भैरहवामा र्यालीसहित आज माओवादी केन्द्रको रुपन्देही जिल्ला भेला

राष्ट्रिय स्वाधीनताको आन्दोलन चर्काउनुपर्नेमा जोड

रुपन्देही । वर्तमान केपी ओली नेतृत्वको सरकारले गरिरहेको राष्ट्रघाती, जनघाती गतिविधिहरुको व्यापक विरोधसहितको नारा, जुलुश र प्रदर्शन गर्दै आज नेकपा (माओवादी केन्द्र) रुपन्दहीमा जिल्ला भेला गर्ने भएको छ ।

रुपन्देहीको भैरहवा बजार स्थित भैरहवा उच्च माध्यामिक विद्यालयमा ओली सरकारको गलत हर्कतका विरुद्ध विरोधसहित माओवादी केन्द्रले आज दिउँस १२ बजे जिल्ला भेलाको उद्घाटन गर्ने भएको छ ।

माओवादी केन्द्रका केन्द्रीय सचिव तथा प्रदेश नम्बर पाँचका इन्चार्ज समेत रहेका नेता विनोद उपाध्यायले हरपल नेपालसँग कुराकानी गर्दै पार्टीको जिल्ला भेला ओली सरकारको राष्ट्रघातको भण्डाफोर तथा देशभक्त, राष्ट्रिय स्वाधीनताको आन्दोलनको पक्षमा जनअपिल सहित गर्ने तयारी भएको बताएका छन् ।

नेता उपाध्यायले भारतीय विस्तावादी नक्सामा नेपालको भूमि पारिएको, अमेरिकाको सैन्य नीति अन्तर्गत एमसीसी कार्यान्वयन गर्ने खालको सरकारको देशविरोधी हर्कत हावि भएको अवस्थामा सबै देशभक्त, देशप्रेमि, सचेत र बुद्धीजीवि नागरिकहरु, राजनीतिक दलहरु, सामाजिक अभियन्ता तथा संघ, संगठनहरु एक भएर देश जोगाउँन उभिनुपर्नेमा जोड दिए ।

उनले भने–देशभक्तिको भावना बढाउँदै राष्ट्रिय स्वाधीनताको आन्दोलन गर्नुको अर्को विकल्प छैन । हाम्रो पार्टी अध्यक्षको नेतृत्वमा अहिले मेची महाकाली पैदल यात्राको देशभक्त जनसाँस्कृतिक अभियान चलिरहेको छ, हामी देशभक्त १० राजनीतिक दलहरुले राष्ट्रघातको विरोध गरिरहेका छौं । अब यसमा सबै देशभक्तहरु जोडिनुपर्छ, हामी हार्दिक अपिल गर्दछौं ।

माओवादी केन्द्रको रुपन्देही जिल्ला भेलाको उद्घाटन पहिले भैरहवा बजारमा नारा, जुलुशसहित प्रदर्शन गरिने बुझिएको छ । कार्यक्रमको अध्यक्षता पार्टीका केन्द्रीय सदस्य पोषराज खनालले गर्ने तथा नेता उपाध्यायको प्रमुख आतिथ्यता रहने बुझिएको छ ।

भेलामा पार्टीका नेता, कार्यकर्ताहरु, युवा, विद्यार्थी, महिला लगायत पार्टी समर्थकहरुको समेत सहभागिता रहने बताइएको छ । भेलामा जिल्लाका विभिन्न स्थानहरुबाट नेता, कार्यकर्ताहरु आउँने क्रम जारी रहेको बताइएको छ ।