विदेशमा समस्यामा भोगिरहेका नागरिकमाथि सरकारको विभेदकारी उद्धार नीतिः पैसा हुने विमानमा, नहुने संकटमा !

सहज स्वदेश फर्काउन पीडितहरुको सरकारलाई अनुरोध

काठमाडौं । सरकारले नेपाल एयरलाइन्स मार्फत कोरोना संक्रमणका कारण विदेशमा समस्या भोगिरहेका नेपालीहरुको उद्धारका लागि उडान अनुमति दिएको भएपनि विदेशीभूमिमा बेरोजगारी तथा आर्थिक अभावमा रहेका नेपालीहरुको लागि कुनै ब्यवस्था नगरेको भन्दै चिन्ता गरिएको छ ।

वैदेशीक रोजगारीको लागि युएई, मलेसिया, साउदी लगायतका खाँडी मुलुक र अन्य देशहरुमा रहेका नेपालीहरुले हरपल नेपालसँग म्यासेन्जर मार्फत कुराकानी गर्दै चार्डर मार्फत पैसा हुने मानिसहरुको मात्र उद्धार गरिएको भन्दै त्यस्तो चिन्ता गरेका हुन ।

विदेशमा समस्यामा पर्नेहरुमा धेरैको काम रोकिएको अवस्था भएको बुझिएको छ । उनीहरु स्वदेश फिर्ताको लागि सरकारलाई पहल गरिदिन आग्रह गरिरहेका छन । उनीहरु आफ्नो समस्या विभिन्न माध्यमबाट सुनाइरहेका छन ।

उनीहरु आर्थिक रुपमा समेत समस्यामा परेको हुनाले सरकारले विशेष व्यवस्था गरिदिने आशामा बसेको भन्दै सामाजिक सञ्जाल मार्फत पीडा सार्वजनिक गरिरहेका छन तर त्यसमा सरकारको नीतिले कतै छोएको देखिन्न ।

यो विषयमा नेपाल एयरलाइन्सले कोभिड–१९ रोकथामका लागि अपनाइएको सुरक्षाका विधिहरु अपनाउदै विदेशमा समस्यामा परेका नेपालीहरुलाई एयरलाइन्सले स्वदेश फर्काउने काम गरिरहेको बताएको छ ।

एयरलाइन्सले लकडाउन सुरु भएयता शुरु गरेको उद्धार उडान मंगलबार बिहानसम्म ६१ चार्टर्ड उडान मार्फत करिब १० हजार लाई नेपाल ल्याएको बताइएको छ।

नेपाल एयरलाइन्सले समस्यामा परेकालाई उद्धार गरिरहेको बताए पनि आर्थिक रुपमा समेत समस्यामा गुज्रिरहेका नेपालीहरुको भने उद्धार हुन नसकेको पीडितहरु बताउँछन । युएई, साउदी, मलेसिया लगायत खाँडी मुलुकमा वैदेशिक रोजगारको लागि गएका नेपालीहरु समस्यामा परेको भन्दै सरकारलाई सहज उद्धार गरिदिन आग्रह गरिरहेका छन ।

विदेशमा रहेका नेपालीहरुको उद्धार जारी रहेको भन्दै नेपाल एयरलाइन्सका अपरेसन विभाग प्रमुख दीपु जुहारचनले कोरोना अपरेटिङ प्रोसिड्युअर बनाएर चार्टड उडानलाई व्यवस्थित गरिएको जनाएका छन ।

कोरोना संक्रमणको जोखिमको अवस्थामा विश्वका अन्य एयरलाइन्सले अपनाएको सुरक्षा सर्तकर्ता र त्यससँग सम्बन्धीत व्यवस्थापकीय तयारी सहित आफुहरुले समस्यामा परेका नेपालीहरुको लागि उडान गरिरहेको एयरलाइन्सले बताएको छ ।

विमान यात्राको क्रममा सामाजिक दुरी कायम गर्दै सकेसम्म आपसमा सम्पर्क कम होस भन्ने उद्देश्यले खाने कुरामा प्याक्ड सर्भिस उपलब्ध गराइएको समेत एयरलाइन्सले बताएको छ ।

यात्राको क्रममा विमानभित्र यात्रुलाई कोरोना सक्रमणको लक्षण देखिएमा तत्काल आइसेलेटेड गर्ने व्यवस्था प्लेनमै गरिएको बताइएको छ ।

त्यस्तै यात्रुहरुलाई निश्चित कोरोनटाइनमा राख्ने र स्वास्थ्य परिक्षण गर्ने गरिएको र विमान चालकदलका सदस्यहरुलाई समेत स्वास्थ्य जाँच गराउने र होटेलमा अलग्गै बस्ने व्यवस्था गरिएको बुझिएको छ ।

स्वास्थ्य परिक्षणको रिपोर्ट आएपछि कोरोनाबाट सुरक्षित देखिएकाहरुलाई उनीहरुको घरसम्म जाने व्यवस्था सरकारले गरेको छ ।

अझै ठूलो संख्यामा समस्यामा परेका नेपालीहरु स्वदेश जाने अपेक्षामा सास्ती भोगिरहेका छन । सरकारले आर्थिक समस्या समेत भोगिरहेका नेपालीलाई स्वदेश फर्काउन के कस्तो पहल गर्ला ? कहिले शुरु गर्ला त्यो भने अझसम्म आधिकारीक योजना सार्वजनिक भएको छैन ।