अन्तराष्ट्रयवादी वामपन्थी योद्धा अर्नेस्टो चे ग्वेभाराको घर बेचिदै

सांस्कृतिक केन्द्र बनाउन माग

अर्जेन्टीना । क्रान्तिकारी वामपन्थी नेता अर्नेस्टो चे ग्वेभाराको अर्जेन्टीनाको रोजारियास्थित जन्मस्थान बेच्न लागिएको छ। चे ग्वेभारा २०औं शताब्दीका क्रान्तिकारी नेता हुन ।

चे ग्वेभाराको घर बेचिन लागेको जानकारी आएपनि त्यो कति मूल्यमा किन बेचिदैनछ भन्ने बारेमा जानकारी आएको छैन । उक्त घरलाई ऐतिहासिक सास्कृतिक केन्द्रको रुपमा विकास गर्नुपर्नेमा धेरैको सुझाव रहदै आएको थियो ।

ग्वेभाराको घर सन्‌ २००२ मा फ्रान्सिस्को फर्रुग्गियाले खरिद गरेका थिए। अर्जेन्टीनाको रोजारियो शहरस्थित उनको घर २५८० स्क्वायर फुट क्षेत्रफलमा फैलिएको छ ।

ग्वेभाराको घरलाई सांस्कृतिक केन्द्रको रुपमा बदल्न चाहेपनि फर्रुग्गियाले यो योजना कार्यान्वयन गर्न सकेका थिएनन्। फर्रुग्गियाले ग्वेभाराको घर किन बेचिँदैछ भन्नेबारे कुनै जानकारी दिएका छैनन्।

क्रान्तिकारी नेता ग्वेभाराको जन्मघर हेर्न हरेक वर्ष लाखौं मानिसहरु रोजारियो आउने गर्छन्। चे ले सामाजिक रुपान्तरणको अभियानमा खेलेको भूमिकालाई विश्व कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण रुपमा लिइन्छ । उनको जन्मघर हेर्न विश्वभरका मानिसहरु आउने गर्दथ्य ।

अर्नेस्टो चे ग्वेभारा को थिए ?

ग्वेभाराको जन्म सन् १९२८ मा अर्जेन्टीनाको रोजारियोमा भएको थियो। सम्पन्न परिवारमा जन्मिएका ग्वेभाराले दक्षिण अमेरिकामा क्रान्तिको बाटो समाएका थिए।

क्युबाली क्रान्तिमा अहम भूमिका ग्वेभाराले त्यहाँको बाटिस्टा तानाशाहीतन्त्र अन्त्य गरिदिएका थिए। क्युबामा राजनीतिक क्रान्ति सम्पन्न भएपछि ग्वेभाराले पूरै दक्षिण अमेरिका र विकासशील देशसम्म क्रान्ति विस्तार गर्ने योजना बनाएका थिए।

क्रान्तिका लागि बोलिभियामा रहेका बेला सन् १९६७ अक्टोबर ९ तारिखमा ग्वेभाराको हत्या भएको थियो। अमेरिकी खुफिया संस्था र बोलिभियाको सेनाले उनको पार्थिव शरीरलाई अज्ञात स्थानमा गाडिदिएको थियो।

ग्वेभाराको हत्या भएको ३० वर्षपछि बल्ल उनको अन्तिम अवशेष क्युबा ल्याइएको थियो। यसरी विश्व सर्वहारा वर्गको लागि जिवनको योगदान गर्ने महान नेता चे को जन्मघर बेचिन लागेको घटनाले विश्वभरका कम्युनिष्टहरुलाई दुखी बनाएको छ । एजेन्सी