‘लिग लिडर’ युभेन्ट्स रोनाल्डोको सम्झौता बढाउने अभियानमा

कोरोनाका कारण सिरिए फुटबल स्थगित

रोम । इटालियन सिरिए क्लब युभेन्ट्ससँग पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको सम्झौता अवधि अझै दुई वर्ष बाँकी छ। तर, ‘लिग लिडर’ युभेन्ट्सले अहिलेदेखि नै रोनाल्डोको सम्झौता अवधि थप गर्ने अभियान थालिसकेको छ।

युभेन्ट्सले इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड र स्पेनिस क्लब रियल म्याड्रिडका पूर्वखेलाडी रोनाल्डोलाई थप दुई वर्ष क्लबमै राख्न चाहेको छ। यसका लागि युभेन्ट्सले रोनाल्डोसँग प्रस्ताव पनि राखिसकेको छ। युभेन्ट्ससँग रोनाल्डोको हालको सम्झौता सन् २०२२ को जुनमा सकिँदै छ।

युभेन्ट्सले सन् २०२४ सम्म रोनाल्डोलाई क्लबमा बस्न प्रस्ताव राखेको छ। सन् २०२४ मा रोनाल्डोको उमेर ३९ वर्ष पुग्नेछ। रोनाल्डो सन् २०१८ मा रियल म्याड्रिडबाट युभेन्ट्समा आबद्ध भएका थिए। युभेन्ट्समा पनि उनले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।

पछिल्लो समय उनी पुनः रियल म्याड्रिडसँग नजिएको समाचार पनि आएका छन्। केही समयअघि उनी रियल म्याड्रिड र बार्सिलोनाबीचको ‘एल क्लासिको’ भिडन्त हेर्न म्याड्रिड पनि पुगेका थिए। उक्त खेलमा रियल म्याड्रिड विजयी भएपछि रोनाल्डोले खुसी पनि मनाएका थिए। त्यसैले पनि युभेन्ट्स अहिलेदेखि नै रोनाल्डोलाई थप दुई वर्ष क्लबमै राख्न आतुर देखिएको हो।

युभेन्ट्स हाल सिरिए तालिकाको पहिलो स्थानमा छ। २६ खेल खेलेको युभेन्ट्सले ६३ अंक जोडेको छ भने समान खेलबाट ६२ अंक हात पारेको लाजियो तालिकाको दोस्रो स्थानमा छ। विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको त्रासका कारण अहिले सिरिए फुटबल स्थगित छ।

त्यसैले रोनाल्डो पनि अहिले आफ्नो राष्ट्र पोर्चुगल फर्किएका छन्। च्याम्पियन्स लिगमा पनि युभेन्ट्स प्रिक्वार्टरफाइनलमा पुगेको छ। युभेन्ट्सको नयाँ प्रस्तावको विषयमा रोनाल्डोले भने हालसम्म कुनै प्रतिक्रिया जनाएका छैनन्।

यद्दपि, युभेन्ट्सका पदाधिकारीहरुले आफ्नै क्लबमा रहेर रोनाल्डोले ३९औं जन्म दिन मनाउने विश्वास ब्यक्त गरेका छन्। ३५ वर्षीय रोनाल्डोले हालसम्म युभेन्ट्सका लागि सिरिएमा ४२ गोल गरिसकेका छन्।

रोनाल्डो ले सिरिएमा लगातार ११ खेलमा ११ गोलको कीर्तिमान पनि बनाएका छन्। उनले जारी सिजनमा क्लबका लागि ३२ खेल खेल्दै २५ गोल गरिसकेका छन्। यो सिजन उनले सिरिएमा मात्र २२ खेल खेल्दै २१ गोल गरेका छन्।

(यो समाचार आजको अन्नपूर्णपोष्टमा प्रकाशित छ ।)