विदेशमा रहेका नेपालीलाई कोरोनाले पारेको समस्याः हेर्नुहोस यस्तो छ परदेशको सन्देश

अधिकांश भन्छन–‘आफ्नो देश फर्कन पाए हुन्थ्यो’

काठमाडौं । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसबाट हालसम्म ११ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । चीन, दक्षिण कोरिया, इरान, इटाली, स्पेन, फ्रान्स, बेलायत, पोर्चुगल, अमेरिकालगायतका देश धेरै प्रभाविदेशमा रहेका नेपालीलाई कोरोनाले पारेको समस्याः हेर्नुहोस यस्तो छ परदेशको सन्देशवित बनेका छन् । कुवेत, माल्दिभ्स, कतारलगायतका मुलुक पनि कोरोनाबाट प्रभावित बनेका छन् ।

यी देशमा लाखौँ नेपाली नागरिक छन्, जो यतिवेला कोरोना संक्रमणको त्रासमा छन् । त्यहाँ रहेका नेपालीको अवस्था कस्तो छ ? पूरै देश र सहरले यो विपतको सामना कसरी गरिरहेका छन् ? नेपालीले के कस्ता समस्या व्यहोरिरहेका छन् र नेपाल सरकारसँग उनीहरूको अपेक्षा के छ ? यी विषयमा कोरोना प्रभावित देशमा रहेका नेपाली नागरिकले आफ्नो समस्या र सन्देश यसरी सुनाएका छन् ।

केशव शर्मा, क्यानडाः रेस्टुरेन्टमा काम गर्नेहरू बेरोजगार

अध्ययनको सिलसिलामा पाँच वर्षअघि क्यानडा आएको थिएँ । इन्जिनियरिङमा विद्यावारिधि गरेँ । हाल भूगर्भविद्का रूपमा कार्यरत छु । अल्बेटा राज्यको एल्बल्टनमा बस्छु । मेरी श्रीमती विगुल पोखरेल ब्रिटिस कोलम्बिया राज्यको कलोनामा छिन् । छात्रवृत्ति पाएर मास्टर्स गर्दै छिन् । विश्वविद्यालय बन्द भएको छ, तैपनि हाम्रो भेट हुन सकेको छैन । नेपाल र भारतबीच खुला सीमा भएजस्तै क्यानडा र अमेरिकाबीच पनि कतिपय खुला सीमा छन् ।

ती सीमा अहिले बन्द गरिएका छन् । अन्तर्राष्ट्रिय उडान बन्द गरिएका छन् । डोमेस्टिक उडान भने कायम छन् । मान्छेका मुभमेन्ट धेरै कम भइसकेको छ । टोरेन्टो, भ्यानकोभरमा कफ्यु लागेजस्तै छ । क्यालगरी, एडमन्टन पनि सुनसान छ । रेस्टुरेन्ट प्रायः बन्द छन् । फिल्म हल, पब चलेका छैनन् । २०, २५ जनाभन्दा बढी जम्मा हुन दिइएको छैन । प्राथमिक तहदेखि विश्वविद्यालयसम्मका शिक्षण संस्था बन्द छन् ।

पछिल्लो तथ्यांकअनुसार यहाँ कोरोना संक्रमणको संख्या करिब सात सय छ । टोरन्टो, क्यालगरी र एडमन्टन सबैभन्दा बढी प्रभावित क्षेत्र हो । यहाँ करिब ९० प्रतिशत नेपाली बस्छन् । तर, अहिलेसम्म कुनै पनि नेपालीलाई संक्रमण भएको सुनिएको छैन । हुन त, गोपनीयताका कारण अरू संक्रमितको विवरण पनि सार्वजनिक गरिएको छैन । यहाँ रहेका नेपाली नेपाल फर्कन आतुर छैनन् । यहाँको स्वास्थ्य प्रणाली नेपालको भन्दा राम्रो छ । धेरैले पिआर पाएका छन्, र परिवार यतै ल्याएका छन् ।

