कोरोना संक्रमित बढें, नेपालमा १४ मा देखियोः ११ हजारको नमुना परीक्षण भयो

प्रहरीद्धारा सनसिटी अपार्टमेन्टमा सिलबन्दी

काठमाण्डौं । नेपालमा कोरोना भाइरस (कोभिड– १९) संक्रमित १४ पुगेका छन् । सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पिसिआर परीक्षणमा ६५ वर्षीया महिला र १९ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार वृद्धा कैलालीको लम्किचुहा नगरपालिका– १ भरुवाकी हुन् भने युवक रौतहटको इशनाथ नगरपालिका– ५ मोतीपुरका हुन् । क्वारेन्टाइनमा बस्दै आएका उनीहरूको र्यापिड टेस्ट गरिएको थियो । त्यहाँ पोजेटिभ देखिएपछि निश्चित गर्न पिसिआर टेस्टका लागि टेकु प्रयोगशाला पठाइएको थियो ।

दिल्ली बस्दै आएका संक्रमित युवक १६ चैतमा घर आएका थिए । दिल्लीबाट औषधि बोक्ने ट्रक चढेर मोतिहारीसम्म आएको र त्यहाँबाट पैदल घर आइपुगेको उनले बताएका छन् । उनी आएको थाहा पाउनासाथ सुरक्षाकर्मीले क्वारेन्टाइनमा राखेका थिए । संक्रमित युवकलाई सोमबार रातिसम्म पनि अस्पताल भर्ना भने गरिएको छैन ।

रौतहटका अस्पतालमा आइसोलेसन बेड नभएपछि उनलाई कहाँ उपचार गर्ने भन्ने निश्चित हुन नसकेको हो । जिल्लामा आइसोलेसन बेड, जनशक्ति, उपकरण नभएकाले उपचार हुन नसक्ने जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटका प्रमुख कृष्ण साहले बताए । प्रदेश २ का कोरोना संक्रमितलाई उपचार गर्न सरकारले जानकी, जनकपुर र नारायणी अस्पताल तोकेको छ ।

संक्रमित वृद्धा भने १८ चैतमा वीरगन्जबाट घर आएको परिवारले बताएका छन् । उनी वीरगन्जस्थित सीमा क्षेत्र आसपासमा चिया बेच्ने काम गर्थिन् । १७ चैतको बेलुका प्रहरीसँगको समन्वयमै उनीसहित ३४ जनाको टोली रिजर्भ गाडी लिएर घर फर्किएको थियो । तीमध्ये २६ जना कैलालीकै भएको र बाँकी अरू जिल्लाका बाटो–बाटोमा झरेको खुलेको छ ।

वृद्धाका परिवारका सदस्य र आफन्तसहित १७ जना घर फर्किएलगत्तै लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका थिए । तर, क्वारेन्टाइनको अनिवार्य अवधि १४ दिन पूरा नहुँदै नगरपालिकाले २९ चैतमै उनीहरूलाई घर पठाइदिएको थियो । र्‍यापिड टेस्टमा नेगेटिभ आएपछि घर पठाएको नगरपालिकाले जनाएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार वृद्धा घर फर्केपछि आफन्त र छरछिमेकका गरी ४४ जनाको सम्पर्कमा पुगेको देखिएको छ । तर, पिसिआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि वृद्धालाई धनगढीस्थित सेती अञ्चल अस्पतालमा आइसोलेसनमा राखेर उपचार सुरु गरिएको छ ।

उनको सम्पर्कमा आएकाहरूलाई क्वारेन्टाइनमा राख्न थालिएको छ । उनीसँगै यात्रा गरेका अन्यको पनि पहिचान भइरहेको प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

संक्रमितहरूमध्ये पाँचको धनगढीस्थित सेती अस्पतालमा, तीनको वीरगन्जस्थित नारायणी अस्पतालमा, दुईको बाग्लुङस्थित धौलागिरि अस्पतालमा र दुईको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा उपचार भइरहेको छ । पहिलो संक्रमित टेकुमा उपचारपछि निको भइसकेका छन् । उपचाररत सबैको स्वास्थ्य सामान्य रहेको अस्पतालहरूले जनाएका छन् ।

सरकारले सोमबारसम्म देशभर १० हजार नौ सय ८२ शंकास्पदको नमुना परीक्षण गरेको छ । यीमध्ये र्‍यापिड टेस्ट किटमार्फत पाँच हजार दुई सय ९१ र पिसिआर प्रविधिमार्फत पाँच हजार ६ सय ९१ नमुना परीक्षण गरेको छ । पछिल्लो २४ घन्टामा मात्रै देशभर पाँच सय १९ नमुना परीक्षण गरिएकोमा दुईजनाको पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले बताए ।

