यस्ता थिए, माओवादी जनयुद्धको ऐतिहासिक पहलका सात सैद्धान्तिक प्रतिबद्धताहरु

यस कारण मनाउँछन माओवादीहरु शहीद सप्ताह

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा विस २०५२ साल फाल्गुन १ गते रोल्पा जिल्लाको होलेरी प्रहरी चौकी, रुकुम जिल्लाको राडीज्यूला प्रहरी चौकी, सिन्धुली जिल्लाको सिन्धुलीगढी प्रहरी चौकी र गोरखा जिल्लाको साना किसान परियोजनाको कार्यालयमा एउटै समयमा र एकैसाथ फौजी आक्रमण गरी ती प्रहरी चौकीहरु कब्जा गरेर महान् जनयुद्धको थालनी गरिएको थियो, त्यो जनयुद्धले यही २०७६ साल फाल्गुन १ गतेदेखि २४ वर्ष पुरा गरेर २५ वर्षमा प्रवेश गरिसकेको छ । गत फाल्गुन १ गते माओवादी क्रान्तिकारीले देशव्यापी रुपमा महान् दश वर्षे जनयुद्धको २५ आौ जनयुद्धको दिवस भव्यताका साथ मनाए र जनयुद्धले लिएका लक्ष्यहरु पुरा गरिछाड्ने प्रतिबद्धता पनि प्रकट गरे । माओवादी क्रान्तिकारीले फाल्गुन १४ गतेदेखि २१ गतेसम्म शहिद सप्ताहका रुपमा मनाउँदै आएका छन् । शहिद सप्ताह माओवादीहरुले युद्धकालिन अवस्थादेखि नै मनाउँदै आएका छन । यस वर्षपनि माओवादी क्रान्तिकारी कम्युनिस्टहरूले शहिद सप्ताह मनाइरहेका छन् ।

जनयुद्धका महान् शहिदहरुको सम्झनामा मनाइने यस ऐतिहासिक शहिद सप्ताहका सन्दर्भ पारेर यो एक आलेख लेख्न प्रयत्न गरिएको छ । प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंस गर्दै नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौ भन्ने मुल नाराका साथ र विद्रोह जनताको अधिकार हो, जनयुद्ध जिन्दावाद नाराहरु लगाउदै महान् जनयुद्धको थालनी गरिएको थियो । यसका साथै तत्कालीन नेकपा (माओवादी) को १९ सदस्यीय केन्द्रीय नेतृत्वले महान् जनयुद्धको ऐतिहासिक पहलका लागि र जनयुद्धका लक्ष्यहरु पुरा गरेरै छाड्ने ७ बुँदे प्रतिबद्धता र जनयुद्धका ४ तयारी पुरा गरि छाड्ने प्रतिबद्धता जाहेर गरिएको थियो । उक्त माओवादीको केन्द्रीय नेतृत्वले महान् जनयुद्धको पहिलो योजना तर्जुमा गर्न २०५२ सालको असारमा बसेको केन्द्रीय समितिको पूर्ण बैठकले निम्न लिखित ७ प्रतिबद्धताहरु जाहेर गरेको थियो , जो यस प्रकार छन् ।

जनयुद्धको ऐतिहासिक पहलका लागि गरिएका सैद्धान्तिक प्रतिबद्धताहरु

१. हाम्रो यो योजना क्रान्तिकारी हिंसा सम्बन्धी माक्र्सवाद, लेनिनवाद, माओवादका शिक्षामा आधारित हुनेछन् । हाम्रो देशको विशिष्टता अनुसार गाउँबाट शहर घेर्ने रणनीतिमा आधारित दीर्घकालीन जनयुद्धका रुपमा अघि बढ्ने यस प्रक्रियाको पहलकदमीको योजना निर्माणका सन्दर्भमा पार्टी एक पटक पुनः माओद्वारा विकास गरिएको सर्वहारा वर्गको सार्वभौम र अपराजय माक्र्सवादी सैन्य सिद्धान्तका रुपमा जनयुद्धको सिद्धान्तप्रति अविचल रहने प्रतिज्ञा गर्दछ ।

