प्रेस काउन्सिलद्धारा आचारसंहिता पालनामा कडाइः २१ अनलाइनसँग स्पष्टिकरण माग

५ माथि प्रतिबन्धः अनुगमन प्रभावकारी

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस संक्रमणले जनजीवनमा समस्या पारेको बेला अनाधिकारीक श्रोत तथा तथ्यहीन समाचार सम्प्रेषण गरी नागरिकमा थप समस्या एवं त्रास फैलाउने काम गरेको आरोपमा प्रेस काउन्सिलले विभिन्न अनलाईन समाचार माध्यमहरुमाथी कारबाही थालेको छ ।

काउन्सिलले हिजो इमेल मार्फत एक प्रेस नोट जारी गर्दै त्यस्तो बताएको हो । काउन्सिलले कोरोना भाइरस संक्रमण सम्बन्धमा अफवाह फैलाई जनजीवनलाई सन्त्रस्त बनाउने सामग्री सम्प्रेषण हुन थालेपछि आचारसंहिता पालनामा थप कडाइ गर्दै त्यस्तो कारबाही गर्नुपरेको बताएको छ ।

काउन्सिलले आमसञ्चारमाध्यमको अनुगमनलाई तीव्र बनाएको भन्दै सत्य, तथ्य र अवस्थालाई नकारात्मक प्रभाव नपर्ने खालका समाचार सामाग्रीहरु सम्प्रेषण गर्नुपर्नेमा सचेत गराएको छ ।

काउन्सिलले अनुगमनको क्रममा यही चैत्र १० गते विभिन्न २१ वटा अनलाइनलाई पत्राचार गरी २४ घण्टे स्पष्टिकरण सोध्ने, सचेत गराउने र १६ वटाको त्यस्ता सामाग्री सम्प्रेषण नहुने व्यवस्था मिलाउने काम भएको जनाएको छ ।

त्यसैगरी काउन्सिलले यहि चैत ११ गते १ वटा अनलाईनसँग स्पष्टिकरण मागिएको बताएको छ । त्यस्तै सूचीकरण तथा दर्ता नभएका ५ वेबसाइट नेपालमा नखुल्ने गरी प्रबन्ध मिलाइएको बताएको छ ।

कोरोना संक्रमण रोकथामको लागि देशभर आवतजावत बन्द गरी आमजनता घरभित्रै बसिरहेको अवस्थामा पनि काउन्सिलले दैनिक ७ जनाका दरले कार्यालयमा उपस्थित भएर र बाँकी कर्मचारीले घरघरबाटै अनुगमन गर्ने व्यवस्था मिलाइएको छ ।

यस्तो संवेदनशील घडीमा सम्पूर्ण सञ्चार माध्यमलाई सत्यतथ्य, आधिकारिक र पुष्टि हुने समाचार समाग्री मात्र सम्प्रेषण गर्न आग्रह समेत काउन्सिलले गरेको छ ।