औचित्यमा नेपाली कांग्रेसः गुणात्मक रुपान्तरण या संस्थागत विघटन !

कांग्रेसी चरित्रमा बुर्जुवा नेकपा

गोपाल किराती

अध्येताहरु भन्छन, तुलनात्मक रुपमा तत्कालीन नेपाल प्रजापरिषद एउटा देशभक्त र जनवादी शक्ति थियो। त्यसैले बिदेशी दलाल राणाहरुले त्यस पार्टीका तीन वरिष्ठ नेताहरुको हत्या र दर्जनौंलाई कारावासको सजाय गरे। प्रजापरिषदका नेताहरु धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई मृत्युदण्ड तथा सभापति टंकप्रसाद आचार्यलाई कारावासको सजाय गरे। शुक्रराज शास्त्री भने छुट्टै नागरिक सुधार समितिका सभापति थिए, प्रजा परिषदका थिएनन्। जातवादी मुलुकी ऐनमा बाहुन हत्या निषेधित रहेको हुँदा सभापति टंकप्रसाद आचार्य भने जन्मले बाहुन भएकैले मारिएनन्। यद्यपि, पार्टी नाममा ूप्रजाू राखिएका कारण टंकप्रसाद आचार्यको पार्टी श्री ३ शासन ऊन्मूलन गर्ने र श्री ५ लाई भने स्वीकार गर्ने नीतिमा रहेको देखिन्छ। त्यसर्थमा प्रजापरिषदको राजनीति पुष्पलाल श्रेष्ठको देशभक्त जनवादी गणतन्त्रसम्म उठ्न सक्दैनथ्यो, भन्ने प्रष्ट हुन्छ।

उपरोक्त पृष्ठभूमिमा नेपाली कांग्रेस गठन हुन पुग्यो। डिल्लीरमण रेग्मी नेतृत्वमा नेपाल राष्ट्रीय कांग्रेस तथा मातृकाप्रसाद कोइराला नेतृत्वमा नेपाल प्रजातन्त्र कांग्रेस बन्न पुग्यो। राणाशासन बिरुद्द संघर्षको उदेश्य बताउने दुई कांग्रेसमध्ये सुरुतिर रेग्मी कांग्रेसले आफुलाई देश र जनताको पक्षेमा प्रस्तुत गर्यो। स्वभाविक रुपमा सहिद गङ्गालालका भाई पुष्पलाल श्रेष्ठ नेपाल राष्ट्रीय कांग्रेसमा संगठित भएर त्यस पार्टीको केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी समेत सम्हाल्न पुगे।

क्रमशः दुई कांग्रेसको वर्ग चरित्र सतहमा देखिन आयो। पुष्पलाल श्रेष्ठ लिखित नेपाली कम्युनिस्ट आन्दोलनको संक्षिप्त इतिहास अनुसार कोइराला कांग्रेसलाई सुबर्णसमशेरले र रेग्मी कांग्रेसलाई महावीरसमशेरले आर्थिक लगानी गर्दा रहेछन। ती दुवै कांग्रेस दलाल तथा नोकरशाही पुजीवादी भएको तथ्य प्रमाणित हुँदै गएपछि पुष्पलाल श्रेष्ठ कम्युनिस्ट पार्टी स्थापनातर्फ अग्रसर भए। उता दुई काग्रेसवीच एकता गर्दा पार्टी नामबाट एउटाले राष्ट्रीय र अर्कोले प्रजातन्त्र शब्द हटाएकोवारे पनि पुष्पलाल श्रेष्ठको गम्भीर आपत्ति रह्यो। सम्बत २००६ मा जब नेपाल कम्युनिस्ट पार्टी स्थापना गरियो, संगसंगै नेपाली कांग्रेसले कम्युनिस्ट पार्टी बिरुद्द शर्तुतापूर्ण नीति र व्यवहार अख्तियार गर्यो।

पुष्पलाल लिखित उपरोक्त संक्षिप्त इतिहास अनुसार नेपालमा उत्तरका छिमेकी चीनियाँ जनक्रान्तिको प्रभाव रोक्न पनि नेपाली कम्युनिस्टहरु बिरुद्द नेपाली कांग्रेसले त्यस्तो शत्रुतापूर्ण नीति र व्यवहार अघि बढायो। परिणाम भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुको रोहवरमा राजा, राणा र कांग्रेसवीच दिल्ली सम्झौता गर्ने गराउने काम भयो। सन १९५० को असमान सन्धिलाई मान्यता दिने त्रीपक्षीय दिल्ली सम्झौताको राजनीतिक, आर्थिक, साँस्कृतिक अन्तर्य वस्तुतः सुगौली सन्धिको निरन्तरता थियो।

