एनआईसी एशियाका सञ्चालक संघई सीआईपीद्वारा सम्मानित

तेस्रो मुलुकमा बढि वस्तु निर्यात गर्ने उद्योगपति

काठमाडौं । एनआईसी एशिया बैंकका सञ्चालक रामचन्द्र संघईले “महत्वपूर्ण व्यावसायिक व्यक्ति” (Commercially Important Person-CIP) सम्मान प्राप्त गरेका छन् ।

मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्याए वापत नेपाल सरकारको उक्त सम्मानबाट उनी विभूषित भएको बैंकका प्रमुख सुचना अधिकारी सुधिर नाथ पाण्डेले हिजो एक विज्ञप्ती मार्फत जानकारी दिएका छन् ।

यो निजी क्षेत्रलाई सरकारले प्रदान गर्ने सबै भन्दा ठूलो सम्मान हो । नेपाल सरकारको तर्फबाट उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले गत मंगलवार आयोजना गरेको एक विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकका सञ्चालक रामचन्द्र संघईलाई महत्वपूर्ण व्यावसायिक व्यक्तिको परिचयपत्र, सीआईपी लोगो तथा प्रमाणपत्रले विभूषित गरि सम्मान प्रदान गरेका थिए ।

उनी अध्यक्ष रहेका त्रिवेणी स्पिनिङ मिल्स प्रा.लि. (बारा) नेपालबाट तेस्रो मुलुकमा सबै भन्दा बढि रकमको वस्तु (धागो) निर्यात गर्ने अग्रणी उद्योगको रुपमा रहेकोले उक्त सम्मानबाट उनलाई नेपाल सरकारले विभुषित गरेको हो ।

सम्मान बाट विभुषित भएका “महत्वपूर्ण व्यावसायिक व्यक्ति” हरुले नेपाल सरकार तर्फबाट विभिन्न सुबिधाहरुका साथै विमानस्थलमा भिआईपी कक्षको सुविधा, उद्योग वाणिज्यसँग सम्बन्धित सबै समारोहहरुमा प्राथमिकता लगायत विदेशमा हुने व्यापारिक तथा औद्योगिक मेला एवं प्रदर्शनीहरुमा प्रतिनिधित्व गर्न पाउने व्यवस्थाले सम्मानित व्यक्तित्वहरुमा थप सकारात्मक उर्जा प्रदान हुने भई देशले लिएको आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न थप योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।