समुदाय स्तरमा कोरोना भाइरस फैलदा आइतवार ३ दिनकालागि बाँके जिल्लाभरी निषेधज्ञा जारी

समुदायस्तरमा भाइरस फैलदा नेपालगन्जवासी त्रसित

बाँके । समुदाय स्तरमा एक्कासी संक्रमण बढेपछि कोरोना नियन्त्रण तथा ब्यवस्थापन समितिको आकस्मिक बैठकले आइतबारबाट लागु हुने गरी तीन दिनका लागि बाँके जिल्लाभर पूर्ण रुपमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी एवम् समितिका संयोजक राम बहादुर कुरुङवाङले समुदाय स्तर मै २८ जना ब्यक्तिमा कोरोना पोजिटिभ देखिए पछि समितिको बैठकले बाँके जिल्ला भर पूर्ण रुपमा निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको हो ।

‘बाँकेमा कोरोना भाइरस संक्रमितको संख्या क्रमशः घट्दै गइ रहेको अवस्थामा अचानक समुदाय स्तरमै फैलिए पछि निषेधाज्ञा जारी गर्नु परेको जनाउदै उहांले भने ‘संक्रमितको संख्या देखियो भने निषेधाज्ञा बढाउँदै लैजाने जनाए ।’

बिगत केही दिन अघि त्रिभुवन चोक क्षेत्रमा संकलन गरिएको स्वाव जाँच गर्दा फेला परेका नयाँ संक्रमित बिरामीहरुलाई लायन्स डेन्टल अस्पताल नेपालगञ्जको आइसोलेसन सेन्टरमा राखिएको छ ।

कोरोना संक्रमित निजामति कर्मचारी र उनीहरुका परिवारलाई आन्तरिक राजश्व कार्यालयलाई आइसोलेसन सेन्टर बनाएर राखिएको छ भने राजश्व कार्यालयको काम काज पूर्णरुपले बन्द गरेर आइसोलेसन सेन्टर स्थापना गरी कर्मचारी र उनीहरुका परिवारलाई त्यहाँ राखिएको छ ।

समुदायमा कोरोना संक्रमण फैलिएपछि नेपालगञ्जबासी फेरीपनि त्रसित भएका छन् । लामो समय पश्चात लकडाउन खुलेपछि आफ्नो नियमित कामकाजमा फर्केका नेपालगञ्जबासीलाई समुदाय स्तरमा कोरोना फैलिदाँ त्रसित बनाएको छ ।