२. जनयुद्धको थालनीको हाम्रो यो योजना राज्यसत्ता बाहेक अरु सबै भ्रम हो भन्ने मान्यतामा आधारित हुनेछ । जनताका निम्ति राजनीतिक सत्ता कब्जा गर्नु नै सशस्त्र संघर्षको प्रमुख उध्देश्ये हो भन्ने कुरामा दृढ रही यस प्रश्नमा देखापर्ने अर्थवाद, सुधारवाद, अराजकतावाद लगायतका सबै प्रकारका विचलनवादी चिन्तन प्रवृत्ति विरुद्ध निरन्तर संघर्ष गर्न पार्टी आफ्नो प्रतिबद्धता जाहेर गर्दछ ।

३. हाम्रो यो योजना सामन्तवाद र साम्राज्यवादलाई ध्वस्त गरी नयाँ जनवादी क्रान्ति पुरा गर्ने, त्यसको लगत्तै समाजवादी क्रान्तिमा अघि बढ्ने तथा सर्वहारा वर्गको अधिनायकत्व अन्तरगत क्रान्ति जारी राख्ने सिद्धान्तका आधारमा साँस्कृतिक क्रान्तिकारीहरु चलाउदै मानव जातिकै स्वर्णीम भविष्य साम्यवादको स्थापनासम्म जाने उद्देश्यमा आधारित हुनेछ । एक पटक हतियार उठएपछि त्यसलाई अन्त्यसम्म लैजाने दृढताविना सशस्त्र संघर्षको थालनी गर्नु सर्वहारा वर्ग एवम् आम जनताप्रति अपराध हुने कुरामा हामी दृढ छौ । यो संघर्ष जनताको स्थितिमा आंशिक सुधार गर्ने, प्रतिक्रियावादीलाई दवाव दिई सामान्य संझौतामा टुंग्याउने साधन बन्न कदापि दिइने छैन । यसरी हाम्रो सशस्त्र संघर्ष सबै प्रकारका निम्न पुँजीवादी , संकीर्ण रुपले मुक्त रहनेछ ।

४. हाम्रो यो योजना सर्वहारा अन्तर्राष्ट्रवादको महान् भावनामा आधारित रहने छ । नेपाली क्रान्ति, सर्वहारा विश्व क्रान्तिको अभिन्न अंग हो र यसले विश्व क्रान्तिको सेवा गर्नेछ । हाम्रो पार्टी यस सन्दर्भमा माक्र्सवाद, लेनिनवाद, माओवादको निर्देशनमा विश्व क्रान्ति अघि बढाउन तथा नयाँ अन्तर्राष्ट्रिय निर्माणको दिशामा अघिबढिरहेको क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन (रिम) जसको हाम्रो पार्टी पनि सदस्य छ । त्यसको विकासमा अझ बढी सहयोग पुर्याउने कुरालाई गम्भीरतापूर्वक लिन्छ ।

५. हाम्रो यो योजना नयाँ जनवादी क्रान्तिकालमा सर्वहारा वर्गको पार्टीको नेतृत्वमा क्रान्तिकारी संयुक्त मोर्चा र क्रान्तिकारी सेना निर्माणको सैदान्तिक मान्यतामा आधारित रहनेछ । अन्तरविरोध नियमको सार्वभौमिकता अनुसार पार्टी भित्री संघर्षलाई द्वन्द्वात्मक ढंगले ग्रहण र त्यसलाई सञ्चालन गर्नु र पार्टीलाई त्यसरी सजीव राखि हरक्षेत्रमा त्यसको नेतृत्व स्थापित गर्नु , पुरा ह्रदयले जनताको सेवा गर्न जनतासंग घनिष्ट सम्बन्ध कायम राख्ने जनदिशाको सिद्धान्तमा अविचल रहने कुरामा पार्टी कठिबद्ध छ ।