दुई सातादेखि म घरबाटै काम गरिरहेको छु । अरू प्रोफेसनलहरूले पनि घरबाटै काम गरिरहनुभएको छ । रेस्टुरेन्टमा काम गर्नेचाहिँ बेरोजगार हुनुभएको छ । तर, सरकारले रोजगार बिमालगायतका कार्यक्रममार्फत सहायता दिन भनेर २७ बिलियन डलर छुट्याएको छ । यो संकटका कारण नोकरी गुमाएकालाई आधारभूत तलबको ७० प्रतिशतसम्म रकम सरकारले दिन्छ ।

त्यसैले कोठाभाडा तिर्न, जीविका चलाउन समस्या पर्दैन । इटाली, कोरिया, इरानमा जस्तो यहाँ कोरोना संक्रमण बढेको छैन । जति फैलिएको छ, त्यो पनि नियन्त्रण हुन्छ भन्ने विश्वास छ । त्यसैले यहाँँका नेपाली त्रसित छैनन् । नेपालले आफ्ना नागरिकलाई फर्कन लगाएको रोकले यहाँ बस्नेलाई खासै असर पर्दैन ।

रामराज शर्मा, लन्डन, बर्नमाउथः ज्येष्ठ नेपाली नागरिक जोखिममा छन्

यहाँ सबै त्रासमा छन् । नेपालीहरू अलि बढी नै चिन्तित देखिन्छन् । नेपालीहरूको ठूलो संख्या ब्रिटिस आर्मीबाट रिटायर्ड भएकाको छ । यहाँ रहेका तीन लाख नेपालीमध्ये ६० प्रतिशत ६५ वर्षमाथिका छन् । त्यसैले कोरोना संक्रमणको जोखिम बढी देखिन्छ । हाम्रो स्वास्थ्य अवस्था पनि ब्रिटिस नागरिकको भन्दा कमजोर छ । हामी नेपाली सरकारका सुझाब पूर्ण रूपमा पालना गर्दैनौँ ।

सरकारले ७० भन्दा माथिका नागरिकलाई बाहिर नजान आह्वान गरेको छ । २० तारिखदेखि सामाजिक गतिविधि बन्द भएका छन् । रेस्टुरेन्ट, पब बन्द छन् । यहाँ, प्रोफेसनल काम गर्नेहरू कम छन् । म दुई सातादेखि घरबाटै काम गरिरहेको छु । अझै दुई महिना काम गर्ने योजना छ । तर, धेरै नेपाली रेस्टुरेन्ट व्यवसाय र केयर वर्करका रूपमा कार्यरत छन् । रेस्टुरेन्ट बन्द भए पनि केयर वर्करले बिदा पाउने कुरा भएन । त्यसैले उनीहरू संक्रमणको जोखिममा छन् ।

पूरै लन्डन लक्ड डाउन छैन । तर, पार्कमा तीनजना पनि जम्मा हुन निषेध गरिएको छ । यहाँ रहेका धेरै नेपाली ज्येष्ठ नागरिकहरू १५-२० जनाको समूह बनाएर पार्कमा जम्मा हुने गर्थे । अहिले घरमै बस्नु परेकाले समय बिताउन गाह्रो परेको छ । तैपनि नेपाल फर्कने चाहना कसैमा देखिँदैन । नेपालमा कोरोना फैलिँदैन भन्ने विश्वास कसैलाई छैन । फैलियो भने उपचार पाइँदैन, बरु यहाँ उपचारको सुविधा छ । स्वास्थ्य बिमा छ । उपचार निःशुल्क छ ।

रेस्टुरेन्ट व्यवसाय चौपट भएको छ । जागिर गुमाउनेहरू धेरै छन् । रेस्टुरेन्ट, पब कम्तीमा ६ महिना बन्द हुन सक्छन् भनिएको छ । सरकारले जागिर गुमाउने र साना रेस्टुरेन्ट व्यवसायीलाई तीन महिनाका लागि २५ हजार पाउन्ड क्षतिपूर्तिको घोषणा गरेको छ । त्यसैले तीन महिनासम्म त कसैलाई पनि समस्या नहोला ।

