हरितालिका तीज, आज दरखाने दिनः के गर्ने के नगर्ने ? बढ्दो विकृति कसरी रोक्ने ? भिडियोमा हेर्नुहोस्

पर्वको सांस्कृतिक ऐतिहासिक पक्षको चर्चा

काठमाडौं । आज भाद्र शुक्ल द्वितीया अर्थात नेपाली महिलाहरुको महान पर्व तीजको पहिलो दिन । हरितालिका तीजको अवसरमा भोलि बर्त बस्ने सस्कार अनुसार आज दर खाने दिनका रुपमा मनाइदै छ ।

आजका दिन बिबाह भएका नारीहरु माइति घरमा, वा टोल छिमेकमा दिदी बहिनीहरु, आफ्न्तहरुसँग जम्मा भएर नाचगान गर्ने, दर खाने र दुख सुखका कुराकानीहरु गर्ने प्रचलन रहेको छ ।

तीज पर्व भाद्र शुक्ल द्वितीया अर्थात आजदेखि पञ्चमीसम्म (आईतबारसम्म) ४ दिन मनाउने गरिन्छ ।

तीजको अवसरमा बर्त बस्ने, शिव मन्दिरमा पूजा गर्ने र नाचगान गर्ने हुदाँ धार्मिक स्थलहरुमा भिडभाड समेत हुने गर्दथ्यो तर कोरोना संक्रमणले मानव समूदायलाई आक्रान्त पारेको वर्तमान अवस्थाले भने यो बर्षको तीज घर, टोलमा सिमित हुने देखिन्छ ।

तीजमा माइतीले आफ्नो चेलीलाई घरमा बोलाएर मीठा मीठा परिकार खुवाउने तथा मनका भावना एवम् सुखदुख साटासाट गरी एउटै ठाउँमा खाने बस्ने चलन छ।

तीजमा दर खाने दिनको समेत विशेष महत्व छ । आज दर खाने र भोलि बर्त बस्ने भएकाले यसलाई महत्वपूर्ण मानिन्छ ।

दर खाने दिनमा प्रायः ठाउँअनुसार विभिन्न मिठा मिठा परिकार साथै खीर, ढकने, सेलरोटी, केरा लगायतका खाना, फलफूल खाने प्रचलन नेपाली समाजमा रहेको छ ।

सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन छ। भोलिपल्ट दिनभर पानीसम्म पनि नखाई बस्नुपर्ने भएकोले दर खाने दिन राति ढिलासम्म बसेर पेटभरी खाने प्रचलन बनाइएको कतिपयको विश्लेषण समेत रहेको छ ।

तर आधुनिकता सँगसँगै मानिसका सोच, भावनाहरुमा समेत फरक आएपछि चाडपर्वहरु मनाउने कुरामा समेत त्यसले प्रभाव पार्दै आएको देखिन्छ । त्यसले दरखाने दिनमा खाइने परिकारमा समेत परिवर्तन ल्याएको देखिन्छ ।

पछिल्लो समय घरमा सपरिवार, आफ्न्तजन बसेर, खाने कुराहरु तयार गरेर दर खाने गरिएकोमा आधुनिकताको नाममा त्यसलाई विकृत बनाउने तथा बार, डिस्को, महंगा रेष्टुरामा वाईन लगाएतका पिए पदार्थको मातमा दर खाने चलन हावी हुँदै गएको समेत देखिन्छ ।

हिन्दू ग्रन्थहरुमा उल्लेख भएअनुसार हिमालय पुत्री पार्वतीले भगवान शिवलाई पाउनका लागि बर्तको सहारा लिएकी थिइन ।

आद्य शक्ति भगवान शिवकी अर्धाङ्गीनी पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो बर्त शुरु गरेको दिनलाई नेपाली महिलाहरुले हरितालिका तीजको रुपमा मनाउने प्रचलन रहेको पाइन्छ ।

तीज विशेष/फाईल तस्बिर

आधुनिक समाजमा तीजको महत्वलाई जुन रूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो।

सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात् आफ्नो श्रीमानको साथमा उसको घरमा बगएर जीवन बिताउनु पर्ने हुन्छ।

यसरी आफू जन्मेको घर, माता, पिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराईघरमा जीवन बिताउँदा आउने माइतिको यादलाई कमी गर्ने तथा सम्भव भएमा माईति जाने र नाच्ने, गाउने रमाउने एउटा अवसरको रूपमा तीज पर्वको गहन महत्व रहेको छ।

तीजमा पछिल्लो समय भित्रिएको पाश्चात्य संस्कारको प्रभाव वा विकृतिले भने ऐतिहासिक पक्षलाई संकटमा पार्दै गएको देखिन्छ ।

अतः तीज पर्वको ऐतिहासिकता जोगाउँदै कसरी तीज मनाउने, भड्किलो तीजको विकृति कसरी रोक्ने भन्ने विषयमा हामीले राष्ट्रिय कला, संस्कृतिको रक्षार्थ सामाजिक अभियानमा जुटेका राजानन्द माण्डव्यसँग हरपल विशेष संवाद गरेका छौं ।

प्रस्तुत छ, उहाँसँगको भिडियो कुराकानी….