६. हाम्रो यो योजना सर्वहारा वर्गको पार्टीको स्वतन्त्र आत्मनिर्णयको अधिकारको मान्यता अनुसार बन्नेछ । पार्टीको नेतृत्वमा सामन्तवाद र साम्राज्यवाद विरोधि सबै तह र तप्काका जनसमुदायलाई गोलबद्ध गर्दै सशस्त्र संघर्ष सञ्चालन गरिनेछ । कृषि क्रान्तिलाई मेरुदण्ड मानी हाम्रो सशस्त्र संघर्ष श्रमजीवी जनसमुदाय मुख्यतः गरीब किसानहरु माथि भर परेर चल्ने छ । कहिल्यै र कुनै पनि हालतमा पार्टी देशी एवम् प्रतिक्रियावादी गुटहरुको दवाव, धम्की र प्रलोभनमा पर्ने छैन ।

७. युद्धका आफ्नै नियम अनुसार त्यो सरल रेखामा होइन जटिल बक्र रेखामा अघि बढ्नेछ । लेनिनको क्रान्ति आफैंले आफ्नो विकास क्रममा सधै नै असाधारण जटिल परिस्थिति सिर्जना गर्दछ भन्ने कुराको महत्त्वलाई आत्मसात गरेर जानु जरुरी छ । जीत र हार, उपलब्धी र क्षतिका चक्रहरु पार गरेर नै जनयुद्ध विजयी बन्नेछ । खराव कुरालाई असल कुरामा रुपान्तरण गर्ने अन्तर्विरोधको नियमलाई ठीक ढंगले पकडेर नै हामीले जनयुद्धको नेतृत्व गर्न सक्ने छौ ।

यसका अतिरिक्त ४ तयारी गर्ने प्रतिबद्धता पनि जाहेर गरिएको थियो जो निम्न छन्, जनयुद्धको ऐतिहासिक पहलका निमित्त तयारी

१. वैचारिक तयारी
२. संगठनात्मक तयारी
३. संघर्ष सम्बन्धि काम
४. प्राविधिक तयारीको कामका सम्बन्धमा ।

(श्रोताः नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का ऐतिहासिक दस्तावेजहरु, प्रसवि प्रकाशन नेकपा (माओवादी) मेचीकोसी क्षेत्रीय ब्यूरो पूर्व कमाण्ड, प्रकाशकः पश्चिम केन्द्रीय कमाण्ड नेकपा (माओवादी) दोस्रो संस्करण २०६३ मंसिर )

यसरी तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) २०५२ साल फाल्गुन १ गतेदेखि थालनी गरेको सशस्त्र जनयुद्धको प्रक्रियामा मुलुकमा ग्रामीण ईलाकाहरुमा छापामार दस्ता हुदै जनमिलिसियाको निर्माण हुन पुग्यो । क्रान्तिका लागि ग्रामीण ईलाकाहरुमा आधार ईलाकाहरु निर्माण हुदै गए । पुरानो राज्य सत्ताका विरुद्ध लड्नका लागि डिभिजन स्तर सम्मका जनमुक्ति सेनाका डिभिजनहरु बन्न पुगे । नयाँ जनसत्ताहरु, जनअदालतहरु, जनकम्युनहरु र जनसरकारहरु बन्न पुगे । पार्टी संगठनहरुको ब्यापक विस्तार भयो । यसले गर्दा देश भित्र र बाहिर पनि सगरमाथाको देशबाट क्रान्तिको राम्रो सन्देश प्रवाहित भयो । नेपाली जनता अब क्रान्ति पुरा हुन्छ, जनताका समस्या समाधान हुन्छन् र नेपालमा अब नयाँ जनवादी राज्य व्यवस्थाको स्थापना हुन्छ अनि समाजवादमा जान सकिन्छ भन्ने जनताले क्रान्तिकारी आशावादका साथ अपेक्षा गरेर लाखौंको संख्यामा जनताहरु जनयुद्धको प्रक्रियामा लामबद्ध भए र , जनताले जनयुद्धलाई सबै क्षेत्रबाट सहयोग गरे । जनयुद्धमा नेपाली जनताको अतुलनीय सहयोग पुग्यो ।