नेपाल कम्युनिस्ट पार्टी बिरुद्द स्वदेशी तथा बिदेशी दलाल पुजीवादीहरुको गठजोड दिल्ली सम्झौताद्वारा सम्बत २००७ मा राणाशासन ढालेर प्रजातन्त्र ल्याएको ढोल पिटाइयो। तर, राष्ट्रपिता भनिएका त्रीभुवन र गृहमन्त्री बीपी कोइरालाको मन्त्रीपरिषद बैठकमा भारतीय राजदुत चन्द्रेश्वरप्रसादनारायण सिंहलाई स सम्मान सहभागी गराउने मात्र होइन, मन्त्रीपरिषद बैठकमा आउँदा ती राजदुतलाई सिंहदरवारमा एक्काईस तोपको सलामी चढाउने खतर्णाक चाकडी समेत गर्ने गरियो। त्यसैले २००८ मा राष्ट्रीय आत्मसमर्पणवादी गद्दारहरुको दिल्ली सम्झौता बिरुद्द जननायक रामप्रसाद राईले सिंहदरवार विद्रोह गरे। यध्यपि, विद्रोह असफल भयो र विद्रोहमा समर्थन जनाएको अभियोगमा मातृकाप्रसाद कोइराला नेतृत्वको कांग्रेस सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाए। सम्बत ०१३ मा प्रधानमन्त्री बनेका टंकप्रसाद आचार्यको समयमा मात्र नेपाल कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध हटाउने काम भयो।

नेपाली कांग्रेसको जन्मजात तथा खुलेआम दलाल पुजीवादी राजनीति नै जिम्मेवार छ, जसको राष्ट्रीय आत्मसमर्पणवादी रवैयालाई स्वभाविक कारक बताउँदै ०१७ मा महेन्द्र शाहले बहुदलीय ब्यवस्था खारेज गरी निर्दलीय पञ्चायत थोपरे। त्यो प्रतिगामी घटना दिल्ली सम्झौतामा कांग्रेसले प्रदर्शन गरेको कम्युनिस्ट पार्टी बिरोधी दलाल पुजीवादी राजनीतिको दुश्परिणाम थियो। पुष्पलाल श्रेष्ठ लिखित उपरोक्त ूसंक्षिप इतिहासू पढ्ने जोकसैलाई अवगत हुन्छ, मजदुर किसान संगठित गरेर नेपालमा जनक्रान्ति उठाउने देशभक्त कम्युनिस्टहरु बिरुद्द नै तिनले हतार हतार दिल्ली सम्झौता गरेका थिए। देशभक्त जनवादी तहमा उठ्न सकेको भए नेपाली कांग्रेस जननायक रामप्रसाद राई र पुष्पलाल श्रेष्ठ नेतृत्वको कम्युनिस्ट पार्टीले भनेको राष्ट्रीय स्वाधीनता, जनवाद र जनजीविकाको मुद्दामा सहमत हुनु पर्थ्यो। ठिक त्यस विन्दुमा राणाशासन बिरोधी आन्दोलनले अधिकतम् सच्चा लोकतन्त्र स्थापित गर्न सक्थ्यो, जसले देश र जनतालाई अधिकार सम्पन्न तुल्याउथ्यो र महेन्द्र शाहलाई सैनिक कदम उठाउने मौका दिँदैनथ्यो।

शाही निर्दलीय शासन बिरुद्द बहुदलीय लोकतन्त्रका लागि पुष्पलाल श्रेष्ठले तत्कालदेखि आजीवन रुपमा संयुक्त जनआन्दोलनको पहल बढाए। दलाल पुजीवादी भए पनि लोकतन्त्रको नारा दिने हुनाले त्यसर्थमा पुष्पलालले कांग्रेससंग त्यस्तो ईमान्दार पहल गरेका थिए। परन्तु, बीपी कोइराला नेतृत्वको कांग्रेसले पुष्पलालको वस्तुवादी राजनीतिक पहलकद्मीलाई कहिल्यै स्वीकार गरेन। त्यसले कम्युनिस्ट प्रभावको बहुदलीय लोकतन्त्र भन्दा शाही निर्दलीय शासन नै उपयुक्त ठानीरह्यो। बीपीको निधनपछि मात्र गणेशमान सिंह नेतृत्वमा, ०४६ मा संयुक्त जनआन्दोलन सम्भव भयो र पुष्पलाल श्रेष्ठको विचारले सार्थकता प्राप्त गर्यो।