त्यसपछि पनि समस्या लम्बियो भने ठूलो असर पर्नेछ । सुपर मार्केटमा खाद्यान्नको अभाव हुन थालेको छ । खाद्यान्नका स्टोर खाली भइसकेका छन् । विशेषगरी, नेपालीहरूको बाक्लो बसोवास रहेको स्थानका खाद्यान्न स्टोरमा चामल, दाल, नुनको अभाव छ । यस्तो त्रासको अवस्थामा दूतावासले अभिभावकीय भूमिका निभाउन सकेको छैन ।

नेपाल सरकारले जारी गरेका सूचना सम्प्रेषण गर्नेबाहेक यहाँको दूतावासले अरू केही गरेको छैन । आफ्ना नागरिकलाई सुविधा दिन यहाँको सरकारले ब्याजदर घटाएको छ । बैंकले पनि तीन महिना किस्ता तिर्न नपर्ने सहुलियत दिएका छन् । संकट लम्बियो भने यहाँको किस्ता तिर्न नेपालका घरखेत बेचेर गैरकानुनी बाटोबाट पैसा भित्र्याउनुपर्ने अवस्था आउनेछ ।

रमेश कँडेल, पोर्चुगल लिस्वनः कम्पनीहरूले धमाधम कामदार निकाल्दै

नौ दिनअघि नेपालबाट युरोप निस्किएको थिएँ । फ्रान्स, जर्मन हुँदै अहिले पोर्चुगलमा छु । यहाँ धेरै नेपालीसँग सम्पर्क भएको छ । कम्पनीहरूले धमाधम कामदार निकालिरहेका छन् । फारोमा एकजना नेपालीमा संक्रमण देखिएकाले सबै ७४ जनालाई क्वारेन्टाइनमा राखेको सुनेको छु ।

डिपार्टमेन्टल स्टोर खुलेका छन् । नेपाली र भारतीयले खाद्यान्न बढी जोहो गरेर राख्ने गरेकाले उनीहरूको बाहुल्य रहेका क्षेत्रका स्टोरमा खाद्यान्न कम पाइएको नेपालीले नै बताएका छन् । अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन भनेकाले धेरैजसो घरभित्रै बसेको देखिन्छ । बाहिर खास चहलपहल छैन ।

सरोज चापागाईं, माल्दिभ्सको मालेः बिपत्तिका वेला देश फर्कन नपाउने

माल्दिभ्समा करिब पाँच हजार छन् । म ११ महिनादेखि यहाँ छु । हाल मालेनजिकैको आइल्यान्डमा रहेको ‘क्रस रोड रिसोर्ट’मा रिसिभिङ अफिसरका रूपमा काम गर्दै छु । यहाँ ११ जना नेपाली छौँ । एक सातादेखि माले लक्ड डाउन छ । सरकारी कार्यालय, उद्योग–कलकारखाना, शिक्षण संस्था, होटेल रेस्टुरेन्ट बन्द छन् । अत्यावश्यक सेवा मात्र सुचारु छ । बाहिर हिँडडुल गर्न दिएको छैन ।

अहिलेसम्म कुनै नेपालीलाई संक्रमण देखिएको छैन । तर, धेरै नेपालीमा त्रास छ । खासगरी तत्कालै देखिएका समस्या र भविष्यमा रोजगारी के हुन्छ भन्ने चिन्ताले धेरैलाई सताएको छ । रिसोर्टमा बसिरहेका हामीलाई खान–बस्न समस्या छैन । आधारभूत तलब दिन्छु भनेको छ । तर, सप्लाई एजेन्सीमा काम गर्नेहरूलाई समस्या छ ।

आफैँले पकाएर खानुपर्ने भएकाले खाद्यान्न अभाव हुन सक्छ । यहाँ नेपाली दूतावास छैन । गैरआवासीय नेपाली संगठन पनि छैन । श्रीलंकामा रहेको दूतावासले नै माल्दिभ्स पनि हेर्छ । उसले अहिलेसम्म सम्पर्क गरेको छैन । यहाँको सरकारले पनि अन्तर्राष्ट्रिय उडान बन्द गर्ने चर्चा चलिरहेको छ । स्वदेश जान चाहनेहरूलाई फर्कन आह्वान गरिरहेको छ । तीन महिनाको आधारभूत तलब दिन्छौँ घर फर्किनुस् भनेको छ । तर, नेपाल सरकारले नै हामीलाई आफ्नो घर फर्कने ढोका बन्द गरिदियो ।