यसैक्रममा १० औं हजार नेपाली आमाका आँटी र असल छोराछोरीहरु शहिद बन्न पुगे, हजारौं नेपाली नागरिकलाई प्रतिक्रियावादी राज्यसत्ताले ज्यान वेपत्ता पार्यो । हजारौंको संख्यामा नेपाली नागरिकहरु अपाङ्ग र घाइते बन्न पुगे । जनताको त्यो त्याग, बलिदान । जनमुक्ति सेनाको त्याग, वीरता सौर्य र बलिदानका कृतिमान बन्न पुगे । र जनयुद्धले नेपाली जनतालाई मात्र होइन विश्वका भाइचाराहरुलाई पनि आशावादी बनायो । यो ज्यादै सकारात्मक पाटो महान् दश वर्षे जनयुद्धको । तर महान् दश वर्षे जनयुद्धको नकारात्मक पाटो पनि छ । त्यो पाटोको विषयमा यसरी व्याख्या गर्न सकिन्छ ।

फाईल तस्बिर

१. नेतृत्वमा आयो वैचारिक विचलनः

महान् जनयुद्ध उत्कर्षमा पुग्दै गर्दा जनयुद्धको नेतृत्व गर्दै आएको (प्रचण्ड बावुराम) एउटा नेतृत्वमा ठूलो वैचारिक विचलन ज्वारभाटाका रुपमा पैदा भयो । र , त्यसले २०६२ असोज कार्तिकमा चुनवाङ बैठकमा पुगेर सशस्त्र जनयुद्धको कार्यदिशा र कार्यक्रमलाई स्थगित गरेर लोकतान्त्रिक गणतन्त्रको कार्यदिशा अंगिकार गर्न पुग्यो । त्यसले तत्कालीन संसदवादी ७ दलसित नयाँ दिल्लीमा पुगेर २०६२ साल मंसिर ७ गते १२ बुँदे समझदारी पत्रमा हस्ताक्षर गर्न पुग्यो । यसक्रममा शान्ति प्रक्रियामा प्रवेश गरे पश्चात २०६३ असार ८ गते देशीविदेशी प्रतिक्रियावादी शक्तिहरुको ग्राण्डडिजाइन, निर्देशन र योजनामा सात राजनीतिक दलहरुका बिचमा जनयुद्धका प्रक्रियामा निर्माण हुन पुगेका स्थानीय नयाँ जनसत्ताहरु , जनअदालतहरु, जन सरकारहरु विघटन गर्ने सहमति पत्रमा हस्ताक्षर गर्न पुग्यो त्यो नेतृत्व ।

२०६३ मंसिर ५ गते नेपाल सरकारको तर्फबाट गिरीजा प्रशाद कोइराला र विद्रोही माओवादीका नेता पुष्पकमल दाहाल प्रचण्डका बिच दश वर्ष देखि चल्दै आएको सशस्त्र युध्दलाई आजका मितिदेखि अन्त्य गरियो भन्ने पत्रमा हस्ताक्षर गरेर विधिवत रुपमा दश वर्षे जनयुद्धको अन्त्यको घोषणा गरियो । त्यसै प्रक्रियामा सात राजनीतिक दलहरु र माओवादीको संलग्नतामा २०६३ माघ १ गते अन्तरिम संविधान जारी गरियो र माओवादी पनि संसदमा गर्यो । र २०६३ चैत १८ गते माओवादी पनि प्रतिक्रियावादी सरकारमा सामेल भयो । यसै प्रक्रियामा माओवादीको मुख्य नेतृत्व एक पछि अर्को गर्दै साम्राज्यवाद र विस्तारवादका सामु लम्पसार पर्दै वर्गीय रुपमा र राजनीतिक रुपमा समेत आत्मसमर्पण गर्न पुग्यो र नेकपा (माओवादी) बाट एमाओवादी, माके हुदै पहिले नै प्रतिक्रियावादमा पतन भइसकेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा विलय हुन पुग्यो र अहिले प्रतिक्रियावादको फासीवादी सत्तामा बसेर क्रान्तिकारी माओवादीहरुमाथि भीषण दमन गरेर नेपाली क्रान्तिलाई सिध्द्याउने षड्यन्त्रका तानावाना बुन्ने कार्यमा ज्यान फालेर लागिरहेको छ ।

