कोरोना संक्रमितको संख्या ३ सय ५७ पुग्योः बाँकेमा थप ४७ संक्रमित भेटिए

नरैनापुर उच्च जोखिममाः सतर्कता अपनाउन अनुरोध

बाँके । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाईरसको सक्रमण नेपालका अन्य जिल्लाका साथै बाँकेमा समेत बढ्दै गएको छ । बाँकेमा आज थप ४७ जनामा संक्रमण देखिएपछि यहाँको अवस्था संकटपूर्ण बनेको छ ।

पछिल्लो रेकर्ड अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ५७ पुगेको छ । बाँकेको नरैनापुर क्षेत्रको क्वारेन्टाइनमा बसेका ४७ जनामा आज संक्रमण पाइएको हो ।

त्यहाँ रहेका २ सय ७३ जनाको स्वाब संकलन गरी भेरी अस्पतालमा परीक्षण गरिएको थियो । जसमा ४६ पुरुष र एक महिलामा संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यसैगरी त्यहाँ रहेका अरु ८१ जनाको स्वाब परीक्षण हुने क्रममा रहेको अस्पताल स्रोतले बताएको छ । कोरोना संक्रमण बाँकेमा बढेपछि स्थानीय सरकार र जिल्ला प्रशासनले लकडाउनमा थप कडाई गरेको छ ।

त्यसैगरी बाँकेको नरैनापुर गाउँपालिकामा कोरोनाका कारण एक जनाको मृत्यु समेत भएको बताइएको छ । कोरोना संक्रमण फैलिएको भन्दै आज जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गर्दै नरैनापुर गाउँपालिकाका सम्पूर्ण क्षेत्रलाई अत्यन्त जोखिमयुक्त क्षेत्रको रुपमा घोषणा गरेको छ ।

नरैनापुरमा अत्यावश्यक सवारी साधन बाहेक अन्य सबैमा कडाईका साथ रोक लगाईएको बुझिएको छ । कोरोना न्यूनिकरणका जिल्ला प्रशासनले उच्च सतर्कता अपनाउन भन्दै नागरिकमा अनुरोध समेत गरिरहेको छ ।

स्वास्थ्य मन्त्रालयले जनाए अनुसार विराटनगरका एक जना, गुल्मीका १, धनुषाका एक, रौतहटका एक, दाङका एक र धादिङका एक जनामा पनि कोरोना संक्रमण भेटिएको छ ।

यो सँगै नेपालमा संक्रमितको संख्या ३ सय ५७ पुगेको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणको रोकथामका लागि विभिन्न संघ, संस्था र सरकारी क्षेत्रले समेत महत्वपूर्ण संन्देश प्रवाह गरिरहेको छ ।