देशका विभिन्न स्थानमा आज पनि बर्षाको सम्भावनाः बाढी, पहिरो र डुबानबाट सतर्क रहन अनुरोध आग्रह

उद्धार, राहत र व्यवस्थापनको कार्य जारी

बर्दिया । केही दिनदेखिको निरन्तर बर्षाको अवस्था आजपनि जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आजपनि बर्षात भएमा देशका विभिन्न स्थानमा डुबान, बाढी, पहिरोको खतरा हुन सक्नेप्रति नागरिकहरुलाई सतर्क रहन आग्रह समेत गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार (आज) सम्म देशका अधिकांश स्थानमा सामान्य तथा मध्यम बर्षा हुने सम्भावना रहेको छ । आज दिउँसो धेरै स्थानमा सामान्य बदली हुने महाशाखाको अनुमान रहेको छ ।

अहिले पनि देशका विभिन्न ठाउँमा मध्यमस्तरको वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । न्यून चापीय रेखा नजिक भएसँगै नेपालमा केही दिनदेखि निरन्तर बर्षा भैरहेको बताइएको छ ।

आज मुलुकका धेरैजसो स्थानमा हल्का वर्षाको सम्भावना रहेपनि प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशहरूका केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको भन्दै मौषम पूवाृनुमान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

त्यस्तै निरन्तरको वर्षाको कारण नदि, नालाहरुमा पानीको वहाव बढ्दा मुलुककका कतिपय स्थानहरु बाढी, पहिरो र डुबानको समस्यामा परेका छन । बाढी, पहिरो र डुबानका कारण नागरिकको जनजीवन प्रभावित हुनुका साथै धनमाल समेतमा नोक्सान भएको छ ।

बर्षात र डुबान, पहिरोका कारण ठाउँ ठाउँमा मानविय क्षति भएको खबरहरु समेत आइरहेका छन । कतिपय स्थानमा अझै उद्धार र व्यवस्थापनको काम समेत उचित ढंगले गर्न सकिएको छैन ।

त्यस्तै निरन्तरको बर्षातले कर्णाली र बबई नदीमा पानी बढेसँगै बर्दियाका ५०० घर डुबानमा परेका छन् । तीन दिनदेखि अविरल वर्षा भएकाले यहाँका बासिन्दा रातभर त्रासमा बस्दै आएको बुझिएको छ।

बर्दियाको राजापुर क्षेत्रका ४०० घर डुबानमा परेका छन् । त्यहाँबाट धेरै मानिसहरु विस्थापित भएका छन् । कतिपय अझै समस्यामा रहेको र उनिहरुको उद्धार राहतको काम हुन नसकेको समेत बुझिएको छ ।

बर्दियाका नदीहरुमा बाढी आएपछि ठाकुरबाबा नगरपालिका वडा नं ७ बठनपुरलगायतका अन्य क्षेत्रहरु समेत डुबानमा परेको बताइएको छ । त्यहाँका करिब २५ घरपरिवार विस्थापित भएको खबर छ ।

बर्दिया, कैलाली, कञ्चनपुर, धादिङ, तनहुँ लगायतका जिल्लामा निरन्तरको वर्षापछि बाढी पहिरो र डुबानले सयौँ घरपरिवार प्रभावित भएका छन् । देशभर बाढी, पहिरो र डुबानका कारण दर्जभन्दा बढीको मृत्यु तथा धेरै संख्यामा घरबार विहिन अवस्थामा पुगेका छन ।

त्यस्तै कैलालीको मोहाना, खुटिया, कान्द्रा लगायतका साना खोलाहरुमा आएको बाढीको कारण स्थानीयहरु समस्यामा परेका छन । कैलालीका विभिन्न क्षेत्रहरु डुबानमा परेका छन । त्यहाँ उद्धार र नागरिकको व्यवस्थापनको काम भैरहेको बताइएको छ ।

त्यस्तै कास्कीको पोखरा र गोरखाको बारपाक लगायतका क्षेत्रमा पनि वर्षाका कारण पहिरो, बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

त्यस्तै रुपन्देहीको तिनाउ खोलामा पानीको बहाव बढेसँग बाढीको खतरालाई ध्यान दिदै त्यहाँका स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा रहन सूचना गरिएको छ र त्यहाँ उद्धारका लागि सुरक्षा निकायलाई अलर्ट राखिएको छ ।

देशभर बाढी पहिरो र डुबानको समस्या हुन सक्ने र आज पनि बर्षातको सम्भावना रहेको भन्दै मौषम विभागले त्यसबाट हुन सक्ने समस्याबाट जोगिन तथा सतर्क रहन आग्रह गरेको छ ।