यसले क्रान्ति प्रति, सर्वहारा वर्ग प्रति र नेपाली जनता प्रति गंभीर प्रकारको गद्धारी गर्न पुग्यो । यसले नेपाली जनता र नेपाली क्रान्तिलाई धोका दिने र गद्धारी गर्ने कार्य गरेर अहिले देशिविदेशी प्रतिक्रियावादी शक्तिहरुको तावेदारी गर्ने काम गरिरहेको छ । एकातिर यस प्रकारको अवस्था छ भने अर्कोतिर त्यसबाट विद्रोह गरेर आएका क्रान्तिकारी माओवादी, विप्लव नेतृत्वको नेकपाले महान दश वर्षे जनयुद्धका नकारात्मक र सकारात्मक पाटाहरुबाट शिक्षा लिएर महान् नेपाली क्रान्तिका बाकी कार्भारहरु पुरा गर्ने उध्देश्यका साथ क्रान्तिको तयारी कार्यमा डटिरहेका छन् ।

२. दश वर्षे जनयुद्धबाट नेपाली जनताले के पाए ?

क) राजतन्त्रात्मक सामन्ती राज्य व्यवस्थाको ठाउँमा लोकतान्त्रिक गणतन्त्र पाएका छन् । सामन्ती व्यवस्था भन्दा लोकतान्त्रिक गणतन्त्र एक कदम अघिको प्रजातान्त्रिक व्यवस्था हो ।
ख) यसबाट नेपाली जनताले धर्म निरपेक्षता पाएका छन् ।
ग) यसबाट नेपाली जनताले एक हदसम्म समानुपातिक निर्वाचन प्रणाली पाएका छन्
घ) दश वर्षे जनयुद्धले नेपाली जनताको चेतनास्तर धेरै माथि उठाइदिय‍ो । नेपाली जनताले यो प्राप्त गरे ।
ङ) पिछाडि पारिएका जनजाति, दलित, मधेसी, मुस्लिम, महिला, पिछडिएको क्षेत्रका जनतालाई माथि उठ्ने मौका मिलेको छ । यही हो दश वर्षे जनयुद्धबाट नेपाली जनताले पाएको।

३. दश वर्षे जनयुद्धबाट नेपाली जनताले के गुमाए ? यसबाट नेपाली जनताले सर्वश्व गुमाए, जस्तै

क) महान् दश वर्षे जनयुद्धको प्रक्रियाबाट प्राप्त गरेका स्थानीय नयाँ जनसत्ता,जनअदालत, जनकम्युनहरु र जनसरकारहरु गुमाए ।
ख) जनमुक्ति सेना गुमाए ।
ग) जनताको रगतले साटिएका जनमुक्ति सेनाले बोगेका हतियारहरु गुमाए ।
घ) सामन्तवाद र साम्राज्यवाद विरोधी सारतत्व बोकेको जनताको संघीय गणतन्त्रात्मक (जन) संविधान बनाएर महान् नेपाली क्रान्ति सम्पन्न गर्ने उध्देश्येले निर्माण गरिएको पहिलो संविधानसभा गुमाए ।
ङ) नेपाली जनताले शहिदको रुपमा आफ्ना दशौ हजार छोराछोरी गुमाए ।
च) नेपाली जनताले यस युद्धबाट हजारौंको संख्यामा आफ्ना सन्तानहरु घाइते, अपांग भएको पाए ।
छ) नेपाली जनताले यस युद्धबाट आफ्ना हजारौं सन्तानहरुलाई प्रतिक्रियावादी सत्ताले ज्यान विपत्ता पारि दिएको पाए ।
ज) नेपाली जनताले यस युद्धबाट दश वर्षसम्म नेपाली क्रान्तिका लागि गरेको त्याग, तपस्या र बलिदान गुमाए ।
झ) नेपाली जनताले यस युद्धबाट महान् नेपाली क्रान्तिको आदर्श र स्वाभिमान गुमाए ।
मुख्यतः यिनै हुन नेपाली जनताले महान् जनयुद्धबाट गुमाएका चिजहरु ।

४. माओवादीको नेतृत्वमा किन त्यति छिटै वैचारिक विचलन आयो ?

