जनकपुरबाट अटोमेटिक पेस्तोल र त्यसको म्याग्जिनसहित एक पक्राउ

पक्राउ परेका युवकमाथि गम्भीर अनुसन्धान हुँदै

धनुषा । जनकपुरबाट आज एक युवक अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने म्याग्जिनसहित पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार उनलाई चेकजाँच गर्ने क्रममा पेस्तोलसहित भेटेपछि पक्राउ गरिएको हो ।

प्रहरीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा मुखियापट्टी मुसरहनिया गाउँपालिका ३ का २१ वर्षीय सुजित यादव रहेका छन । यादवलाई प्रहरीले आज बिहान पेस्तोल सहित पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलिले उनलाई जनकपुर उपमहानगरपालिका १० को बाह्रबिघाबाट पक्राउ गरेको बुझिएको छ । प्रहरीले यादवमाथि संका गरेर उनी सवार ट्याम्पोमा कडा चेक जाँच गरेको थियो ।

पक्राउ परेका यादव आज बिहान ज १ ह ३१९२ नम्बरको ट्याम्पोमा यात्रा गरिरहेका थिए । उनको साथमा रहेको कालो रंगको झोलामा चिनी रहेको र चिनी भित्र उनले पेस्तोल लुकाई राखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

फेला परेको पेस्तोल अटोमेटिक भएको प्रहरीले बताएको छ । उक्त पेस्तोलमा ४.५ लेखिएको बताइएको छ । पेस्तोल र त्यसमा लागने म्याग्जिन एक थान समेत प्रहरीले बरामद गरेको बताएको छ ।

पक्राउ परेका यादवले उक्त पेस्तोल कहाँबाट, के प्रयोजनको लागि ल्याएका हुन भन्ने बारेमा भने अझै खुल्न सकेको छैन । प्रहरीले यादवलाई पक्राउ गरी त्यस विषयमा गहिरो अनुसन्धान गरिरहेको बताएको छ ।