अन्तराष्ट्रिय व्यापार व्यवधानमा भारत किन परेशान !

चिनियाँ सामानहरूको बढ्दो प्रभाव

भरत पोखरेल

चौधरी चरण सिंह सन १९७९ जुलाईदेखि १९८० जनबरीसम्म ६ महिना भारतका प्रधानमन्त्री रहे । किसान छविका चरण सिंहले आफ्नो कार्यकालमा भारतमा कोकाकोला प्रतिबन्ध गरेर निकै वाहवाही लुटेका थिए तर कोकाकोला कम्पनीले भारतमा कोकाकोला प्रतिबन्धले उसको बिक्रीमा ०.१ प्रतिशतमात्र फरक परेको बताएको थियो । लद्दाख गलवानमा जून १५/१६, २०२० को घटनापछि भारतमा ५९ चिनियाँ याप्सहरू प्रतिबन्ध गर्दा चीन–भारत व्यापारमा परेको असरको हिसाब हुँदै होला । संघीय सरकारको चाहना विपरित लोकललाई भोकल देखाउन चिनियाँ सस्ता सामानहरू भारतका केही सहरहरूमा जलाइएको भारतीय मिडियाहरूले देखाइरहेका छन् । चिनियाँ खेलौना, पुराना मोबाइल, बिग्रेका टिभि जलाइएको दृश्य दैनिकजसो देखिने गरेको छ ।

भारतका जनताहरूको प्रश्न छ गुजरातमा ४३० मिलियन अमेरिकी डलर खर्चेर ठडाइएको सरदार पटेलको १८२ मिटरको एकता प्रतिमाका सबै सामान चीनबाट ल्याएर निर्माण भएको हो त्यो कहिले भत्काइन्छ ? भारत व्यापारको मामिलामा चीनसँग नेपाल भारतसँग निर्भर रहेजस्तै छ । चीनका डेढदर्जन कम्पनीहरूको भारतमा ठूलो लगानी छ । भारतले वस्तु चीन निर्यात गर्नेभन्दा धेरै ठूलो परिमाणमा आयात गर्छ । सन २०१९/२० मा भारतले १६.६ बिलियन अमेरिकी डलर बराबरको वस्तु चीन निर्यात गरेको छ भने चीनबाट ६५.३ बिलियन बराबरको वस्तु आयात गरेको देखिन्छ । भारत विद्युतीय वस्तुमा ४५ प्रतिशत, मेसिनरीमा ३२ प्रतिशत, औषधीमा ६५/७० प्रतिशत, फर्निचरमा ५७ प्रतिशत, केमिकल्समा ३८ प्रतिशत, अटोपार्ट्समा २५ प्रतिशत र मलखाद्यमा २८ प्रतिशत चीनमाथि निर्भर छ ।

सन् २०२० को चौमाहीको स्थिति हेर्ने हो भने भारतीय बजारमा चिनियाँ स्मार्टफोन ८१ प्रतिशत, स्मार्ट टिभि ३८ प्रतिशत गैर चिनियाँ स्मार्ट फोन १८ प्रतिशत, स्मार्ट टिभि ५३.५ प्रतिशत रहेका छन् भने भारतीय स्मार्ट फोन १ प्रतिशत र स्मार्ट टिभि ८.५ प्रतिशत मात्र रहेको देखिन्छ । गलवान घटनामा घाइते भएको भारत विश्व व्यापार संगठनमा आवद्ध भएको प्रतिवद्धताले परेशान छ ।

(लेखक पोखरेल त्रि.विमा कार्यरत छन् । उनी समसामयिक विषयमा लेख टिप्पणी लेख्ने गर्छन् ।)