सत्ताँरुढ नेकपा विभाजनको दिशामाः प्रचण्ड र ओलीबिच भेटवार्ता, सहमति गोप्य

प्रचण्डद्धारा ओलीको राजिनामा माग: बैठक जारी

काठमाडौं । सत्ताँरुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको नेतृत्वतहमा देखिएको विवाद हल गर्नका लागि उक्त पार्टी दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।

नेकपाका दुई अध्यक्षबिच आज बिहान बालुवाटारमा भेटवार्ता भएको हो । श्रोतका अनुसार उनीहरुबिच पार्टीलाई एकमतका साथ अघि बढाउनेबारे गम्भीरतापूर्वक छलफल चलेको बुझिएको छ ।

प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष ओलीको अर्का अध्यक्ष प्रचण्ड लगायतका नेताहरुले राजिनामा मागेपछि बढेको विवादले उग्र रुप लिएपछि दुईपक्षबिच सहमति गर्ने प्रयासस्वरुप आजको भेटवार्ता भएको नेताहरु बताउँछन ।

विवादका कारण स्थगित भएको नेकपाको स्थायी समिति बैठक दुई अध्यक्षबिचको भेटवार्तापछि शुचारु भएको बुझिएको छ । दुई अध्यक्षबिच के विषयमा सहमति भयो र बैठक अघि बढ्ने अवस्था बन्यो भन्ने बारेमा भने खुलेको छैन ।

यद्यपि कतिपय नेताहरु दुई अध्यक्षबिच पार्टी र सरकारको अधिकार बाड्ने विषयमा सहमति भएको हुनसक्ने अनुमान गर्छन । त्यो विषयमा नेकपाका एक नेताले पार्टी र सरकारको जिम्मेवारी ओली एक्लैले लिएपछि आन्तरिक रुपमा असन्तुष्टि बढेको र त्यसलाई आजको छलफलले हल गरेको हुनसक्ने बताउँछन ।

प्रधानमन्त्री ओलीले गत आइतबार भारतले आफू नेतृत्वको सरकार ढाल्न लागेको अभिव्यक्ति दिएपछि मंगलबारको बैठकमा प्रचण्डले त्यसको प्रतिउत्तरमा भारतले नभइ आफूले सरकारको राजीनामा मागेको बताएपछि विवाद चुलिएको थियो ।

प्रचण्डले सरकारका कामहरुको आलोचना गर्दै केपी ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पद छाड्न चेतावनी दिएका थिए । उक्त बैठकमा सहभागि अधिकांश अन्य नेताहरुले समेत प्रचण्डको भनाईमा सहमत जनाउँदै ओलीको राजिनामा मागेका थिए ।

आजकाृ भेटवार्तापछि शुरु भएको बैठकले ओलीको राजिनामा प्रस्ताव अघि बढाउछ वा प्रचण्डलाई पार्टी वा सरकारको प्रमुख जिम्मेवारीको प्रस्ताव गर्छ, त्यो भने अहिले अनुमान गर्न नसकिने नेताहरु बताउँछन । तर बैठक भने जारी रहेको बुझिएको छ ।

कतिपय नेताहरु तत्कालिन दुई पार्टीबिचको एकताको भाव अनुसार केपी ओली अघि नबढेको हुनाले सबै समस्या आएको भन्दै ओलीको चाहनाले मात्र पार्टी नचल्ने र अन्त्यतः सहमति नभएमा पार्टी विभाजनमा जाने बताउँछन ।