सम्झनामा सिमित मेरी आमाः केही क्षणहरु मानसपटलको डायरीबाट…

अन्त्यष्टिको आठौँ दिनः भावपूर्ण श्रद्धासुमन

आज ०७६ माघ २४ गते साँझ । जिवनमा अब कहिल्यै हामीसँग भेट नहुने गरी आमाले बिदा लिएको आज आठौँ दिन । हिजो मात्र आमाको अन्तिम काजक्रिया सम्पन्न गरियो । आज पार्टीको दुईवटा औपचारिक कार्यक्रम थियो । घर, परिवार र साथीहरुको एक, दुई दिन रेष्ट गर्नुस् भन्ने सल्लाहलाई अटेर गर्दै केहि ढिलो गरी ति दुईवटै कार्यक्रममा सहभागी भएर फर्किएको छु । अहिले घडीको सुईले ७ः५१ बजेको संकेत दिईरहेको छ । शरीरले थोरै थकानको अनुभूति गर्दैछ, पेटले केहि खानाको माग गरिरहेकोछ । तर मनले आमाको सम्झना गरिरहेकोछ र यि हातहरुले आमाको सम्झनामा केहि लेख्न खोजिरहेका छन् ।

अक्सर एक्लै हुँदा चाहे हिडाईमा होस्, चाहे बसाईमा, चाहे सकारात्मक होस् चाहे नकारात्मक केहि न केहि कुराहरु मनमा खेलिरहन्छन् । हिजो आमाको अन्तिम काजक्रिया र पार्टीद्वारा आयोजित श्रदान्जली सभा सम्पन्न गरी बेलुकी ९ बजेतिर घरमा आईयो, परिवारसँगै बसियो । आज बिहानै आफन्त भेटघाटमा लागियो । हतारमा घर आएर दिउसो करिव १२ बजे असन चोकमा हुने कार्यक्रममा सहभागिताको निम्ति बाईक स्टार्ट गरेर घरबाट निस्केँ । हेल्मेट टाउकोमा राख्ने बित्तिकै मलाई एकान्तको महसूस भयो । आमाको निधन भएको दिनदेखि आज सम्म मैले एक्लै बस्न र एकान्तको अनुभूति गर्न पाएको थिएन । सायद त्यसैले होला आज मलाई बाईकमा कुदिरहँदा पनि एकान्तको अनुभूति भयो र आमाको सम्झनाले ब्याकुल बनायो ।

बानियाटारदेखि लैनचौर पुग्दासम्म फिल्मका रिल घुमेझैँ मेरो मनमा आमाका अतितहरु घुमिरहें । हेल्मेटभित्र छोपिएका नयनहरुबाट नहर निस्केर घाँटी छोपेको हाईनेकले सिंचाई गर्यो । बाईक कुदिरहँदा र ट्राफिक जाममा रोकिँदा नजिकबाट कसैले म तिर फर्केर हेर्दा मलाई लाग्थ्यो उसले मेरो नयनबाट निस्केको नहर देख्ला कि ? उसले मलाई ‘को पागल रहेछ’ भन्ला कि ? जस्ता सवालमा चाहीँ म सचेत थिएँ । त्यसैले म हतारियर लैनचौरस्थित प्रभु बैंक तिर बाईकलाई सोझ्याएँ । प्रभु बैंकको रेस्टरुममा गएर मुख धोएँ, त्यहाँदेखि निस्केर बाईकलाई रत्नपार्कतिर सोझ्याएँ । फेरि कथाहरु दोहोरिए, बाईक कुदिरह्यो, आमाको सम्झनाले सताईरह्यो, आँखाबाट आँशुका थोपाहरु झरिरहे । जसोतसो रत्नपार्क पुगेँ, बाईक पार्क गरेँ । रत्नपार्कमा मुख धुन अनुकुल भएन, रुमालले पुछपाछ गरेर असनको कार्यक्रम स्थलतिर लागेँ । कार्यक्रम स्थलमा साथीहरुले आँखा साथै अनुहार सुनिएको र आराम आवश्यक रहेको कुरा दोहोर्याउनु भयो, म मौन रहेँ ।

