सुदूरपश्चिममा ब्याण्ड–बाजासहित विशेष उत्सवको रुपमा माओवादी केन्द्रले मनायो २५ औं जनयुद्ध दिवस

विशाल जनप्रदर्शनः गद्दार नेताहरुलाई चेतावनी

अत्तरीया । नेकपा (माओवादी केन्द्र) ले सुदूरपश्चिम प्रदेश लगायत देशभर आज विविध कार्यक्रम गरेर २५ औं जनयुद्ध दिवस भव्य रुपमा मनाएको छ । सुदूरपश्चिमको अत्तरीयामा आज माओवादी केन्द्रले २५ औं जनयुद्ध दिवसलाई विशेष उत्सवको रुपमा व्याण्ड-बाजासहित जनप्रदर्शन गरेर मनाएको छ ।

‘महान जनयुद्ध जिन्दावाद, बिर शहीदहरु लाल सलाम, महान जनविद्रोह सफल पारौ’ भन्ने मुल नारा सहित माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

तत्कालिन नेकपा माओवादीले सामाजिक व्यवस्था रुपान्तरणको लागि जनयुद्ध थालेको दिनको दिन, फागुन एक गतेको स्मरण तथा जनयुद्धका बाँकी कार्यभारहरु पुरा गर्ने प्रतिबद्धता सहित माओवादी केन्द्रले आजको दिनलाई विशेष उत्सवको रुपमा हर्ष उल्लास, प्रतिबद्धता र अर्को संघर्षको तयारी सहित मनाएको छ ।

अत्तरीया पूर्वपश्चिम राजमार्ग अन्तरगत रहेको नेपाल रेडक्रमको कार्यालय अगाडीबाट शुरु गरिएको व्याडबाजा सहितको विशाल प्रदर्शन (र्याली) प्रहरी कार्यालय, ट्राफिक कार्यालय हुँदैं अत्तरीया चोक र बजार परिक्रममा गरेर पहाड रोड (बसपार्क) बाट अगाडी बढेको थियो ।

र्यालीमा नारा लगाउँदै माओवादी केन्द्रका नेताहरुले जनयुद्धको अबसान गराउने गद्दार नेताहरुलाई चेतावनी दिदै जनयुद्धमा गरिएका प्रतिवद्धताहरु र जनतालाई देखाइएका सपनाहरु आफ्नो पार्टीले पुरा गरेरै छाड्ने बताएका थिए ।

वर्तमान संसदीय व्यवस्था खारेजीको माग सहित राष्ट्रघाती, जनघाती गतिविधि र नेपाली भूमि अतिक्रमणको विरोध समेत नारा मार्फत गरिएको थियो ।

जनयुद्ध दिवस आम शोषित पीडित जनसमूहको न्याय र समानताको लागि महत्वपूर्ण दिन भएको भन्दै माओवादी केन्द्रका नेता, कार्यकर्ताहरुले रातो रंगको टिका लगाउँदै खुशीयालीमा ब्याण्डबाजामा नाचगान समेत गरेका थिए ।

उक्त जनयुद्ध दिवसको सन्दर्भमा आयोजित प्रदर्शनमा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय उपाध्यक्ष रंगनाथ ढकाल, पोलिटव्यूरो सदस्य तथा सुदूरपश्चिम प्रदेश समिति संयोजक लोकराज जैसी लोकेश, प्रदेश सचिवालय सदस्य रामचन्द्र भण्डारी बद्री, जगत आउजी कैलाश, प्रेस सेन्टर नेपालका सुदूरपश्चिम प्रदेश अध्यक्ष भिम बिक लगायतको उपस्थिति रहेको थियो ।

जनयुद्ध दिवसको अवसर पारेर माओवादी केन्द्रको गोदावरी नगर समितिले पार्टीको भेला समेत आयोजना गरेको बुझिएको छ । भेलाबाट रामचन्द्र भण्डारी बद्रीको अध्यक्षतामा ५५ सदस्यीय नगर कमिटि निर्वाचित भएको आज उनले एक विज्ञप्ती सार्वजनीक गर्दै प्रकाश पारेका छन ।

सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, अछाम, बाजुरा लगायतका जिल्लाबाट आएका माओवादी केन्द्रका नेता, कार्यकर्ता तथा समर्थक समेत गरी सयौंको सहभागिता रहेको थियो ।

कार्यक्रममा युवा, पुर्व माओवादी जनमुक्ति सेनादेखि लामो समयसम्म माओवादी आन्दोलनमा सक्रिय रुपमा सहभागि नेता, कार्यकर्ताहरुको बाक्लो सहभागिता रहेको थियो ।