भ्रष्टाचारमा लिप्त सरकार र प्रशासन विरुद्ध कपिलवस्तुमा नागरिक जागरण अभियान

सरकारलाई अराजकताको संज्ञाः भ्रष्टाचार रोक्न खबदारी

कपिलवस्तु । नागरिक सरोकारका पक्षमा सरकार जवाफदेही नभएको, सरकारी निकायलाई भ्रष्टाचारको अखडामा परिणत गरेको जस्ता कारण देखाउँदै कपिलवस्तुका विभिन्न स्थानीय निकायहरुमा नागरिकहरुले जनचेतनामूलक अभियान सञ्चालन गरिरहेका छन ।

स्थानीय सरकार र प्रशासन भ्रष्टाचारमा लिप्त भएको भन्दै सर्वसाधरण नागरिक, बुद्दिजीवि तथा सामाजिक अगुवाहरुले ‘भ्रष्टाचार विरुद्ध रिले अनशन तथा जागरण अभियान’ सञ्चालन गरेका हुन ।

पछिल्लो समय कोरोना संक्रमणमा स्वास्थ्य सतर्कताका हिसावले नागरिकहरु घरमा केन्द्रीत भएको मौकाछोपी स्थानीय सरकार र प्रशासनले आन्तरिक रुपमा गोप्य बैठक, ठेक्कापट्टा, कर्मचारी नियुक्ति, सरुवा घटुवा, बिदाई तथा अन्य सामानहरुको खरिद, बिक्रि जस्ता काम देखाउँदै व्यापक भ्रष्टाचार गरेको भन्दै देशभरबाट नागरिकहरुको विरोधजनाइरहेको बेला कपिलवस्तुमा भने अभियान नै सञ्चालन गरिएको छ ।

कपिलवस्तुको यशोधरा गाउँपालिका विभिन्न क्षेत्रमा उक्त अभियान ‘स्टप क्रप्शन’ को नारा सहित अघि बढेको छ । यहि १३ गतेदेखि नागरिक तहबाट सञ्चालन गरिएको उक्त अभियान अहिले निरन्तर अगाडि बढेको अभियन्ताहरु बताउँछन ।

उक्त अभियान अन्तर्गत यहि १६ गते यशोधरा गाउँपालिकाको वडा नम्बर ७ स्थित मर्यादपुर चोकमा जागरण कार्यक्रम गर्ने तयारी भैरहेको समेत अभियन्ताहरुबाट बुझिएको छ ।

स्थानीय नागरिकहरुले गाउँपालिकाको सरकारी सवारी साधनको दुरुपयोग भएको, हरेक योजना तथा कार्यक्रममा कमिसनको चलखेल रहेको, कर्मचारी भर्ना प्रक्रिया नमिलेको, बजेट सर्बजनिक नगरेको, सुचना माग्दा नपाएको जस्ता कारणहरु देखाउँदै स्थानीय सरकार भ्रष्टाचारमा लिप्त रहेको दावी गरेका छन ।

हरेक नेपाली नागरिकले कुनै पनि विकास योजनाको सुचना पाउने अधिकार ‘सुचना हकसम्बन्धी ऐन २०६४ दफा ३ बमोजिम’ भए पनि समयमा स्थानीय सरकारले समयमा सूचना समेत नदिएको उनीहरु बताउँछन ।

स्थानीय सरकारको अजवाफ देहीता तथा अपारदर्शीताले सरकार नै अराजकतामा गएको संकेत गरेको भन्दै उनीहरु अभियान मार्फत खबरदारी गर्न बाध्य भएको बताउँछन ।

स्थानीय सरकार नागरिक भावनाको विपरीत ढंगले अगाडी बढेको र त्यसमा जनप्रतिनीधिहरुको मनोमानीले प्रभाव पारेको भन्दै त्यस्ता अराजक, प्रकृया विरोधी, भ्रष्टचार प्रवृति रोक्नका लागि स्थानीय सरकार, प्रशासनलाई सावधान गराउँदै नागरिक तहबाट उक्त अभियान सञ्चालन गरिएको अभियन्ताहरु बताउँछन ।

उक्त अभियानमा स्थानीय पत्रकार, सामाजिक अगुवा, बुद्दिजीवि र आम नागरिकहरुको सक्रिय सहभागिता रहेको छ । अभियान भ्रष्टाचारी निर्मुल पार्ने लक्ष्य सहित अघि बढाइएको छ ।