अतीतलाई कोट्याउँदै जाँदा खै मैले मेरी आमालाई कहिलेदेखि चिन्न थालेँ पत्तो पाउन सकिनँ । सायद स्कुल जानु अघि ३, ४ बर्षको थिएँ कि ! मेलापात जाँदा, दाउरा घाँस गर्दा आमाको अघिपछि गर्दै हिँडेको सम्झना आउँछ । एक पटक जंगलमा दाउरा लिन जाँदा मलाई आमाले घरमा एक्लै छोडेर जानुभएछ, आमालाई घर फर्कंदा ढिलो भयो परिवारका अन्य सदस्यहरु कुन्नि कता थिए । घरमा म एक्लो भएँ । आमालाई खोज्दै म निक्कै रुएको थिएँ र घर छेउको काकी आमाले मलाई उनको घरमा लिएर गएको कुरा झल्झली सम्झन्छु । गाँउमा बाबाको लाहुरको कमाईबाट बनेको घर भएतापनि बस्तु भाउ पाल्नु पर्ने, खेतीपाती गर्नु पर्ने भएको कारण हाम्रो परिवार प्रायः खेतीपाती भएको ठाँउतिर बर्षको ४, ५ पटक नै बसाई सरिरहन्थ्यो । जाडो –न्यानो के हो ? मिठो–नमिठो के हो ? सफा – फोहोर के हो ? सुःख – दुःख के हो ? हामीलाई केहि पत्तो हुदैनथ्यो । प्रत्येक बसाईसराईमा सामान्य पानी छेक्ने मात्र हाम्रो घर हुन्थ्यो । हुरी बतासमा हाम्रो बिजोग हुन्थ्यो, कहिलेकाही ओडारको बास हुन्थ्यो हुरी बतास, पानी झरीको निम्ति ओडारको बास अति उत्तम हुन्थ्यो । मलाई सम्झना छ, कुकुरको छाउरा मलाई अति मन पर्ने जहाँ बसाई सरे पनि आमा, म र कुकुरको छाउराको एउटै ओच्छ्यान हुन्थ्यो । सधैँ आमाको काखमा म र मेरो काखमा छाउरा सुत्थौँ ।

म आफु किशोर, युवा हुँदै प्रौढसम्म आईपुग्दा मैले आमालाई अत्यन्तै राम्रोसँग नियाल्ने मौका पाएँ । वास्तवमा मेरी आमा अत्यन्तै ज्ञानी, साहसी र संघर्षशील महिला हुनुहुन्थ्यो । मलाई लाग्छ यदि समय, परिस्थिति अहिलेको जस्तो अवस्थामा हुन्थ्यो भने मेरी आमा देश र जनताको मुक्तिको निम्ति अपरिहार्य व्यक्तित्व हुनुहुन्थ्यो । अन्याय कसैलाई पनि हुनुहुदैन, सबैको भलो हुनुपर्दछ भन्ने आमाको मूल मन्त्र थियो । श्रमप्रति सम्मान गर्नु पर्दछ, हरेकले आफु सक्दो श्रममा सहभागी हुनुपर्दछ भन्ने आमाको मान्यता नै मेरो निम्ति आदर्श मान्यता हो । ९४ बर्षको उमेरमा निधन हुनुभन्दा एक हप्ता अघिसम्म पनि आमाले आफुले खाएको भाँडा हामीलाई माझ्न दिनुभएन, आफैँ माझ्नु भयो ।

