आन्तरिक राजश्व कार्यालय नेपालगञ्जलाई बनाइयो आइसोलेशन सेन्टर

अत्यावश्य बाहेक सवै सेवा बन्द गर्ने निर्णय

बाँके । आन्तरिक राजश्व कार्यालय नेपालगञ्जका अधिकृतमा कोरोना फेला परे पश्चात त्यस कार्यालयका अन्य कर्मचारीहरुलाई पनि चेकजाँच गर्दा धेरै कर्मचारीमा कोरोना देखिएपछि कार्यालयलाई नै आइसोलेशन सेन्टर बनाइएको छ ।

उक्त कार्यालयका ९ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै कार्यालयलाई नै आइसोलेशन सेन्टरका रुपमा प्रयोग गरिएको हो ।

एकैपटक धेरै कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिए पछि कार्यालयलाई आइसोलेशन सेन्टर बनाएर त्यहाँ अहिले १२ जनालाई राखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

रावश्व कार्यालयका ७ जना कर्मचारी र ५ जना नातेदार,जिल्ला अदालत र यातायात कार्यालयका १ जना कर्मचारीमा कोरोना देखा परेको छ ।

शुरुमा भेटिएका कोरोना भाइरस संक्रमित एक जना अधिकृतलाई भने खजुरा क्यान्सर अस्पतालमा राखिएको छ ।

यसैगरी जिल्ला अदालत बाँकेका एक जना कर्मचारी कोरोना संक्रमित भेटिएपछि शुक्रवार अदालतले एक सूचना सार्वजनिक गर्दै अदालतले दिदै आएको सेवाहरु समेत बन्द गरेको जनाएको छ ।

कर्मचारीमा कोरोना भाइरस देखिएपछि जिल्ला तथा उच्च वार, अदालत परिवारसमेतको शुक्रवार बिहान आकस्मिक बैठक बसेको थियो ।

बैठकले शुक्रवार देखि अन्तिम म्याद भएका थुनछेक,म्याद थप,कलडिटेल,अति जरूरी पक्राउ पुर्जी बाहेक अन्य सबै सेवा बन्द गर्ने निर्णय गरेको अदालतद्धारा जारी सूचनामा उल्लेख छ ।

बाँकेमा एकै दिन ३० जनामा कोरोना भाइरसका संक्रमित व्यक्ति फेला परे पश्चात बिगत केही दिन अघि नै बन्द गरि सकिएको लायन्स डेन्टल अस्पताललाई पुनःआइसोलेशन अस्पतालको रुपमा संचालनमा ल्याइएको हो भने नेपालगन्जको आदर्शनगर र खजुराको क्यान्सर अस्पताल संचालन मै रहेको श्रोतबाट जानकारी हुन आएको हो ।

नेपालगन्जमा ३ र खजुराका गरी ५४ जना कोरोना संक्रमितका बिरामीहरुलाई राखिएको छ भने बाँकेमा १ सय १६ जना बिरामीहरु क्वारेन्टाइनमा रहेका छन । यो संगै कोरोना बिरामीहरुको संख्या भने ४ सय ३७ पुगेको श्रेष्ठले समाचारदातासंग फोनबार्ताको क्रममा बताए ।