‘लकडाउन’ मा  के गर्दै छन् युवा नेताहरु  ? कोरोना त्रासको ‘बन्धक’ होइन आत्मबल बढाउन जरुरी !हेर्नुहोस् ।

अध्ययन र सचेतनामूलक संन्देश फैलाउने नेताहरु

(कोरोनासँग ‘आत्मसमर्पण’ युद्ध होस् वा प्राकृतिक प्रकोप, हरेक संकटबाट उम्किन युवा पुस्ताको महत्वपूर्ण भूमिका हुन्छ । तर, विश्वव्यापी महामारी बनेको कोरोना भाइरस (कोभिड–१९) सँग लड्ने अवस्थामा युवा पुस्ता पनि छैन । विश्व स्वास्थ्य संगठनले ६० वर्षमाथिका र दीर्घरोगी उच्च जोखिममा रहने बताए पनि कोभिड–१९ विरुद्धको लडाइँमा अहिलेसम्म युवा पुस्ता पनि ‘आत्मसमर्पण’ गर्न बाध्य बनेको बताएको छ । सरकारको ‘लकडाउन’मा उनीहरू पनि ‘बन्धक’ बनेका छन् । त्यसैले ‘लकडाउन’को समयमा घरमै बसेर उनीहरू कोभिड–१९ विरुद्धको सचेतनामा लागिरहेका छन् ।

कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि सरकारले ११ देखि १८ चैतसम्म सिंगै मुलुकलाई ‘लकडाउन’ गरेपछि राजनीतिक दलका युवा नेता तथा युवा सांसदहरू पनि बन्धकजस्तै बनेका छन् । गणतन्त्र प्राप्तिको आन्दोलनदेखि महाभूकम्पसम्मका घटनाक्रममा सडकको मोर्चामा होस् या अन्य गतिविधिमार्फत अग्रभागमा देखिने युवा नेताहरू कोरोना भाइरस संक्रमणको त्रासका कारण निवासमै ‘बन्धक’जस्तै बनेका हुन् ।

उमेरका हिसाबले पनि शीर्ष नेताहरूमा संक्रमणको बढी जोखिम रहे पनि कम जोखिममा रहेका युवा नेताहरूले संगठित रूपमा ‘सचेतना अभियान’को नेतृत्व गर्न सकेका छैनन् । विगतमा युवा नेताहरूबीच संसद्देखि सडकसम्मका विभिन्न मोर्चामा सहकार्यसमेत हुने गरेकोमा उनीहरूबीच कोरोना भाइरसको सम्भावित संक्रमण र जोखिमको सामना गर्ने उपायबारे छलफलसमेत हुन सकेको छैन । सामाजिक सञ्जालमार्फत सचेतनाको सम्प्रेषण गर्नेबाहेक प्रायःजसो नेताहरू ‘लक डाउन’को अवधिलाई परिवारलाई समय दिने, टेलिफिल्म र फिल्म हेर्ने, लेख्ने, पढ्ने काममै बिताउने योजनामा देखिएका छन् ।)

कांग्रेस प्रवक्ताः विश्वप्रकाश शर्मा-‘सचेतनामूलक गीत सम्प्रेषण’

विश्वप्रकाश शर्मा

कांग्रेस प्रवक्ता शर्मा देशभरका घटनाक्रमबारे अपडेट हुनेदेखि कोरोनाविरुद्ध सामाजिक सञ्जालमार्फत सचेतना अभियान चलाउने काममा सक्रिय छन् । शर्माले यसबीचमै कोरोनाको विपत्तिमा सचेत रहन आग्रह गरिएको जागरण गीतसमेत रेकर्ड गराएर बजारमा ल्याइसकेका छन् । ‘त्यही गीतलाई जनमानसमा पुर्‍याउने उद्देश्यले संवाद गरिरहेको छु, समाचार पढ्ने, सामाजिक सञ्जालमा कोरोना सतर्कताको सन्देश सम्प्रेषण गर्ने काममा पनि सक्रिय छु,’ शर्माले भने, ‘प्रवक्ताको पनि जिम्मेवारी भएकाले देशभरका घटनाको अपडेट भइरहनुपर्छ । पार्टी धारणा बाहिर ल्याउनेसहितका काममा सक्रिय छु ।’

नेकपाका केसः लेखनाथ न्यौपाने-‘अध्ययन र सचेतनाको काममा’

लेखनाथ न्यौपाने

नेकपाका नेता न्यौपाने अध्ययनमै एक साता बिताउने योजनामा छन् । यद्यपि, उनले यो मौकामा परिवारलाई पर्याप्त समय दिएर उनीहरूलाई खुसी राख्ने पनि बताए । ‘दुईजना बच्चा छन्, उनीहरूलाई समय दिन्छु । तत्कालका लागि बाहिरी भेटघाट बन्द गरेको छु, पढ्ने किताबहरूको लिस्ट बनाएको छु, पढेरै दिन बिताउनेछु,’ न्यौपानेले भने ।

केही युवा नेता लकडाउनमा घरमै बसेर पनि सरकारको नीति र निर्णयमा सहयोग पुगिरहेका छन् । उनीहरुले घरबाटै कोरोनाको सम्भावित संक्रमणबाट बच्न कार्यकर्तालाई, साथीहरूलाई सन्देश पठाउने गरेका छन् । अहिले जनमानसलाई भ्रमभन्दा सही सूचनाको खाँचो छ । तसर्थ सचेत रहन आग्रह गर्दै सही सूचना सामाजिक सञ्जाल र फोनमार्फत दिन आवश्यक छ ।

राजपाः महासचिव केशव झा-‘सूचनामा हेर्ने र पढ्ने’

केशव झा

राजपाका महासचिव केशव झा पनि नियमित रूपमा सूचनामा अपडेट हुने र किताब पढ्नेबाहेक कुनै थप योजनामा देखिँदैनन् । ‘बाहिर निस्कने कुनै सोच छैन । कोठामै बसेर पार्टी र बाहिरका साथीहरूसँग सम्पर्क गर्दै सबैतिर लकडाउन सफल बनाउन आग्रह गरिरहेको छु,’ झाले भने, ‘घरमा बस्दा बचेको अन्य समयमा किताबहरू पढने पनि गर्छु र बाहिरी संसारमा के भइरहेको छ, त्यो पनि हेरेर अपडेट हुने गरेको छु ।’ यद्यपि, पार्टी र संसद्को दोहोरो जिम्मेवारीमा रहेका केही युवा नेता भने निर्वाचन क्षेत्रप्रति पनि जवाफदेही हुनुपर्ने बाध्यतामा छन् । (यो सामाग्री नयाँ पत्रिकामा प्रकाशित समाचारबाट लिइएको हो )