मेरो बाबाले १६ बर्ष बिदेशी पल्टनमा परेड खेल्नु भएको थियो । बाबाको बिँडो थाम्दै मैले १८ बर्ष आमाको काखदेखि टाढा भएर बिदेशी भूमिमा बिताएँ । त्यो १८ बर्षको अघि पछि समय सन्दर्भमा आमासँग भलाकुसारी हुन्थे । आमाले आफ्नो किशोर, युवा र प्रौढ जीवनका भोगाईहरु बारे सविस्तार वर्णन गर्नुहुन्थ्यो । आमाको लगभग ५० बसन्तहरु आर्थिक संकट र त्यसको बिरुद्ध संघर्ष मै बिते । पछिल्ला लगभग ४५ बसन्तहरु आमाले अलिकति सुःखका सास फेरेर जिउनु भयो । आमाले आफ्नो १४ देखि ९४ बर्षसम्म अर्थात् ८० वटा बर्ष आफ्नो परिवारको रेखदेख र स्याहार सम्भारमा खर्चनुभयो । आमाको माईतमा ७ बहिनी भाइ मध्ये आमा दोस्रो सन्तानको रुपमा जन्मनु भयो । बाजे, बज्यै अर्थात् आमाका बाबा आमाले चाँडै संसार छोड्नु भयो । दोस्रो सन्तान भएपनि चलाख र संघर्षशील स्वभावको कारण आमाले पहिलो सन्तानको भूमिका निर्वाह गर्नु प¥यो । आमाले साह्रै दुःख गरेर माईतमा आफ्ना ५ बहिनी र एक भाइलाई पाल्ने, हुर्काउने बढाउने गर्नुभयो । त्यो क्रममा आमाले आफ्नो १४ देखि १७ बर्षको किशोर अवस्थामा कैयौं पटक महिनादिन हिँडेर भोट गएर नुनको भारी बोकी आउनुभयो ।

बिबाह पश्चात पनि आमाको दुःख र जिम्मेवारी उस्तै रह्यो । बाबाको साना साना ७ भाइ बहिनी मध्ये बाबा जेठो छोरो र आमा जेठी बुहारी हुनुको कारण परिवारको सम्पूर्ण जिम्मेवारी बाबा आमाकै काँधमा आउनु स्वभाविक थियो । अझ बाबा लाहुर जानुपर्ने भएको कारण परिवारको सबै जिम्मेवारी आमा कै काँधमा आयो । बाबाको बाबा, आमा (मेरो बाजे, बजै) लाई स्याहार–सुसार गर्ने ६ भाइ बहिनीलाई लालन पालन गर्ने हुकाँउने बढाउने काम आमाले नै गर्नुभयो । त्यो क्रममा आमाले धेरै पटक भोक भोकै बस्नु पर्यो कैयौँ पटक आधा पेट खानु पर्यो र धेरै रात जागाराम बस्नुपर्यो । आमाले सुरुमा आफ्नो जन्मघर ब्यवस्थापन गर्नुभयो त्यसपछि कर्म घरमा आफ्नो कर्तव्य निर्वाह गर्नुभयो । र पछि स्वभाविक रुपमा आमाले फेरि एउटा परिवारको श्रृष्टी गर्नुभयो त्यो परिवारको नयाँ सदस्यको रुपमा हामी ५ भाइ बहिनीको जन्म भयो । नयाँ परिवारको श्रृष्टि पश्चात् पनि आमाले थुप्रै संकट, दुःखकष्टहरु झेल्नु भयो जसको वर्णन गर्न सम्भव छैन ।

आमाले मेरो राजनैतिक क्रियाशिलताबारे समय सन्दर्भमा गुनासो गरिरहनुभयो तर अबरोध चाहीँ कहिल्यै गर्नुभएन सधैँ प्रेरणा नै दिनुभयो । बाबाले सुरु गरेको पसल चलाएर बसेको मान्छे एकाएक (०४२ देखि ०४७ सम्म) तीब्र राजनैतिक सक्रियताको कारण मेरो आर्थिक स्थिति टाट पल्टियो । त्यसैको परिणाम म बिदेशी भूमिमा १८ बर्ष श्रम बेच्न बाध्य भएँ । बिदेशी भूमिमा पनि मजदुरी सँगसगै राजनैतिक क्रियाशीलतालाई तिब्रता दिने काम रोकिएन । यहिँनेर आमाको सधैँ गुनासो हुने गर्दथ्यो । राजनैतिक क्रियाशीलताको कारण परिवार प्रतिको आफ्नो जिम्मेवारीमा ध्यान कम हुन गएकोमा आमाको गुनासो हुने गर्दथ्यो । तर समाज परिवर्तनको निम्ति, समानताको निम्ति, न्यायको निम्ति गरिने मेरा क्रियाकलाप र सक्रियताप्रति आमा खुशी हुनुहुन्थ्यो र प्रेरणा दिइरहनु हुन्थ्यो । मेरो बाबाले मेरो गाँउमा १७ बर्ष प्रधानपञ्चको भूमिकामा रहेर समाज सेवा गर्नु भयो । आमाको सहयोग र समर्थन बिना त्यो सम्भव थिएन । आमा कै सहयोग र प्रेरणाको कारण म अहिले न्याय, स्वतन्त्रता र समानताको आन्दोलनमा लामबद्ध छु ।

