मङ्गल ग्रहमा नासाको अन्तरिक्ष यानः जीवको उत्पत्तिबारे अनुसन्धान, विस्तृतमा हेर्नुहोस्

मंगल ग्रहको रहस्योद्घाटन गर्न सफल हुने विज्ञहरुको दाबी

अमेरिका । अमेरिकी अन्तरिक्ष निकाय नासाको स्वचालित यान रोभर पर्सभीरन्सले मङ्गल ग्रहमा जीवनको अस्तित्वको सङ्केत खोज्न प्राचीन ताल भएको एउटा खाल्डोमा अन्वेषण गर्नेछ।

यदि मङ्गलमा कुनै जीवको उत्पत्ति भएको रहेछ भने पनि वैज्ञानिकहरूले कसरी त्यसको पहिचान गर्लान् सहायक परियोजना वैज्ञानिक केन विलिफर्डले यो विषयलाई आफूहरूले कसरी हेरिरहेका छन् भनेर यहाँ चर्चा गरेका छन्।

अहिले मङ्गल ग्रह जीवनका लागि प्रतिकूल छ। सतहमा तरल अवस्थामा रहिरहन पानीको निम्ति त्यहाँ निकै चिसो छ र पातलो वायुमण्डलले विकिरणको उच्च तहमार्फत् सम्भवतः माटोको उपल्लो तहलाई स्वच्छ बनाउन दिन्छ।

तर पहिला त्यस्तो थिएन। झन्डै ३.५ अर्ब वर्षअघि पानी सतहमा बग्थ्यो। त्यहाँ पानी बगेको स्थानमा अहिले पनि धर्सा छन्। कार्बन डाईअक्साईडको बाक्लो वायुमण्डलले थप खतरनाक विकिरण रोक्न सक्थ्यो।

पानी जीवनका लागि महत्त्वपूर्ण अवयव हो। त्यसैले पानीको उपस्थितले प्राचीन मङ्गलग्रहमा जीवनको अस्तित्व भएको हुनसक्ने सङ्केत गर्छ।

सन् १९७० को दशकमा भाइकिङ मिशनहरूले मङ्गलको माटोमा सूक्ष्मजीव भए नभएको खोज्न प्रयोगहरू गरेका थिए। तर तिनको परिणामबाट कुनै निष्कर्ष आउन सकेन।

सन् २००० को दशकको प्रारम्भमा अमेरिकी अन्तरिक्ष निकाय नासाको एक्सप्लरेशन रोभरहरूलाई पानी खोज्न प्रयोग गरियो।अपर्च्यूनिटी एन्ड स्पिरिट यानले विगतमा तरल पानीको अस्तित्व रहेको ठोस भौगर्भिक प्रमाण फेला पार्‍यो।

पहिला गरिएका अन्वेषणहरूले मङ्गल ग्रहमा प्राचीन कालमा जीवनोपयोगी तत्त्वहरू भएको पत्ता लगाएका थिए । सन् २०१२ मा अवतरण गरेको क्यूरीअसिटी रोभरले एउटा ताल फेला पारेको थियो।

उक्त यान गेल क्रेटर नामक खाल्डोमा अवतरण गरेको थियो जहाँ पहिला जीवनोपयोगी तत्त्व भएको विश्वास गरिन्छ।

उक्त यानले कार्बनयुक्त अणुहरू पनि पत्ता लगाएको थियो। अब पर्सभीरन्स रोभरले जैविक तत्त्व परीक्षण गर्न बनाइएका उपकरण प्रयोग गरेर उस्तै पर्यावरणमा अन्वेषण गर्नेछ।

क्यालिफोर्नियास्थित नासाको जेट प्रपल्शन लबरटरी (जपीएल) को उक्त परियोजनामा संलग्न वैज्ञानिक केन विलिफर्ड भन्छन्, भाइकिङपछि नासाको यो पहिलो अभियान हो। उनका भनाइमा भाइकिङ विद्यमान जीवनको खोजीको निम्ति थियो।