अप्ठ्यारो परेका वेला त हो, देश चाहिने, घर चाहिने । वुहानका नेपालीले जस्तै चार्टर्ड गरेर हामीलाई रेस्क्यु गर भनेर यहाँ कार्यरत नेपालीले भनेका छैनन् । फर्किन चाहनेलाई नरोक भनेका हौँ । अप्ठ्यारो परेका वेला देश चाहिने हो । आफ्ना नागरिकलाई विमान चार्टर्ड गरेर ल्याउनुपर्ने हो ।

हामी आफैँ आउँछौँ भन्दा पनि रोकिएको छ । घरका मान्छे आत्तिएका छन् । घर फर्कन भनिरहेका छन् । यहाँबाट जा भनिरहेको छ । तर, सरकारले नआइज भन्छ । हामीले पठाएको रेमिटेन्सले मुलुक चलाउने, हामीले नै चन्दा दिनुपर्ने । तर, विपत्तिका वेला आफ्नै देश फर्कन नपाउने ? योभन्दा दुःखलाग्दो अवस्था अरू हुन सक्दैन ।

दुर्गा पंगेनी, कतार, इन्डस्ट्रियल एरिया, सनैयाः डिपोर्ट गरिएका २५० नेपालीलाई किन क्वारेन्टाइनमा राखिएन ?

मेरो घर स्याङ्जा हो । म १६ वर्षदेखि कतारमा रोजगार गर्दै छु । हाल मसरफ अलरैयान बैंकमा काम गर्छु । म बसेको प्रांगणमा आठ सयदेखि एक हजारजना नेपाली छन् । अहिलेसम्म यस क्षेत्रमा कोरोनाको संक्रमण भेटिएको छैन । कतार सरकारले सबैलाई घरभित्रै बस्नु भनेको छ । शंकास्पद बिरामीलाई क्वारेन्टाइनमा राखेको छ ।

अहिलेसम्म खान–बस्न समस्या छैन । कतार सिटी लक्ड डाउन छ । जसकारण रोजगार गुमाएकाहरू कामदारलाई आधारभूत तलब भुक्तानी गर्न सबै रोजगारदाता कम्पनीलाई निर्देशन जारी गरेको छ । रोजगारदाता कम्पनीहरूले सरकारसँग क्षतिपूर्ति माग्न पाउनेछन् भने व्यापार–व्यवसाय गर्नेहरूका घरभाडा मिनाह गरिएको छ ।

यसबीचमा २५० नेपालीलाई कतार सरकारले डिपोर्ट गयो । लक्ड डाउन गरिएको सिटीको कानुन तोडेकाले उनीहरू डिपोर्ट गरिएका हुन् । तर, यहाँबाट डिपोर्ट गरिएका नेपाली अहिले कहाँ छन् ? यो गम्भीर कुरामा सरकारले ध्यान दिएन । उनीहरू लक्ड डाउन सिटीका विभिन्न स्थानमा घुमिरहँदा पक्राउ परेका थिए । अर्थात् संक्रमणको जोखिममा थिए । नेपाल सरकारले उनीहरूलाई विमानस्थलबाटै क्वारेन्टाइनमा लगेर राख्नुपथ्र्यो ।

कृष्णचन्द्र तिमल्सिना, मलेसियाः सेवासुविधा कटौती हुँदै छ ?

साढे दुई वर्षदेखि सेलेङ्गर साहाआलम सुवाङमा रहेको फुड कम्पनीमा काम गरिरहेको छु । यो उद्योगको चेन रेस्टुरेन्टसमेत छ । पूरै मलेसिया लक्ड डाउन भए पनि यसका १२ शाखामध्ये अस्पतालमा सञ्चालित रेस्टुरेन्ट खुलेका छन् । त्यससँग जोडिएको हुनाले म कार्यरत उद्योग पनि चलिरहेको छ । हामी अहिले आठ घन्टा मात्र काम गरिरहेका छौँ । हामीले पाउँदै आएका अन्य सबै सुविधा रोकिएका छन् ।

आधारभूत तलब मात्र दिइएको छ । बाहिर हिँडडुल गर्न लगभग बन्द छ । अहिले कुनै समस्या छैन । खान, बस्न, रोगको समस्या छैन । आठ घन्टा मात्र काम गर्नुपरेकाले अन्य सुविधा रोकिएका छन् । आधारभूत तलब मात्र पाइएको छ । यसले समस्या परेको छ ।

सन्तोष न्यौपाने, बेल्जियम ब्रुज सहरः कामदारलाई १४५० युरो बेरोजगार भत्ता खै ?