आमालाई सम्झने क्रममा बिगतमा मबाट भएका कतिपय असहज क्रियाकलापले मलाई नै कहिलेकाहीँ अप्ठ्यारो महसुस गराउँदछ । आजभन्दा ठीक ४ बर्षअघि आमा अचानक बिरामी हुनुभयो । आमालाई हस्पिटल भर्ना गरियो । आमालाई एक हप्ता हस्पिटल राख्नुपर्ने भयो तर हस्पिटल भर्ना गरेको भोलिपल्ट नै पार्टी कामको निम्ति म पोखरा जानुपर्ने भयो । यता नब्बे बर्षको आमा हस्पिटलमा उता पार्टीको महत्वपूर्ण काम । के गर्ने के नगर्ने ? मेरो निम्ति निक्कै अप्ठ्यारो भयो । अन्ततः मैले पोखरा जाने निर्णय गरेँ । काकाको छोरा अर्थात् भाइलाई आमा जिम्मा लगाई अत्यन्तै भारी मन लिएर म पोखरातिर लागेँ । मलाई सधैँ यो बिषयले झस्काई रहन्छ, साच्ची नै आमाको आत्माले के भन्यो होला रु भनेर कहिलेकाहीँ आत्माग्लानि हुन्छ ।

निधन हुनु भन्दा ३ दिनअघि साँझ आमा हल्का बिरामी हुनुभयो । सधैँ जस्तो फार्मेसीवाट औषधी लिएर आमालाई खुवाइयो आमा सुत्नुभयो हामीपनि सुतियो । भोलिपल्ट बिहान आमाको स्थिति बुझ्दा ठीकै लाग्यो । उता रत्नपार्कमा त्यही दिन पार्टीको चार महिने अभियान उद्घाटन कार्यक्रम थियो । आफ्नो जिम्मेवारीको हिसावले म जानै पर्दथ्यो र गएँ । कार्यक्रम सकिँदा नसकिदै घरबाट फोन आयो म तुरुन्तै घर आएँ । घर आईपुग्दा आमाको स्थिति जटिल लाग्यो र दुई जना भाइहरु बोलायर हस्पिटल पुर्याईयो । राती आईसीयुमा राखियो र भोलिपल्ट साँझ पाँच बजेतिर डक्टरले उमेरको कारण आमाको उपचारको सम्भावना कम रहेको जानाकारी गराउनु भयो । राति ११ः३५ मा डाक्टरले आमालाई मृत घोषणा गर्यो । जव डाक्टरले आमाको उपचार सम्भावना कम भन्यो तवदेखि मलाई पश्चातावको अनुभूति भयो र यो पश्चाताव सायद जीवनभर रहनेछ । मलाई लाग्यो त्योदिन बिहान आमालाई हस्पिटल पु¥यायको भए सायद आमालाई बचाउन सकिन्थ्यो कि ? मेरो आफ्नै लापरवाहीको कारण मैले मेरी आमा गुमाउन पर्यो कि ! मलाई अहिलेपनि यहि प्रश्नले पोलिरहेकोछ । सायद जीवनभर यो प्रश्नले मलाई पोलिरहनेछ ।

