कोरोना नियन्त्रणमा प्रधानमन्त्री ओलीको बेसार पानीको चर्चा र अफवाह इन्फेक्सन

गर्मीको उत्कर्षः बढ्दो संक्रमण

भरत पोखरेल

हामी अचेल असामान्य अवस्थामा बाँचिरहेका छौं । कोरोनाले विश्वमा छ महिनादेखि कहर मचाइरहेको छ । विश्वका अधिकाँश मानिसहरू महिनौं घरभित्र बस्न वाध्य पारिएका छन् । जब मानिसहरूको विश्वास सरकार, विज्ञान, अर्थतन्त्र र समाजबाट उठिरहेको हुन्छ, मानिसहरूमा अफवाहको असर बढ्न थाल्छ । सबैभन्दा पहिला कोरोना चीनमा संक्रमित भएको पुष्टि भएकै हो । कोरोना चीनको प्रयोगशालामा निर्मित भन्ने पनि अफवाह फैलियो । विज्ञानले यो प्राकृतिक प्रक्रियामा आएको महामारी भन्ने प्रमाणित गर्यो अनि चीनले थाहा पाएर पनि गोप्य राखेको र विश्वभरि फैलाएको भ्रामक प्रचार गरियो ।

चिकित्सा विज्ञान चकित परेको बेला ज्योतिषी र रहस्यवादीहरू कोरोना संक्रमणभन्दा पहिला नै उनीहरूले यसको भविष्यवाणी गरेको भनेर अफवाह फैलाए । उनीहरूले गोबर, गौमूत्र, पञ्चगव्य कोरोनाको औषधी भनेर जुलुस निकालेर जलसा नै गरे । अर्को अफवाह चिया, अदुवा, लसुन, तोरिको तेल र कागती पानी कोरोनाको औषधी भनेर बाढी नै आयो । यी सबै उपायहरू सामान्य रुघाखोकी नियन्त्रणका राहत विधि हुन् कोरोनाको औषधी नै भनेर अफवाह फैलियो । यसकै आधारमा जडीबुटीबाट निर्मित स्यानीटाइजर, हातधुने पतञ्जली पानीको राम्रो व्यापार भयो । हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीको बेसार पानीको चर्चा चुलिएकै छ ।

अलिपछि कोरोना मासु र चिनियाँ खानाबाट हुने प्रचार गरियो । दक्षिण एसियाका देशहरूमा गर्मी लागेपछि कोरोना सकिने अफवाह फैलिएकै हो तर गर्मी मौसमको उत्कर्षमा पनि कोरोनाको संक्रमण बढेको हामी प्रत्यक्षदर्शी बनेकै छौं । मई महिनाको सुरुतिर चमेराले कोरोना बढाउने भनेर काठतस्करहरूले चलाएको हल्लाले चमेरा बस्ने सबै रुखहरू धेरै देशमा सखाप पारिए । धेरै सहरका सडक र गल्लीहरूमा किटनासक झोल छरिए र यसमा संलग्न संस्थाहरूले राम्रै नाफा कमाए । अमेरिका लगायत विश्वका धेरै देशहरू र संस्थाहरूले भरपर्दो वैज्ञानिक आधार विनानै कोरोनाका विरामीहरूलाई हाइड्रोसिक्लोरोक्वीन खुवाइयो तर चिकित्सा विज्ञानले यो कुरालाई भरपर्दो नभएको प्रमाणित गरिदियो ।

आयुर्वेद, युनानी उपचार, प्राकृतिक उपचार, योगाको लहर चलेकै छ । आर्सेनिकम एलबम डी ३० (एए३०) होमियोप्याथीका सेता गेडाहरू हाम्रा घरघरमा आएको हामीले प्रत्यक्षीकरण गरेकै हो । हालै पतञ्जलीले कोरोनिल कोरोनाको औषधी प्रचारमा ल्यायो तर भारतको आयुष मन्त्रालयले यसको प्रचारमा प्रतिबन्ध लायो । वैज्ञानिक सोचको अभावमा कोरोना अफवाह इन्फेक्सन जस्तै विश्वभरि फैलिरहेको छ मानिसहरू अन्योलमा छन् ।

(लेखक पोखरेल त्रिविका प्राध्यापक हुन । उनी समसामयिक विषयवस्तुमा आधारित लेखहरु लेख्ने गर्दछन ।)