माओेवादी केन्द्रद्धारा क्रान्तिकारी कम्युनिष्ट नेता बर्मन बुढामगरप्रति श्रद्धाञ्जली अर्पणः वक्तव्यको पूर्णपाठसहित

सामान्तवाद विरुद्धका अथक योद्धाः सम्मान सहित लाल–सलाम

काठमाडौं । रोल्पाका क्रान्तिकारी कम्युनिष्ट नेता बर्मन बुढामगरको आज उपचारका क्रममा भएको निधन प्रति नेकपा (माओवादी केन्द्र) ले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परीवारजनमा समवेदना व्यक्त गरेको छ ।

आफ्नो जीवनको करिब ६ दशक सामाजिक व्यवस्था रुपान्तरणको राजनीतिक आन्दोलनमा बिताएका बुढामगरको निधनले कम्युनिष्ट आन्दोलनमा क्षति भएको उल्लेख गर्दै आज माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिले शोक वक्तव्य जारी गरेको हो ।

माओवादी केन्द्रका उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज रंगनाथ ढकाल र प्रदेश संयोजक लोकेशको संयुक्त हस्ताक्षरमा जारी गरिएको उक्त शोक वक्तव्यमा नेता बुढामगरको क्यान्सरका कारण असामयिक निधन भएको प्रति समग्र पार्टी स्तब्ध भएको बताइएको छ ।

वक्तव्यमा भनिएको छ–‘सामन्तवाद विरुद्धको आन्दोलनका अथक योद्धा, नेपाली कम्युनिष्ट आन्दोलनका इमान्दार, त्यागी र संघर्षशिल नेता, रोल्पाको थवाङ निवासी कम्रेड बर्मन बुढामगरको असामयिक निधनको खबरले हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समिति अत्यन्त मर्माहत र स्तब्ध भएको छ ।’

विज्ञप्तीमा अगाडी भनिएको छ–‘जनन्यायीक व्यवस्था स्थापनार्थ डटेर पश्चिम नेपालको रोल्पाबाट कम्युनिष्ट आन्दोलनको झण्डा फहराउने अग्रज व्यक्तित्व, विभिन्न भूमिकाबाट कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याउँदै आउनुभएका कम्रेड बर्मन बुढामगरको आज निधन भएको छ । यसले समग्र कम्युनिष्ट आन्दोलनमा क्षति भएको छ ।’

उहाँले कम्युनिष्ट आन्दोलनमा खेलेको भूमिकाको चर्चा गर्दै विज्ञप्तीमा भनिएको छ–‘उहाँ रोल्पाली जनताका साथै पश्चिम नेपालको मुक्ति आन्दोलनका अभिभावक समेत हुनुहुन्छ । उहाँले सामाजिक दलाल सत्ताँ विरुद्ध जनताको मुक्ति र अधिकारका लागि निरन्तर संघर्षमा आफ्नो जीवनको अमूल्य समय जो दिनुभएको छ, हाम्रो पार्टी उहाँको योगदान र संघर्षप्रति स–सम्मान लालसलाम गर्दछ, साथैं उहाँले देखाएको न्याय र समानताको लागि मुक्ति आन्दोलनको बाटोमा निरन्तर वर्गसंघर्षको नेतृत्व गर्दै अघि बढ्ने विश्वास दिलाउन चाहन्छ ।’

कम्युनिष्ट आन्दोलनमा एक असल, इमान्दर र त्यागी नेता गुमाउनु पर्दा अत्यन्त पीडाको अनुभूति गरिरहेको जनाउँदै माओवादी केन्द्रले बर्मन बुढामगरप्रति लाल–सलामसहित भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गरेको छ । साथै उहाँको शोकाकुल परिवारजन, आफ्न्त र सुभेच्छुकजन सबैमा परेको दुःखप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।

बुढामगरले देखेको समानतामूलक सामाजिक व्यवस्था स्थापनार्थको आन्दोलनलाई आफ्नो पार्टीले निरन्तर अघि बढाउँने विश्वास दिलाउँदै माओवादी केन्द्रले संघर्षको हरेक प्रकृयामा नेतृत्वदायी भूमिका खेल्ने प्रतिबद्धता समेत जाहेर गरेको छ । बाँकी शोकवक्तव्यको पूर्णपाठ यस्तो छ ….