त्यसयता नेपाली कांग्रेसको दलाल तथा नोकरशाही पुजीवादी राजनीति भोग्ने पुस्ता स्वयं उपस्थित छ। कोइराला प्रभूत्वको कांग्रेस विस्तारवादी भारत निर्भर मात्र थियो भने शेरवहादुर देउबासम्म आईपुग्दा त्यो प्रष्टै साम्राज्यवादी अमेरिका निर्भर समेत बन्न पुगेको छ। यसवीच नारयणहिटी दरवार हत्याकाण्ड उप्रान्त ज्ञानेन्द्र शाहको दमनलाई प्रतिष्ठाको विषय बनाउँन पुगेका गिरिजाप्रसाद कोइराला मुस्किलले सम्बिधानसभा र पुजीवादी गणतन्त्रसम्म अघि बढे। गिरिजाप्रसादको उक्त भूमिका बाहेक वर्तमान नेपाली कांग्रेसले देखाउन सक्ने राजनीतिक योगदानको सूची अरु केही उपलब्ध छैन। राणाशासन बिरोधी आन्दोलन एकातिर दिल्ली सम्झौता निर्देशित हुनाले स्वयंका निमित्त प्रत्युत्पादक ठहरियो भने अर्कातिर त्यो निकै पुरानो घटना पनि भयो। अतः राणाशासन बिरोध इतिहासको भरमा कांग्रेस पार्टीलाई अग्रदस्ता मान्न नयाँ पुस्ताका प्रगतिशीलहरु बाध्य रहँदैनन्।

उपरोक्त आधारमा विश्लेषण गर्दा नेपालको ऐतिहासिक, राजनीतिक, आर्थिक एवं साँस्कृतिक सन्दर्भमा नेपाली कांग्रेसको सम्पूर्ण औचित्य समाप्त भइसकेको वस्तुगत चित्र देखिन्छ। खासगरी, ०४६ यताको राजनीतिमा नामधारी कम्युनिस्ट एमाले जब संसदवादमा पतन भयो, कांग्रेससंग प्रतिस्पर्धा गर्नु पर्दा त्यसले कांग्रेसका सम्पूर्ण खराव विरासतहरु बोक्न पुग्यो। राष्ट्रीयता, जनवाद र जनजीविकाको सवाल बिरुद्द त्यसरी एमाले गुट कांग्रेसलाई उछिन्ने दौडमा लाग्यो। पछिल्लो समय प्रचण्डहरु पनि एमालेको त्यही संसदवादमा निर्लज्जतापूर्वक विलय हुन गए। ०७४ निर्वाचनमा बुर्जुवा नेकपाको बहुमत सरकार उप्रान्त नेपाली कांग्रेसको राजनीतिक औचित्य अन्तहीन संकटग्रस्त छ। अर्थात दलाल पुजीवादको सम्पूर्ण अभ्यास बुर्जुवा नेकपाले नै गर्दछ भने दलाल पुजीवादी राज्यसत्तामा अर्को दलाल पुजीवादी कांग्रेस पार्टीको अर्थ राजनीतिक औचित्य रहन्छ नै कसरी ?

उपरोक्त पृष्ठभूमिमा, नेपाली कांग्रेसभित्र कोही क्रान्तिकारीहरु रहेछन भने उनीहरुका सामु उपस्थित विकल्प पहिलो, कांग्रेस पार्टीको गुणात्मक एवं हठात रुपान्तरण र दोस्तो, देश र जनताको पक्षमा जिम्मेवार छन भने सँस्थागत बिघटन मात्र देखिन्छ। सर्वप्रथम स्वयं कांग्रेसको आदर्शवादी वर्गदृष्टिकोण तथा दलाल पुजीवादी राजनीतिक चरित्र र दोस्रोमा खड्ग ओली प्रचण्डहरुले नामधारी कम्युनिस्ट झण्डामा कांग्रेसको वर्गदृष्टिकोण र दलाल पुजीवादी राजनीतिक चरित्र खोस्न पुग्दा नेपाली कांग्रेसको यो दशा उत्पन्न भएको हो। जसरी कांग्रेसले प्रजातन्त्रको नारा दिएर देश र जनता लुट्ने हर्कत गर्यो, बुर्जुवा नेकपा ठिक त्यसरी नै कांग्रेसी चरित्रमा ओर्लियो। तब नेपाली राजनीतिमा कांग्रेसको स्थान अरुद्वारा खोसियो। बुर्जुवा नेकपाले अग्रगामी विचार र कार्यदिशाको आधारमा होइन, घोर प्रतिगामी दलाल पुजीवादी चरित्रमा पतन भएर कांग्रेसको संसदीय स्थान खोसेको हो। अतः दलाल तथा नोकरशाही पुजीवादी राज्यसत्ता बिरुद्द यहाँ सर्वहारा कम्युनिस्ट पार्टीको नेतृत्वमा वर्गसंघर्ष जारी छ र रहन्छ।