समाजमा बिगत लामो समयदेखि चल्दै आएको कतिपय परम्परागत रुढिवादी चिन्तन, पद्धति र कुसंस्कारहरुलाई मैले बिगतमा आमा जीवित हुँदै तोड्ने काम गरेको छु । कस्ताखाले घटना, प्रवृति र सँस्कार, संस्कृतिप्रति मेरो धारणा के हो भन्नेवारे आमा प्रष्ट हुनुहुन्थ्यो । जिउँदो रहुन्जेल आमा, बाबा, आफन्त सबैको सेवाको निम्ति गर्ने कृयाकर्म सबै गर्नु पर्दछ । मैले सकेजति र परिस्थितिले दिएजति मैले मेरी आमाको सेवाका क्रियाकर्महरु आमा बाचुन्जेल सबै गरेँ । तर मान्छे मरिसके पश्चात् मरेको मान्छेको नाममा गरिने क्रियाकर्मले मरेको मान्छेलाई राम्रो हुन्छ भन्ने कुरामा मलाई विश्वास पटक्कै छैन । तसर्थ मैले हिन्दु परम्परागत ढंगले गरिने मेरी आमाको काजक्रियामा म सहभागी नभैकन अर्थात् क्रियापुत्री नबसिकन सहयोग गर्ने प्रस्ताव समाजमा राखेँ । मेरी ठुली दिदी जसले हिन्दु धर्मप्रति अगाध आस्था राख्नुहुन्छ, उहाँलाई क्रियापुत्री बस्न आग्रह गरेँ उहाँले मान्नुभएन, विवाह गरेको छोरी भनेर समाजले पनि अस्वीकार ग¥यो । आमाको परम्परागत काजक्रिया गर्नै पर्ने र म बाहेक अर्को छोरा नभएको कारण म नै क्रियापुत्री बस्नै पर्ने अप्ठ्यारो प्रस्ताव समाजले राख्यो । छलफल पश्चात् परिमार्जित ढंगले म नै क्रियापुत्री बस्ने निर्णय भयो म क्रियापुत्री बसेँ । तर गरुड पुराण पढिएन, शरीरभरी सेतो कपडा लगाईएन, छाक छोदिएन, आफ्नो खाना आफैं पकाउने खाने गरिएन, परिवारले सँगै पकाईयो सँगै खाईयो, पराल माथि सुतिएन सामान्य बिस्तारामा नै सुतियो, कसैसँग पनि अछुत बसिएन, तेह्र दिनलाई घटायर सात दिनमा आमाको अन्तिम काजक्रिया सम्पन्न गरियो।

आमा अब सम्झनामा मात्र सिमित हुनुहुन्छ । उहाँको भौतिक शरीर हामीबाट बिदा भईसकेको छ । डक्टरको व्याख्या अनुसार उमेरको कारण आमाको निधन भयो । प्राणी मध्ये पनि सब भन्दा सचेत प्राणी भएको कारण होला मानव जीवनमा आईपर्ने मृत्यु अत्यतै पीडादायी हुनेगर्दछ । आफुले जन्माएका सन्तानको मृत्यु र आफुलाई जन्मदिने बाबा आमाको मृत्युमा मानव समुदाय सबभन्दा भावुक हुने गर्दछ । आमाको निधनलाई सचेत ढंगले चिर्न खोज्दा खोज्दै पनि हृदयमा ठुलै चोटको अनुभूति भैरहेकोछ र समय सन्दर्भ बिना नै ठाँउ कुठाँउहरुमा बर्बर्ती आँशुझरी रहन्छन् । त्यसो त प्राणी जगतमा मृत्यु एउटा स्वभाविक प्रक्रिया हो र यो सबैमा अनिवार्य लागु हुन्छ । तथापि मान्छेको मृत्युको बेग्लाबेग्लै महत्व हुनेगर्दछ । मृत्युको महत्वबारे माओत्सेतुङ्ग भन्नुहुन्छ कुनै मृत्यु पर्वत जस्तो गरुङ्गो हुन्छ भने कुनै मृत्यु प्वाँख जस्तो हलुङ्गो हुन्छ । देश, समाज र जनताको सेवामा समर्पित हुनेक्रममा हुने मृत्यु पहाड जस्तो गरुङ्गो हुन्छ र फासिस्टहरुको सेवामा समर्पित हुनेक्रममा हुने मृत्यु प्वाँख जस्तो हलुङ्गो हुन्छ । मैले मेरी आमाको मृत्युलाई असामान्य ढंगले महसुस गरिरहेको छु । तसर्थ कमसेकम मेरो निम्ति धौलागिरी हिमालको काखमा जन्मेकी मेरी आमाको मृत्यु सगरमाथा हिमाल जस्तै गरुङ्गो भएको छ ।