कुनै पनि घटना घट्नुका पछाडि निश्चित वैज्ञानिक कारणहरु विद्यमान रहेका हुन्छन् । यो विज्ञान कै नियम हो । माक्र्सवादी द्वन्द्ववादको नियम हो । महान् दश वर्षे जनयुद्धको नेतृत्व गरेका माओवादी नेताहरू पुष्पकमल दाहाल प्रचण्ड बावुराममा एक्कासि वैचारिक विचलन आएको होइन । यो विचलन आउनुको पछाडि निश्चित वैज्ञानिक कारणहरु रहेका छन् । जस्तो कि

क) माओवादी पार्टीले मालेमावादलाई आफ्नो कामको पथप्रदर्शक सिध्दान्तको रुपमा अंगिकार गर्न पुग्यो । यो ज्यादै महत्त्वपूर्ण विषय थियो । तर प्रचण्ड बावुराममा मालेमावादी सिद्धान्त र दर्शनका आधारभूत सिद्धान्तहरुको ज्ञान भण्डार कम्जोर रहन गयो । अर्थात् प्रचण्ड बावुराममा माक्र्सवाद, माक्र्सवादी दर्शन अर्थात् मालेमनवादी सिद्धान्त र दर्शनका विषयमा वैज्ञानिक अध्ययन र बुझाइको कमिरहन गयो । उनीहरूको पार्टी स्कुलिङ व्यवस्थित र वैज्ञानिक भएन । कुनै पनि व्यक्तिले माक्र्सवाद अर्थात् मालेमावादी अध्ययन गर्ने मात्र ठूलो कुरा होइन, मुख्य कुरा त मालेमावादलाई आत्मसात गर्ने कुरा र जीवन व्यवहारमा लागु गर्ने कुरा ठूलो कुरा हो । यो कठिन कार्य प्रचण्ड र बावुरामको जीवनमा लागु भएन । किनभने प्रचण्ड र बावुराममा चरम अवसरवाद थियो, त्यो क्रान्तिको जटिल प्रक्रियामा, वर्ग संघर्षको दौरानमा छिटो प्रकट हुन पुग्यो ।

फाईल तस्बिर

५) जनयुद्ध हाँकी रहेको तत्कालीन माओवादीको नेतृत्वमा वैचारिक स्तर उठ्न सकेन ,। जस्तो कि

