रोजगारीको प्रलोभन देखाउँदै नेपाली महिलालाई भारतमा बन्धक बनाउने दुई जना पक्राउ

महिलाको भारतको दिल्लीबाट सकुशल उद्धार

काठमाडौं । कुवेत, साउदी र ईराकमा राम्रो रोजगारीको अवसर छ भन्दै प्रलोभनमा पारी भारतमा लगेर ६ महिलालाई बन्धक बनाएको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रधान कार्यालय मावन बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले मंगलबार उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सुनसरी धरान उपमहानगरपालिका ११ बस्ने खोटाङ राबाबेसी गाउँपालिका १ घर भएका ३९ वर्षीय पुष्प परियार र काठमाडौं महानगरपालिका २लाजिम्पाट बस्ने दाङ घोराही उपमहानगरपालिका ९ घर भएका ५६ वर्षीय प्रविन शबिन शाह रहेका छन् ।

उनीहरुले झापा, मोरङ र पर्बतबाट ६ जना महिलालाई प्रलोभनमा पार फागुन ३० गते नेपालगंज नाका हुँदै भारतको नयाँ दिल्ली पुर्‍याई एउटा घरमा बन्धक बनाएर शारीरिक तथा मानसिक यातना दिएका थिए ।

प्रहरीको अनुसन्धान ब्यूरो र शान्ति पूनर्स्थापना केन्द्र नयाँ दिल्ली समेतको सहयोगमा महिलाहरुको उद्धार गरी २०७७ आसार २१ गते काठमाडौं ल्याएर मनोपरामर्श पश्चात महिलाहरुलाई आफन्तको जिम्मा लगाइएको थियो ।

उक्त घटनामा संलग्न व्यक्तिहरुको खोजी गर्ने क्रममा व्यूरोबाट खटिएको प्रहरीले उनीहरुलाई मंगलबार पक्राउ गरेको हो । उनीहरुउपर थप अनुसन्धान भइरहेको व्यूरोले जनाएको छ ।