दंगीशरण बिच युद्ध हुँदा दंगीशरण थारुले पाँच पाण्डवहरुसँग सहयोग माग्न जाँदा अन्य भाईहरुभन्दा भीमले सहयोग गरेको जस्ता किबदन्ती अनुसार भिमलाई आफ्नो भगवान मानेर बर्त गरेर अट्वारी मनाउने परम्परा रहेको पाइन्छ ।

त्यतिबेला दंगीशरण थारुले पाँच पाण्डवहरुसँग सहयोग माग्न जाँदा भीवाँले आफ्ना भाईहरुको लागि रोटी पकाई रहेको र रोटी पकाउँदा पकाउँदै लडाईमा गएको र त्यो रोटी एकातिरबाट मात्र पाकेको भन्ने किबदन्ती अनुसार अट्वारीमा पहिलो रोटी नपल्टाईकन एकातिरबाट मात्र पकाई त्यसलाई भीवाँको लागि राखिने चलन रहेको थारु समुदायका बुद्धहरु बताउँछन ।

अट्वारीको पहिलो दिनको रातमा भिन्सर्या (दर भात) खाने गरिन्छ । पहिलो दिन (आइतबार) दिउँसोको करिब २ बजेदेखि रोटी पकाउन शुरु गरिन्छ । रोटी पकाउनका लागि शुद्ध आगो (गन्यारी भन्ने काठ एक आपसमा रगडेर आगो निकालिन्छ) को प्रयोग गर्ने प्रचलन रहेको बुझिएको छ।

रोटी पकाउनका लागि प्रयोग गरिएको उक्त आगो सकेसम्म माघी पर्वसम्म जोगाई राख्ने चलन समेत थारु समुदायमा रहेकोछ । दिनभरिको व्रतपछि साँझको पाँच बजेपछि अट्वारीको परिकार खानुभन्दा पहिले आफ्नो दिदी बहिनीको लागि परिकारबाट केही भाग निकाल्ने र आगोको पूजा गरिसकेपछि मात्र खाने गरिन्छ ।

आज पाक्ने परिकारहरुमा रोटी, केरा, अम्बा, काँक्रो तथा त्यसमा आवश्यकता अनुसारका फलफुल र दही समेत हुन्छ । यसरी भोलिपट्ट अथार्त सोमबार बिहान नुहाएर पवँईको साग, सिल्टुंगको गेडा, केराऊ, तोरैं, कर्कलाको साग, रायोको साग तथा आवश्यकता अनुसार ३, ५ या ७ प्रकारको तरकारी बनाइन्छ ।

खाना तयार भएपछि सबै दाईभाईले आफ्नो चेलीबेटीको लागि अग्रासनका लागि आफ्नो अंशबाट केही भाग निकालेर मात्र खाने गर्दछन् । खाना खाई सकेपछि सोही दिन (सोमबार) विवाह भैसकेको दिदी बहिनीको घरमा अग्रासन दिन जाने परम्परा रहेको छ ।

यो पर्व एकता र बिजय तथा भातृत्वप्रेमको प्रतिकको रुपमा मनाइने गरिन्छ । साथै अट्वारी पर्व बल र सुरक्षाको रुपमा पनि मनाइने गरिन्छ । यसले थारुहरुको एक बिशिष्ट पहिचान र संस्कृतिको दर्शाउने गर्दछ ।