कोरोना भन्दा नागरिकलाई सरकारी अपराधको डर ! हेर्नुहोस सिंहदरबारभित्रै सयौं नासुको आन्दोलन

कतै एमसीसीको त कतै गलत नीतिको विरोध

काठमाडौं । कोरोना संक्रमणको दर दिनानुदिन बढ्दै गएको अवस्थामा समेत नागरिकहरु सरकारले लागु गरेको नियम कुल्चदै आन्दोलनमा उत्रिन बाध्य भैरहेको पछिल्ला घटना क्रमले देखाएको छ ।

सरकारले कोरोना कहरको नाममा नागरिकको अधिकारमाथि हनन गर्दै राष्ट्रघात, जनघात, अपराध, भ्रष्टाचार, अन्याय, पेशागत असुरक्षा तथा अमान्य गतिविधि गरिरहेको भन्दै नेकपा (माओवादी केन्द्र) लगायतका एघार राजनीतिक दलहरुका साथै विभिन्न नागरिक समूहहरु आन्दोलीत बन्दै गएका छन ।

कोरोना कहरबिच आज भने सिंहदरबार भित्रै आन्दोलन भएको छ । सिंहदरवारभित्र कार्यरत नायव सुब्बा (नासु) तहका कर्मचारीहरुले ओली सरकारले ल्याएको निजामति सेवा ऐन विधेयकमा आफुहरुलाई अन्याय गरिएको भन्दै आन्दोलन गरेका हुन ।

निजामति सेवा ऐन विधेयक संसदको राज्य व्यवस्था तथा सुशासन समितिले बहुमतबाट पारित भएको अवस्थामा त्यसबाट आफुहरुमाथि अन्याय हुने नासुहरुको भनाई छ ।

उनीहरुले उक्त विधेयकमा विभेदकारी तथा कर्मचारीहरुको वृति विकासमा असर पर्नेगरी प्रावधान राखेकाले आफुहरु कोरोना कहरबिच समेत सिंहदरबारभित्रै आन्दोलित हुनुपरेको बताएका छन् ।

उक्त विधेयक राज्य व्यवस्था तथा सुशासन समितिबाट सत्तापक्षकै केही मन्त्री तथा सांसदहरुको विरोधकाबीच पारित गरिएको बुझिएको छ ।

उक्त विधेयकमा नासुको बढुवाबारे व्यवस्था २०४९ सालको निजामति सेवा ऐनको प्रावधान भन्दा पनि पछि फर्किएकाले विरोध गरिएको उनीहरु बताउँछन ।

उनीहरुले पश्चगामी विधेयक आफुहरुलाई अमान्य भएको तर्क गर्दै त्यसको खारेजीको माग सहित आन्दोलीत हुनुपरेको बताएका छन । निजामति सेवामा नासु बचाउ अभियान मार्फत करिब २ सयको संख्यामा जम्मा भएका नासुहरुले सिंहदरवार गेटभित्र गएर प्रदर्शन गरेका छन।

व्यानर तथा र्यालिसहित प्रदर्शनमा उत्रिएका नासुहरुले शाखा अधिकृत तहमा बढुवा र आन्तरिक प्रतिश्पर्धाको सुनिश्चितता, एकै पदमा १२ बर्षसम्म बढुवा नभए स्वतह बढुवा, सेवामा रहेका कर्मचारीलाई उमेरको हदबन्दी लगाउन नपाइने, अघिल्लो पदको सेवाअवधि जोड्नुपर्ने लगायतका ६ मागहरु अघि सारेका छन् ।

त्यसैगरी राजधानी काठमाडौं लगायत देशका विभिन्न स्थानमा सरकारले ल्याउने तयारी गरिरहेको एमसीसी सम्झौताको विरोधमा राजनीतिक दलहरु र सामाजिक अभियन्ताहरु समेत दिनहु आन्दोलित भैरहेका छन ।

यसले सरकारले कोरोना नियन्त्रणको विषयमा भन्दा आफ्नो ध्यान अन्तै केन्द्रीत गरेको देखाउँछ ।

नागरिकहरु सरकारको जनघाती कदम भन्दै कोरोनाको डर त्रास भन्दा माथि उठेर आन्दोलित भैरहेका छन, यसमा सरकार गम्भीर बन्नुपर्ने देखिन्छ ।