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
सुदूरपश्चिम प्रदेश समिति

शोक–वक्तव्य

कम्रेड बर्मन बुढामगरप्रति भावपूर्ण श्रद्धाञ्जली !

सामन्तवाद विरुद्धको आन्दोलनका अथक योद्धा, नेपाली कम्युनिष्ट आन्दोलनका इमान्दार, त्यागी र संघर्षशिल नेता, रोल्पाको थवाङ निवासी कम्रेड बर्मन बुढामगरको असामयिक निधनको खबरले हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समिति अत्यन्त मर्माहत र स्तब्ध भएको छ । जनन्यायीक व्यवस्था स्थापनार्थ डटेर पश्चिम नेपालको रोल्पाबाट कम्युनिष्ट आन्दोलनको झण्डा फहराउने अग्रज व्यक्तित्व, विभिन्न भूमिकाबाट कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण योगदा न पुर्याउँदै आउनुभएका कम्रेड बर्मन बुढामगरको आज निधन भएको छ ।

उहाँ रोल्पाली जनताका साथै पश्चिम नेपालको मुक्ति आन्दोलनका अभिभावक समेत हुनुहुन्छ । उहाँले सामाजिक दलाल सत्ताँ विरुद्ध जनताको मुक्ति र अधिकारका लागि निरन्तर संघर्षमा आफ्नो जीवनको अमूल्य समय जो दिनुभएको छ, हाम्रो पार्टी उहाँको योगदान र संघर्षप्रति स–सम्मान लालसलाम गर्दछ, साथैं उहाँले देखाएको न्याय र समानताको लागि मुक्ति आन्दोलनको बाटोमा निरन्तर वर्गसंघर्षको नेतृत्व गर्दै अघि बढ्ने विश्वास दिलाउन चाहन्छ ।

उहाँ रोल्पाको थवाङमा वि.स. १९८७ मा जन्मनुभएको थियो । आफ्नो जीवनकालको करिब ६ दशक उहाँले कम्युनिष्ट आन्दोलनमा विभिन्न भूमिका निर्वाह गर्दै योगदान गर्नुभएको छ । उहाँ वि.स. २०१२ देखि कम्युनिष्ट आन्दोलनमा जोडिनुभएको थियो । विस २०४८ सालमा भएको निर्वाचनमा उहाँ तत्कालिन संयुक्त जनमोर्चाबाट रोल्पाको क्षेत्र नम्बर १ को जननिर्वाचित संसद समेत हुनुहुन्छ । संयुक्त जनमोर्चाले त्यतिबेला ९ संसद जितेकोमा त्यसमध्ये उहाँ एक हुनुहुन्छ ।

पछिल्लो केही समयदेखि क्यान्सर रोगबाट उहाँ पीडित हुनुभको थियो । उहाँको उपचारकोको क्रममा आज बिहान करिब ४ बजे ललितपुरस्थित पाटन अस्पतालमा ९० बर्षको उमेरमा निधन भएको हो । हामीले कम्युनिष्ट आन्दोलनमा एक असल, इमान्दर र त्यागी नेता गुमाउनु पर्दा अत्यन्त पीडाको अनुभूति गरिरहेका छौं । हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम समिति कम्रेड बर्मन बुढामगरप्रति लाल–सलामसहित भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दछ र उहाँको शोकाकुल परिवारजन, आफ्न्त र सुभेच्छुकजन सबैमा परेको दुःखप्रति गहिरो समवेदना व्यक्त गर्दछ । लाल–सलाम सहित !

मितिः २०७७ असार ७ गते ।

…………                                                                            …………..
क. लोकेश                                                                    क. रंगनाथ ढकाल
प्रदेश संयोजक                                                         उपाध्यक्ष एवं प्रदेश इन्चार्ज