उनी भन्छन्, तर पछिल्लो समयमा नासाको उद्देश्य प्राचीन वातावरणको खोजी हो। किनकि हामीसँग भएका डेटाले ग्रहको सुरुको इतिहासले पहिलो अर्ब वर्षका बेला मङ्गल ग्रह आवासीय रूपमा निकै उपयुक्त रहेको जनाएको देखाउँछ।

त्यो यानले उक्त ग्रहको चट्टानमा प्वाल पार्नेछ। त्यहाँबाट मुख्य अंश निकाल्नेछ अनि कन्टेनर र सतहमा राखिदिनेछ। त्यसलाई पछि पठाइने अर्को यानले ती नमुना सङ्कलन गर्नेछ।

मङ्गलको कक्षमा त्यसलाई विस्फोट गरिनेछ र विश्लेषणको निम्ति पृथ्वीमा पुर्‍याइनेछ। मार्स स्याम्पल रिटर्न भनिने यी कार्यहरू युरोपियन स्पेस एजेन्सी (ईएसए) सँगको सहकार्यमा गरिँदैछ। तर रोभरले पनि सतहमा विज्ञानका थुप्रै काम गर्नेछ।

‘त्यहाँ पश्चिमबाट बग्ने एउटा नदीको डोब छ, खाल्डोको डिल छेड्दै गरेको। अनि खाल्डोभित्र नदीको मुखैमा एउटा सुन्दर त्रिवेणी देखिन्छ। त्यसकै अगाडि अवतरण गर्ने र अन्वेषण थाल्ने हाम्रो लक्ष्य हो’, डा. विलिफर्डले भने।

उक्त त्रिवेणीमा पश्चिमोत्तरबाट पानीढलोसहित अझ माथिबाट चट्टानका बलौटे कणहरू मिसिन्छन्। त्यहाँ कार्बोनेटयुक्त संरचनाको परीक्षण हुनेछ।

शेर्लक नामक एउटा उपकरणले चट्टानको नजिकबाट तस्बिर खिच्नेछ र प्राङ्गारिक र खनिज पदार्थको अस्तित्वको विस्तृत नक्सा बनाउनेछ।

पिक्सल नामको अर्को उपकरणले त्यही क्षेत्रको रसायन वा तत्त्वको समीकरणबारे विस्तृत जानकारी वैज्ञानिकहरूलाई दिनेछ।

तर मङ्ल सजिलै आफ्नो रहस्योद्घाटन गर्नेछैन। सन् २०१९ मा वैज्ञानिकहरूले पृथ्वीमा ३.४८ अर्ब वर्षअघि बनेका खनिज चट्टानका पत्रहरूसँग अभ्यस्त हुन अस्ट्रेलियाको पिल्बरा क्षेत्रको भ्रमण गरेका थिए।

केन विलिफर्ड भन्छन्, ‘हामीले पिल्बरा गएको बेलाभन्दा पनि मङ्गलग्रहमा कठिन परीक्षण गर्नुपर्नेछ। उक्त क्षेत्रको त नक्साङ्कन र ज्ञान दशकौँदेखि कैयौँ भूगर्भविद्हरूमार्फत् हामीलाई छ।’

मङ्गलमा भने आफूहरू पहिलो हुने उनी बताउँछन्। पृथ्वीमा हामीले प्रत्येक अंशमा रहेको खनिज कणको मात्रा पत्ता लगाउन सक्छौँ।

तर त्यसो गर्न वैज्ञानिकहरूले चट्टानलाई पत्रपत्रमा टुक्र्याउनुपर्छ, धूलो बनाएर अध्ययन गर्नुपर्छ। रोभरले त्यसो गर्न सक्दैन।

यदि यो अभियानको अन्त्यसम्ममा जीवन अस्तित्वमा रहेको सङ्केत नदेखिए पनि खोज सकिनेछैन। पृथ्वी ल्याइने नमुनाहरूमा अन्वेषण केन्द्रित हुनेछ।

साहसी पर्सभीरन्सको प्रतीक्षाको परिणाम जे भए पनि हामी पृथ्वीको नजिकको छिमेकीलाई बुझ्ने नयाँ चरणको सँघारमा छौँ। बीबीसीबाट