नेकपा (माओवादी केन्द्र) को तर्फबाट नेपाली कांग्रेसका साथीहरुलाई हठात कार्यार्थ निम्न सुझाव दोहर्याइन्छ

१. स्थापना कालदेखि आजसम्म भए गरिएका देश र जनता बिरुद्दका सम्पूर्ण अपराधहरु स्वीकार गर्दै अबोप्रान्त त्यसो नगर्ने सार्वजानिक प्रतिबद्दतासहित बाबुराम भट्टराई तथा उपेन्द्र यादब नेतृत्वको जसपासंग एकता गरियोस्। दुवैको घोषित मुख्यत् बुर्जुवा वर्गदृष्कोण र राजनीतिक विचारधारा मिल्दछ। जसपाको राज्य पुनः संरचना कार्यक्रममा कांग्रेसले स्वीकार गर्दा ती दुवैको संगठनात्मक एकताले नेपालमा पुजीवादी क्रान्तिलाई पूर्णता दिने प्रभावकारी जमर्को अपेक्षा गर्न सकिन्छ। त्यसले कांग्रेसको गुणात्मक एवं हठात रुपान्तरण गर्दछ।

२. अन्यथा इतिहास र कांग्रेसीजन स्वयंको बोझ नेपाली कांग्रेसलाई बिघटन गरियोस्। तब घोषित दलाल पुजीवादी खेमाको रुढिवादी बोझबाट देश र जनता मुक्त हुनेछन।

नेपाली कांग्रेसको त्यस्तो गुणात्मक रुपान्तरण या बिघटनले बुर्जुवा कम्युनिस्ट सरकारको सर्वत्र ज्यादती ध्वस्त बन्न पुग्छ र देश र जनतालाई एक किसिमले स्वतन्त्रताको श्वास फेर्ने वातावरण उपलब्ध गराउँछ। बल्ल बुर्जुवा नेकपाको दलाल तथा नोकरशाही पुजीवादी राजनीतिक उत्पीडन बिरुद्द देशभक्त एवं उत्पीडित जनसमुहको लडाइँको मार्ग प्रशस्त हुनेछ। जुन, वर्तमान नेपालको ऐतिहासिक एवं वस्तुगत आवश्यकता हो। अन्यथा बुर्जुवा नेकपाको दलाल पुजीवादी अपराधकै चिहानमा नेपाली कांग्रेस पनि गाडिने निश्चित छ। जेठो पार्टीको नाममा बहुदलीय शासनका निम्ति लडेर त्यसले जुन स्तरमा ब्याज भजायो, त्यो भन्दा कैयन गुणा बढ्ता त्यसले श्रमिकवर्ग, जाति, क्षेत्र, महिला र देशभक्त जनताको अग्रगमी आन्दोलनमा जटिलता थोपर्यो। अबको बहुदलीय गणतन्त्रमा कांग्रेसलाई त्यस्तो छुट उपलब्ध हुनै सक्दैन। समग्रमा, नेपालको अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, रोजगारी एवं सँस्कृति तथा देशीय स्वाधीनता जुन अधोगतिको मोडमा पुगेको छ, मुख्य जिम्मेवार नेपाली कांग्रेसको दलाल पुजीवादी राजनीतिक निरन्तरता हो। क्रान्तिकारी कम्युनिस्टहरुलाई दमन गर्ने र नसकेपछि आफु जस्तै दलाल बनाउने पनि त्यही कांग्रेस हो। अर्को, बहुदलीय प्रतिस्पर्धा स्वीकार गरिएको पृष्ठभूमिमा कांग्रेस पार्टी बिघटन हुँदा बुर्जुवा कम्युनिस्ट पार्टी बिरुद्द सर्वहारा कम्युनिस्ट पार्टीले वर्गसंघर्ष लडिने स्थिति स्वतः स्पष्ट छ।

(नेकपा माओवादी केन्द्रका अध्यक्ष, लेखक किराती समसामयिक, राजनीतिक तथा सामाजिक अवस्थाका विषयमा कलम चलाउने गर्दछन् ।)