शद्धोधन ३ का वडा अध्यक्षको दादागिरिः बहुमतको बलमा वडा सदस्यलाई धम्की !

सदस्यहरु न्याय माग्दै मिडियासँग यस्तो भन्छन्….

कपिलवस्तु । कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिका वडा नम्बर ३ मा विकास निर्माणको काममा स्थानीय वडा कमिटीमा सल्लाह, छलफल नगरी अध्यक्षले मनोमानी गरेको भन्दै आपत्ति जनाइएको छ ।

उक्त वडाका अध्यक्ष महिबुद्दिन मुसलमानले वडा कमिटीसँग सल्लाह नगरि मनोमानिपूर्वक आफ्नो व्यक्तिगत प्रभावमा काम बढाएको भन्दै वडा सदस्य जाफरअलि मुसलमान, रिता पासी लगाएतले आपत्ति जनाएका हुन ।

सो वडामा हालसम्म भएका बिकास निर्माणका गतिविधिबारे सदस्यहरुको राय सल्लाह तथा सहभागीता नजुटाइ वडा अध्यक्षले मनोमानी गरेको उनीहरुको आरोप छ ।

अध्यक्ष महिबुद्दिन मुसलमानले मनमानी ढंगले काम गरिरहेको भन्दै उनीहरुले आफ्नो कार्यशैली सुधार्न चेतावनी समेत दिएका छन ।

वडा सदस्यहरुले वडामा भैरहेको विकास निर्माणको कामबारे आफुहरुलाई कुनै जानकारी नभएको भन्दै अध्यक्ष मुसलमान विधि कुल्चेर मनोगत योजनामा अघि बढेको र उनको त्यस्तो कार्यशैलीले आफुहरुलाई गम्भीर आशंका पैदा गरेको बताए ।

अध्यक्ष मुसलमानले वडाका सदस्यहरुलाई रजिष्टारमा हाजरी मात्र गर्न मात्र बोलाउने गरेको र आफ्नो दादागिरी लादेर वडा कार्यालय चलाउने गरेको भन्दै पत्रकारसँग पीडा पोखे ।

वडा सदस्य पासीले आपनो पीडा पोख्दै भनिन, ‘वडाले गर्ने भेलामा म उपस्थित हुन जादा वडा कार्यालयबाट अध्यक्षले हात समातेर कार्यालयको भेलाबाट निकालिदिएका थिए । यो दादागिरीले उनी वडा चलाउँछन ।’

उनले भनिन् –‘म एक दलित महिला भएको हुनले मलाई अध्यक्षले हेप्ने गरेका छन । के दलित महिला महिला होइनन् ? सदस्य सहभागी किन हुन पाउन्न् ? सरकारले किन प्रत्येक वडामा महिला सदस्य राखेको छ ?’

बेला बेलामा अध्यक्षसंग उनको कार्यशैलीबारे प्रश्नगर्दा उनले बैठकको भत्ता काटने, पार्टीबाट हटाउने, आफ्नो पावर देखाउने जस्ता धम्कीपूर्ण कार्य गर्नेगरेको उनले बताइन ।

सदस्य जाफर अलि मुसलमानका अनुसार अध्यक्षले आफ्नो मनोमानीपूर्ण ढंगले, स्थापित विधि र कानुनलाई नमानेर सदस्यहरुलाई ‘जहा उजुरी गर्नु छ गर, तपाई चुप लागेर बस्नुस’ समेत भन्ने गरेका छन ।

गाउँपालिकाबाट बजेट निकासी हुदा समेत सदस्यहरुलाई औपचारिक जानकारी नभएको उनी बताउछन । हालसम्म भएको गतिविधिबारे जानकारी नरहेको उनको भनाई छ ।

न्याय मग्न गाउँपालिकामा जन्दा, पालिकाका अध्यक्षले सदस्यहरुको कुनै पनि सुनुवाई नगरि आफ्नै अध्यक्षसंग गएर सोधपुछ गर्नुस भनेको उनीहरु बताउँछन । उनीहरुले पालिकामा यसबारेमा निवेदन दिए पनि कुनै पनि सुनवाइ भएको छैन ।

वडा अध्यक्षले वडा समितीको बैठक नै न गरि अनऔपचारिक ढंगले रेजिस्टरमा हाजिरी लगाउने गरेको भन्दै त्यसको उनीहरुले विरोध गर्दै आएको बताए ।

त्यस विषयमा वडा अध्यक्षसँग हाम्रा सहकर्मिले कुरा गर्न खोज्दा उनलाई कार्यालयमा भेट हुन सकेन । श्रोतका अनुसार उनी काम परेको बेलामा मात्र कार्यालयमा आउने गर्दछन ।

यस्तो प्रकारको समस्यालाई स्थानीय सरकारको उपल्लो निकायले नसुन्नुले थप आश्चार्यमा पारेको वडा सदस्यहरु बताउँछन ।

यसरी एउटै प्रकृयाबाट निर्वाचित भएका जनप्रतिनिधिहरु बिचमा बढेको यस्तो तिक्तपापूर्ण व्यवहारले स्थानिय नागरिकमा समेत निरासा छाएको छ ।

वडा सदस्यहरु अधयक्षको दादागिरी विरुद्ध आफुहरु चुप लागेर नबस्ने भन्दै मिडियासँग पीडा पोखें । उनीहरुले विधि कुल्चेर मनोगत प्रभावमा काम गर्ने अध्यक्षलाई भ्रष्टाचारको मुद्दामा छानबिन गर्न सम्बन्धीत निकायसँग माग समेत गरेका छन ।