बेल्जियममा करिब ६ हजार नेपाली छन् । अहिलेसम्म कुनै पनि नेपालीमा संक्रमण भएको सुनिएको छैन । युरोपकै देश भए पनि इटाली, स्पेन, पोर्चुगलजस्तो कठिन अवस्था बेल्जियममा आएको छैन । समयमै सतर्कता अपनाइएकाले अहिलेसम्म ठूलो क्षति नभएको हो । यद्यपि अहिले पनि उच्च सतर्कता छ । अत्यावश्यक सेवा खुला भए पनि अरू सबै बन्द गरिएका छन् । हिँडडुल रोकिएको छ ।

धेरै नेपाली रेष्टुरेन्ट व्यवसायमा जोडिएका छन् । ती बन्द भए पनि प्रत्येक कमदारलाई १४ सय ५० युरो बेरोजगार भत्ता दिने घोषणा भएको छ । ‘होम लोन’ लिएकालाई अहिले ब्याज मात्र तिर्ने व्यवस्था गरिएको छ । सरकारले टेक्निकल क्षेत्रमा काम गर्ने कामदारलाई बिजुली, पानी र ग्यास तीन महिना मिनाह गरेको छ । सरकारको निर्देशन उल्लंघन गर्नेलाई भने तत्काल पाँच सय युरोसम्म जरिवाना तिराउन थालिएको छ ।

अशोक पोखरेल, इटालीको सेरारः अस्पतालमा बेड अभाव छ, संक्रमणको जोखिम बढ्दै छ ?

अहिले कोरोनाको संक्रमण युरोपमा चरम उत्कर्षमा छ । सबैभन्दा बढी क्षति इटालीमा भइरहेको छ । इटालीको लुम्बाडी क्षेत्रमा सबैभन्दा धेरै मानवीय क्षति भएको छ । मिलाननजिक पर्ने यो ठाउँको स्थिति डरलाग्दो छ । ९० प्रतिशतसम्म मृतक र संक्रमित लुम्बाडीकै छन् ।

यहाँ ज्येष्ठ नागरिकको बसोवास बढी छ । उनीहरू घुमफिर, पार्टीमा बढी रमाउने भएकाले बढी संक्रमित भएको ठानिएको छ । यस्तै, यहाँ पारिवारिक भेटघाट हुँदा अँगालो मार्ने, गाला जोडेर आत्मीयता साट्ने परम्परा भएकाले पनि संक्रमण फैलिएको अनुमान छ ।

युरोप आफैँ एउटा देशजस्तो छ । युरोपका देशबीच ‘मुभमेन्ट’ बढी भएकाले फैलिन सहज भयो जस्तो लाग्छ । इटालीमा कति नेपाली छन् भनेर आधिकारिक डाटा छैन । यहाँ रहेका विभिन्न संघसंस्थाले १५, १६ सय नेपाली रहेको बताउँछन् । तर, यो आधिकारिक होइन । यहाँ दूतावास छैन । स्विट्जरल्यान्डको जेनेभामा रहेको नेपाली दूतावासले इटाली पनि हेर्छ । त्यसैले सीधा सम्पर्क गर्न कठिनाइ परिरहेको छ । एक वर्ष तीन महिनाअघि म इटाली आएको हुँ । मेडिकल फिजिक्स पढिरहेको छु । हाल अस्पतालमा इन्टनसिप गर्छु । युनिभर्सिटी बन्द छन् ।

