आज थप २२४ जनामा कोरोनाभाइरस सङ्क्रमण

संक्रमित संख्या बढ्दो

काठमाडौं । नेपालमा एकै दिन कोरोनाभाइरस सङ्क्रमणबाट चार जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रवार अपराह्ण जानकारी दिएको छ।

यससँगै अहिलेसम्म ५६ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ। साथै शुक्रवार विभिन्न जिल्लामा थप २२४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन्।

यससँगै हालसम्म पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १९,७७१ पुगेको छ। सङ्क्रमितको सङ्ख्यासँगै निको हुनेको सङ्ख्या पनि बढिरहेको छ।

विगत २४ घण्टामा १५१ जना निको भएसँगै अहिलेसम्म १४,३९९ जना रोगमुक्त भएका छन्। मन्त्रालयको तथ्याङ्कअनुसार अहिले सक्रिय सङ्क्रमण भएका कुल ५,३१६ व्यक्ति देशभरि छन्।

शुक्रवार मन्त्रालयले मृत्यु पुष्टि गरेका तीन जना पर्सा जिल्ला निवासी पुरुष र एक जना पर्सा घर भई ललितपुरमा बसोवास गरिरहेकी महिला भएको डा। गौतमले जनाए।

वीरगञ्ज नगरपालिकाका ५६ वर्षीय पुरुषको सघन उपचार कक्षमा भेन्टीलेटरमा उपचारको क्रममा गण्डक अस्थायी कोरोना अस्पतालमा बिहीवार राति मृत्यु भएको हो। उनलाई मुटुको समस्या रहेको बताइएको छ।

अर्का ३५ वर्षीय पुरुषको पनि बिहीवार बेलुकी निधन भएको हो भने ६५ वर्षीय पुरुषको बिहीवार बिहान निधन भएको हो।

बिहीवार निधन भएको पुरुषको मृत्युपश्चात् गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएको डा. गौतमले बताए।ललितपुर बस्दै आएकी ६५ वर्षीया महिलाको भने पाटन अस्पतालमा शुक्रवार बिहान निधन भएको हो।

उनी १० दिन अगाडिदेखि उपचाररत रहेको र मधुमेहको बिरामी रहेको बताइएको छ। पर्सामा शुक्रवार थप ४१ जनामा सङ्क्रमण पुष्टि भएको छ।

काठमाण्डौं उपत्यकामा हालसम्म कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या ५२७ पुगेको छ। शुक्रवार काठमाण्डौंमा ३२ जना, ललितपुरमा पाँच जना र भक्तपुरमा एक जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको हो।

कुल सङ्क्रमितको सङ्ख्या काठमाण्डौंमा ४२२ जना, ललितपुरमा ९६ जना र भक्तपुरमा ५६ जना पुगेको छ।
सङ्क्रमितमध्ये छ जनाको मृत्यु भएको छ।

डा. गौतमले भने, ‘काठमाण्डौंमा सङ्क्रमितको सङ्ख्या बढिरहेको छ। हामीले जारी गरेको निर्देशिकाहरू राम्ररी पालना भएको छैन, यसले दुर्घटना निम्त्याउन सक्छ।’

विगत २४ घण्टामा पीसीआर विधिबाट १०,७६८ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ। कुल पीसीआर परीक्षणको सङ्ख्या ३,७५,४१६ रहेको छ।

अहिले देशभरिका क्वारन्टीनमा १२,००० भन्दा बढी मानिस क्वारन्टीनमा छन्। बीबीसीबाट