मानवताका लागि विश्वका अर्बपतिहरूको भूमिका र नेपालीहरुको प्रवृति

आय अनुसार कर वृद्धि घोषणा आवश्यक

भरत पोखरेल

अस्ति सोमबार जुलाई १३, २०२० मा ८३ जना अर्बपतिहरूले आफ्ना सरकारलाई अर्बपतिहरूको कर बढाउन निवेदन गरेका छन् । निवेदन गर्नेमा बेलायतका ७, जर्मनीका ५, क्यानाडाका ३, डेनमार्कका ३, न्युजील्यान्डका २, नेदरल्यान्डसका २ र बाँकि सबै अमेरिकी अर्बपतिहरू रहेका छन् । कोरोनाले स्वास्थ्य, शिक्षा र सुरक्षामा चुनौति रहेकाले यही समय कर बढाउने ठीक समय हो पनि भनेका छन् । उनीहरूको तर्क अनुसार दानदक्षिणाले समस्या समाधान हुँदैन तसर्थ धनीहरूको कर वृद्धि गर्नु नै उत्तम उपाय हो भन्ने उनीहरूको ठहर छ ।

अमेरिकामा एक करोडभन्दा बढी अर्बपतिहरू (मिलियनरिज) छन् जसमा २०० राष्ट्रप्रेमी अर्बपतिहरू मात्र यो मानवीय अभियानमा सामेल हुन सक्ने क्यालिफोर्नियाका अर्थशास्त्री कारेन सिल स्टेवार्टको भनाइ छ । मानवताका लागि अर्बपतिहरूको वक्तव्यमा भनिएको छः विश्वका नागरिक साथीहरू कोभिड–१९ ले विश्वमा हाहाकार मच्चाएकाले हाम्रा जिम्मेबारी बढेका छन् । अफसोच हामी विरामीलाई सघन वार्डमा लान सक्तैनौं, एम्बुलेन्समा विरामी अस्पताल पुर्याउन सक्तैनौं, ग्रोसरीका खाली भण्डार भर्न सक्तैनौं अथवा खानेकुरा घरघर पुर्याउन सक्तैनौं तर हामीसँग पैसा छ, थुप्रै पैसा छ । यो विपत्तिबाट बाँच्न पैसा चाहिन्छ अहिले र भविष्यमा पनि । आज हामी तपसिलका अर्बपतिहरू हाम्रा सरकारहरूलाई हामी जस्ताको कर तुरुन्त, दिगो र स्थायी रूपमा बढाउन अनुरोध गर्दछौं ।

स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले एक महिना अगाडि नै धनीहरूको कर बढाउने संकेत गरिसकेका छन्, रुसले धनीहरूको कर बढाउने घोषणा गरिसकेको छ । साउदी अबेबियाले कोरोना राहत भनेर बिक्रीकर वृद्धि गरिसकेको छ । नेपालमा धनीहरूको संस्था नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन साउन महिनाको अन्तिम सातातिर हुँदै छ । रामलाल, हुलासचन्द, हँसराज, दिवाकर गोल्छाका विरासत पाएका हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा आगामी अध्यक्ष हुन भने वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान र चन्द्रप्रसाद ढकालको प्रतिस्पर्धा देखिन्छ ।

यिनीहरूको आगामी कार्यक्रम वर्तमान अध्यक्ष भवानी राणाको जस्तै हो भने नेपाली जनता अझ बढी महँगीको मारमा पर्नेछन् । भवानी राणाले बजेटको पूर्वसन्ध्यामा सरकारसँग विशेष छुटको घुर्की लाएर सडकमा ओर्लन्छौं भनेको हामीले विर्सेका छैनौं । नेपालका व्यापारी उद्योगपतिहरूले कोरोना संकटको बेला ठोस केही सहयोग गरेको देखिएन । नेपालीहरूको आय अनुसार कर वृद्धि गर्ने घोषणापत्र ल्याउने बेला भएन र ?

(लेखक पोखरेल त्रिविमा कार्यरत छन । उनी समयसान्दर्भिक विविष पक्षमा कलम चलाउने गर्दछन् ।)