इन्टर्न गरिरहेको अस्पतालले मलाई छुट्टीमा बस्न भनेको छ । हाल म बसिरहेको क्षेत्रमा चारजनाको मृत्यु भइसकेको छ । तर, कुनै पनि नेपाली संक्रमित भएका छैनन् । सबै सेल्फ क्वारेन्टाइनमा छौँ । त्यसो त, पूरै इटाली सेल्फ क्वारेन्टाइनमा छ । पूरा देश लक्ड डाउन भएकाले अध्ययन तथा रोजगारका लागि यहाँ आएका नेपालीलाई बढी असर छ । पूरै इटालीमा रेस्टुरेन्ट र बार बन्द छन् । पढ्न आएकाहरू अधिकांश रेस्टुरेन्टमा काम गर्ने भएकाले बेरोजगार भएका छन् ।

अब आउने दुई साता सबैभन्दा बढी जोखिमको समय भनिएको छ । त्यही अवधिमा कोरोना संक्रमण ‘पिक’मा पुग्ने र बिस्तारै कम हुने भनिएको छ । तर, लुम्बाडी क्षेत्रका अस्पतालमा बेड कम छन् । रोग लागेको पुष्टि भइसक्दा पनि सेल्फ क्वारेन्टाइनमा पठाउने गरिएकाले जोखिम बढेको छ । रोग लागेको पुष्टि भएको व्यक्ति घरबाट बाहिर निस्किए मान्छे मारे बराबरको कैद सजाय दिने भनिएको छ । सामान्य मानिसलाई क्वारेन्टाइन नियम तोडे दुई सय ६ युरो र तीन महिना जेल सजाय सुनाइएको छ ।

गणेश पाण्डे, पोर्चुगल लिस्वनः धेरै नेपाली समस्यामा पर्नेछन

मेरो घर कैलालीको धनगढी हो । युरोप बस्न थालेको १३ वर्ष भयो । पाँच वर्षदेखि पोर्चुगलमा छु । एक साताअघिसम्म खासै प्रभाव नदेखिए पनि अहिले कोरोना संक्रमण फैलिँदै गएको छ । डेढ महिनाअघि इटालीमा आयोजित एक ‘कार्निभल’बाट पोर्चुगलमा कोरोना भित्रिएको यहाँका सञ्चारमाध्यमले लेखेका छन् ।

युरोपको सबैभन्दा चर्चित फेस्टिभलका रूपमा करिब डेढ महिनाअघि इटालीमा एउटा ‘कार्निभल’ आयोजना भएको थियो । त्यसमा सबै सहभागी हुन भनेर युरोपभर एकै समयमा बिदा दिने गरिन्छ । अघिल्ला वर्षजस्तै हजारौँ मान्छे त्यहाँ जम्मा भए । त्यहीँ सहभागी भएर फर्किएकी पोर्चुगलकी एक शिक्षिकामा पहिलोपटक संक्रमण देखिएको थियो । दोस्रो संक्रमण एक विद्यार्थीकी आमामा देखियो । उनी पनि कार्निभलमा गएकी थिइन् ।

केही साताअघि मिलान र स्पेनको म्यालेन्सियाबीच फुटबल खेल भएको थियो । संक्रमण फैलन नदिन भनेर सो प्रतिस्पर्धा हेर्न दर्शकलाई रोकियो । तर, खेल कोरोना फैलनुको अर्को कारण बन्यो । खेल जितेपछि मैदानबाहिरै आएर खेलाडीहरूले खुसियाली मनाएका थिए । यस्तै, स्पेन फर्किएपछि उनीहरूलाई सम्मानस्वरूप भ्यालेन्सियाले नगर परिक्रमा गराएको थियो । त्यसक्रममा प्रधानमन्त्री, मेयरलगायत सबैले खेलाडीलाई भेटे, अंकमाल गरे, हात मिलाए । यसरी हाई प्रोफाइलमा कोरोना फैलियो । एक प्रशिक्षकको मृत्युसमेत भयो ।

