विश्वभर फैलिएको ‘कोरोना गणतन्त्र’ को कोलाहालबारे

ट्रम्प र मोदीको चरम लापर्वाही

भरत पोखरेल

अहिले विश्वमा कोरोना भाइरस (कोभिड–१९) का कथाहरू प्रशस्त कथिन थालिएका छन् । आजका मितिसम्म कोरोना संक्रमितका आधारमा पदक प्रदान गरिने हो भने अमेरिका फस्ट अर्थात् अमेरिका ग्रेट अगेन स्वर्णपदक, ब्राजिल रजतपदक र भारत काँस्य पदकका विजेता देखिएका छन् । पदक प्राप्त गर्ने यो अवसर यी देशहरूको राजनीतिक–आर्थिक प्रणाली र त्यसको नेतृत्वले गर्दा भएको हो भनिन्छ । कोरोनाको प्रारम्भिक संक्रमणको बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, ब्राजिलका राष्ट्रपति जैर बोलसोनारो र भारतका प्रधानमन्त्री नेरेन्द्र मोदीको लापर्वाही जिम्मेबार रहेको ठानिएको छ।

कोरोना संक्रमित अमेरिकामा ३२,९१,७८६ मृतक १,३६,६७१, ब्राजिलमा संक्रमित १८,०४,३३८ मृतक ७०,५२४ र भारतमा संक्रमित ८,२२,६०३ मृतक २२,१४४ रहेको देखिन्छ । अमेरिकी उपराष्ट्रपति माइक पेन्सको नेतृत्वमा कोरोना नियन्त्रणका लागि ह्वाइटहाउसमा टास्कफोर्स गठन गरिएको छ तर अमेरिकामा कोरोनाको कहर संक्रमित र मृतकको संख्याले भयावह स्थिति देखाउँछ । जून ६, २०२० मा गार्जियन पत्रिकाले अमेरिकामा साधारण मानिसको त के कुरा ६०० स्वास्थ्यकर्मीको मृत्यु भएको समाचार छापेको छ ।

ब्राजिलका राष्ट्रपति आफ्नो निवास अलभोरादा प्रासादमा चिकित्सकहरूको निगरानीमा बसेका छन् । मई २१, २०२० मा ब्लुम्बर्गले ब्राजिलमा संसारको सबैभन्दा बढी नर्सहरू कोरोनाबाट प्रभावित भएको समाचार प्रकाशित गरेको छ । त्यसैगरी ब्राजिलको फेडरल नर्सिङ काउन्सिलका अनुसार ब्राजिलमा १५,००० नर्सहरू कोरोनाबाट संक्रमित छन् र १३७ को मृत्यु भइसकेको छ ।

मोदीको कमाण्डमा रहेको भारतमा मई २९, २०२० टेलिग्राफका अनुसार २,००० स्वास्थ्यकर्मीहरू संक्रमित भएको समाचार छापेको छ । जून ३०, २०२० मा टाइम्स अफ इंडियाले त दिल्लीमा मात्रै २,००० भन्दा बढी स्वास्थ्यकर्मीहरू संक्रमित भएको र ८ जनाको मृत्यु भएको समाचार प्रकाशित गरेको छ । विश्व गणतन्त्रका चमत्कारिक देशहरूको त यो हालत छ भने अरु देशहरूमा कोरोना गणतन्त्रको कोलाहाल चलिरहेकै छ ।

(पोखरेल त्रिविमा कार्यरत छन । उनी समसामयिक विषयमा टिप्पणी, लेखहरु लेख्ने गर्दछन ।)