२०५२ साल फाल्गुन १ गतेदेखि २०६२ साल असोज सम्म अर्थात् माओवादी पार्टीको चर्चित चुनवाङ बैठकसम्म आइपुग्दा सम्मको त्यो अवधिमा वर्ग संघर्षलाई चर्काइयो र हाकियो पनि । हजारौंको संख्यामा शहिद बन्न, अपांग र घाइते बन्न सक्ने स्पिरिट पैदा गर्न माओवादी नेतृत्व सफल त भयो । लाखौं लाख नेपाली जनता जनयुद्धमा लामबध्द बनाउन माओवादी नेतृत्व त सफल भयो नै । तर आफू चाहिँ मालेमावादको सिध्दान्तले लैस हुने, स्टालिनकै शब्दमा विशेष धातुले बनेका कम्युनिस्ट बन्न सकेनन् । प्रचण्ड बावुरामले माक्र्सवादको स्वअध्ययन त गरे तर पार्टी स्कुलिङमा वैज्ञानिक ढंगले अध्ययन गर्न र माक्र्सवादका आधारभूत सिद्धान्तहरुलाई बुझ्ने, गहिरो गरी चिन्तन मनन गर्ने काम गरेनन्, टपर्टुयाँ अध्ययन र बुझाइका आधारमा नेता बन्न पुगिहाले तर त्यतिले मात्र आवश्यक वैचारिक खुराक पुगेन, वर्गसंघर्ष अर्थात् जनयुद्ध भीषण बन्दै गयो र प्रचण्ड बावुराममा रहेको मालेमावादको दर्शन र सिद्धान्तले धानेन र उनीहरू त्यस भीषण वर्ग संघर्षलाई हाँक्न डराएर वैचारिक रुपमा पलायन भएपछि चर्चित चुनवाङ बैठक हुदै शान्ति प्रक्रियामा प्रवेश गरेर बाँच्न कै निम्ति प्रचण्ड आफ्नो चरम अवसरवादी दस्ताहरुलाई उठाउदै एमाले भित्र विलय हुन पुगे भने बावुराम कांग्रेसमा विलय हुदै हाल क्षेत्रीय सामन्तवादी पार्टी तराई फोरम समाजवादी पार्टीमा प्रवेश गर्न पुगेका छन् ।

६) जनयुद्धकालीन माओवादी नेतृत्वमा वैचारिकस्तर उठ्न सकेन, अधिभूतवाद लागु गरियो, जस्तो कि

माओवादी पार्टीको केन्द्रीय नेतृत्वले जनयुद्ध कै प्रक्रिया अन्तर्गत २०५७ सालमा दोस्रो राष्ट्रिय सम्मेलनमार्फत मालेमावादको विचार विकासको नाममा प्रचण्ड पथको घोषणा गरेर प्रचण्डलाई खुसी तुल्याउन प्रचण्डलाई प्रचण्ड पथको पगरी घुताई दियो । तत्कालीन माओवादी नेतृत्वमा र स्वयं प्रचण्डमा त्यस अनुसारको विचारको विकास त भइसकेको थिएन प्रचण्डलाई फुर्क्याउन त्यसो गरिएको थियो । यो माक्र्सवादी दर्शनको फाँटमा चरम अधिभूतवादी प्रवृत्ति पैदा भएर प्रचण्डमा लागु गरिएको थियो र यो दर्शनको क्षेत्रमा व्यक्तिवादी श्रद्धावाद लागु हुन पुगेको थियो । श्रद्धावाद पूर्वीय दर्शनको एक हाँगोको रुपमा रहेको गैर माक्र्सवादी धारा हो । यसैले प्रचण्डलाई खायो । यसको मुख्य कारण पार्टी नेतृत्वमा वैचारिक स्तरको विकास भइनसक्नु नै हो । र, स्कुलिङकै अभावले यस खाले दार्शनिक समस्या पैदा भएको देखिन्छ त्यतिबेला ।

निचोडमा- यसले क्रान्तिलाई ठूलो धोका दियो । नेपाली जनतालाई ठूलो धोका दियो । नेपाली सर्वहारा वर्गलाई पनि ठूलो धोका दियो र नेतृत्व कै गद्धारीकै कारणले महान् नेपाली क्रान्तिले स्याडब्याक खायो । तर क्रान्ति यसकै कारणले रोकिदैन । खतमै भै हाल्दैन । माथि उल्लेख गरिएको छ नयाँ सिराबाट महान् नेपाली क्रान्तिका बाँकी कार्यभारहरु पुरा गर्ने बचनबद्धताका सात क्रान्तिका कामलाई अगाडि बढाउने काम क्रान्तिकारी माओवादी कम्युनिस्टहरूबाट प्रयास भइरहेको छ । क्रान्ति अवश्यम्भावी छ ।

(लेखक केसी माओवादी आन्दोलन र सामाजिक व्यवस्था रुपान्तरणको प्रकृयासँग सम्बन्धीत विषयमा कलम चलाउँने गर्दछन । रुकुमका लेखक केसी हाल बुढानिलकण्ठ नगर पालिका २, काठमाडौंमा बस्छन ।)