इटालीपछि स्पेनमा अर्को चर्चित ‘कार्निभल’ आयोजना भयो । त्यो हेर्न र रमाउन सबैभन्दा बढी इटालीका नागरिक नै बढी सहभागी भए । अन्तिममा कोरोनाको महामारी देखिएपछि अन्तिम समयमा ‘कार्निभल’ आयोजना रोकियो । तर, स्पेनलगायत युरोपका अरू देशमा पनि संक्रमण फैलिसकेको थियो । यसरी, इटाली र स्पेन हुँदै पूरै युरोप कोरोनाको चपेटामा आयो । पोर्चुगल सरकारले प्रत्येक दिन पत्रकार सम्मेलन गरी पछिल्लो २४ घन्टाको स्थिति सार्वजनिक गर्ने गरेको छ । पछिल्लो तथ्यांक हेर्दा एक हजार २० जना संक्रमित छन् । ६ जनाको मृत्यु भइसकेको छ । पाँचजना रोगमुक्त भएका छन् ।

पोर्चुगलमा नेपाली कति छन् भन्ने आँकडा कसैसँग छैन । यहाँ दूतावास छैन । फ्रान्सको पेरिसमा रहेको दूतावासले हेर्छ । वाणिज्य दूतावास छ । तर, उसँग पनि आँकडा छैन । यहाँ १५ हजारआसपास नेपाली रहेको अनुमान गरिन्छ ।

ती कुनै पनि नेपालीमा कोरोना संक्रमण रहे नरहेको यकिन छैन । तर, केही दिनअघिको एउटा समाचारले यहाँको नेपाली सोसाइटीमा चिन्ता बढाएको छ । पोर्चुगिज मिडियाले राजधानी लिस्बनबाट २७० किलोमिटर टाढा फारो भन्ने ठाउँमा ७४ नेपाली खेती मजदुरलाई क्वारेन्टाइनमा राखिएको समाचार सम्प्रेषण गरे । उनीहरूमध्ये ६ जनामा कोरोना संक्रमण देखिएको र अन्यलाई पनि क्वारेन्टाइनमा राखिएको उनीहरूले दाबी गरेका छन् ।

पोर्चुगलमा डिसेम्बरदेखिका तीन महिना काम हुँदैन । तर, मार्च महिनादेखि नयाँ काम सुरु हुन्छ । पछिल्लो तीन महिनादेखि कामविहीन भएकाहरू कोरोनाका कारण समस्यामा परेका छन् । उसै पनि यहाँ कमदारलाई ६ सय ३५ युरो मात्र तलब हुने भएकाले पनि यही अवस्था अझै केही महिना गए, धेरै नेपाली समस्यामा पर्नेछन् ।

मोहन खड्का, कुवेतः कुवेतमा धमाधम रोजगार गुम्दै छ

म कार्यरत कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा करिब ८० जना काम गर्छौँ । पत्र–पत्रिकामा आएजस्तो सहर पूरै लक्ड डाउन छैन, तर समूहमा हिँड्न रोकिएको छ । यहाँ कुनै पनि नेपाली संक्रमित भएको सुनिएको छैन । सबै रोजगारदाता क्षेत्र बन्द भइरहेका छन् । काममा नआउनू भनिएको छ ।

अधिकांश नेपाली कोठामै बसिरहेका छन् । एउटा कोठामा तीन–चारजना नेपाली बस्छौँ । ग्लोब्स र सेनिटाइजर सहजै पाइएको छ । खान बस्न अभाव छैन । १२ तारिखबाट सुरु भएको लक्ड डाउन २६ तारिखसम्म हुनेछ । त्यसपछि के हुन्छ ? अहिले नै भन्न सकिने अवस्था छैन । हामीले काम नगरेको दिनको तलब पाउने–नपाउने तलब आएपछि मात्र थाहा होला । कसैले कुनै सूचना दिएको छैन । बाहिरी दुनियाँबाट देखेजस्तो धेरै मुस्किल र अप्ठ्यारो भने महसुस गरेका छैनौँ ।

आफ्नो देश फर्कन पाए हुन्थ्यो भन्नेचाहिँ लागिरहेको छ । तर, अब त सरकारले जान रोक लगाइदिएको छ । हामी परदेशमा बसेकाहरूलाई सरकारले साँच्चै परकै ठानेको हरेछ भन्ने आभास भएको छ ।

(यो समाचार सामाग्री आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।)