द्रुत परीक्षण गरेर कोरोना महामारी नियन्त्रण गर्ने भन्दै सरकारले सातवटै प्रदेशमा पाँच हजारका दरले र्‍यापिड टेस्ट किट पठाएको छ । ५२ जिल्लामा नमुना संकलन भइरहेको छ । सोमबारसम्म सात हजार एक सय ६६ जना क्वारेन्टाइनमा छन् । सुदूरपश्चिममा मात्रै एक हजार ९७ जना क्वारेन्टाइनमा छन् ।

देशभर संक्रमित १३ सहित एक सय तीनजना आइसोलेसनमा छन् । सुदूरपश्चिममा मात्रै १७ जना आइसोलेसनमा रहेको प्रदेश स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए । सुदूरपश्चिममा दुई हजार चार सयको नमुना संकलन गरिएको छ । क्वारेन्टाइनमा बसेकाहरूलाई र्‍यापिड टेस्टमा नेगेटिभ आएकै भरमा घर पठाउन थालिएको छ ।

६५ वर्षीया वृद्धाको केसलाई हेर्दा यसले जोखिम बढाउने देखिन्छ । पिसिआरमा रिपोर्ट पोजेटिभ आएपछि र्‍यापिड टेस्टको विश्वासनीयतामा प्रश्न उठेको छ । उता सरकारले संक्रमितको संख्या दिनहुँ बढ्न थालेपछि क्वारेन्टाइनको पूर्ण पालना गर्न सबैमा अपिल गरेको छ । जोखिम बढ्न थालेको भन्दै प्रवक्ता देवकोटाले धैर्य गरी घरमै बसिदिन अनुरोध गरेका छन् ।

सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीनजनालाई र्‍यापिड टेस्टमा पोजेटिभ देखियो, पिसिआर परीक्षणको रिपोर्ट आउन बाँकी काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीनजनालाई र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएको छ ।

कागेश्वरी मनोहरा नगरपालिकाले विदेशबाट आएका ३६ जनाको नमुना सोमबार मुलपानीस्थित नगर अस्पतालमा परीक्षण गर्दा तीनजनामा पोजेटिभ देखिएको हो । उनीहरू आमा, छोरा र बुहारी हुन् । तीनैजनालाई तत्कालै पाटन अस्पताल भर्ना गरिएको छ । अब उनीहरूको नमुना पिसिआर प्रविधिबाट जाँच गरेपछि निश्चित गरिने अस्पतालका निर्देशक डा. विष्णु शर्माले बताए ।

कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाका अनुसार उनीहरू ५ चैतमा लन्डनबाट फर्किएका थिए । उनीहरूलाई लक्षण भने देखिएको थिएन । तर, र्‍यापिड टेस्ट गर्दा पोजेटिभ देखिएको उनले बताए । संक्रमण देखिएकाहरूले सेल्फक्वारेन्टाइनमा बस्दै आएको बताएका छन् ।

उता, प्रहरीले सोमबारै अपार्टमेन्ट सिल गरेको छ । अपार्टमेन्टभित्र करिब पाँच सय परिवारका १८ सय बस्छन् । तीनजनाको पिसिआर परीक्षण रिपोर्ट नआएसम्म अपार्टमेन्टका कसैलाई पनि बाहिर–भित्र गर्न दिइएको छैन ।

अपार्टमेन्टको गेटमा प्रहरी तैनाथ गरिएको छ । भित्र कसैलाई औषधिलगायत अत्यावश्यक सामान चाहिए प्रहरीमार्फत नै उपलब्ध गराउने व्यवस्था मिलाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले बताए । अपार्टमेन्टभित्रै कार्यक्रमहरू भएको, लिफ्टको प्रयोग हुने र नजिकैको एटिएम बुथ धेरैले प्रयोग गरेकाले भित्र बस्नेहरू त्रसित बनेका छन् ।

पिसिआर टेस्टबाट पनि तीनजनाको रिपोर्ट पोजेटिभ आए अपार्टमेन्टमा बस्ने सबैको परीक्षण गर्ने सरकारको तयारी छ । साथै उनीहरू बेलायतबाट आएको विमानका अन्य यात्रुहरूको समेत प्रहरीले खोजी सुरु गरिसकेको छ ।

(यो समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ ।)